‘ढुङ्गामा बित्यो जीवन’

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : ४९ रेणु त्वानाबासु
‘ढुङ्गामा बित्यो जीवन’

कान्छा रञ्जितकार
भक्तपुरको दरबार स्क्वायरमा विभिन्न मठमन्दिर बनिरहेका छन् । त्यसमध्ये एउटा वत्सला दुर्गा मन्दिर पनि निर्माणको क्रममा छ । मन्दिर ढुङ्गैढुङ्गाले बनेका कारण २०७२ सालको भूकम्पमा यो मन्दिर क्षतिग्रस्त भयो । निकै लामो समयपछि यो मन्दिर पुनःनिर्माण हुन थालेको छ ।
यसै वत्सला दुर्गा मन्दिरका लागि ढुङ्गामा बुट्टा भर्ने काम कान्छा रञ्जितकारले गरिरहेका छन्  । ७५ वर्षीय कान्छा भक्तपुरको सूर्यमढी बस्छन् । १५ वर्षको उमेरदेखि ढुङ्गामा बुट्टा कुँद्ने काम गर्दै आएका उनले भने, ‘मैले यो काम दैनिक २ रुपैयाँ ५० पैसादेखि गर्न थालेको थिएँ । अहिले भने एक हजार पाउँछु ।’
यसअघि सिकर्मीको काम पनि उनले नगरेका होइनन् तर उनलाई फापेन रे ! ‘किनभने त्यो काममा ज्यानलाई जोखिममा राखेर गर्नुपर्छ,’ उनले स्पष्ट पार्दै भने, ‘एक चोटि त धन्नै ज्यान गयो । त्यसयता मैले यही काम गरिरहेको छु ।’
ढुङ्गामा बुट्टा भर्ने काम गरेरै उनले महिनाको २५ हजारसम्म कमाउने बताए । २०१८ सालमा ढुङ्गामा बुट्टा राखेको मिटरको ९०० देखि १००० रुपैयाँ पाइन्थ्यो । अहिले भने सादा बुट्टाको ३५०० छ । नागबेली बुट्टाको ५००० सम्म लिने गरेको उनले सुनाए । ‘खासमा भन्नुपर्दा हाम्रो जातको मान्छेले गर्ने काम होइन यो,’ कान्छा अलि स्पष्टीकरणको भावमा बोले, ‘तर मेरो बुबाले पनि यही काम गर्नुभयो, त्यसको देखासिकीमा मैले पनि यही काम रोजेँ ।’
बुट्टा कुँद्ने काममा उनलाई यति रमाइलो लाग्यो कि उनका छोरालाई पनि यसैमा रत्याएका छन् । उनका कान्छट्टा कुँद्ने काममा उनलाई यति रमाइलो लाग्यो कि उनका छोरालाई पनि यसैमा रत्याएका छन् । उनका कान्छा छोरा चन्द्रप्रसादले यस्तै कामको डिपो चलाइरहेका छन् । त्यसो त डिपोको सुरुवात कान्छाले गरेका थिए तर तीन वर्ष यता उनले त्यो काम छाडेर छोराको जिम्मा लगाएका छन् ।
उनले अहिलेसम्म धेरै मठमन्दिरमा ढुङ्गामा बुट्टा कुँदेकोे उनले बताए । नेपालमा मात्र नभई जर्मनीमा समेत उनको कला पुगेको गर्वका साथ बताए ।
आफूले सिकेको काम अरुलाई पनि सिकाउनुपर्ने सिद्धान्तका कान्छाले १५ जनालाई सिद्ध बनाइसकेको र सिक्ने चाहना राख्नेलाई पैसा दिएर सिकाएको बताए ।

 

Leave A Comment