निधि, टकला र चौधरीको त्रिकोण

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ०५ शुक्रवार
निधि, टकला र चौधरीको त्रिकोण

सुरेश यादव
आसन्न प्रतिनिधिसभा निर्वाचनमा गृहमन्त्री विमलेन्द्र निधि र राजपा नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेपछि धनुषा –३ चर्चामा छ । पछिल्लो संविधानसभा निर्वाचनमा पराजित भएका महतोले यो चुनाव पनि जित्न नसके पार्टीभित्रै कमजोर पर्नेछन् भने निधि असफल भए कांग्रेसभित्र मधेस कमजोर पर्नेछ । चुनावको मिति नजिकिदै जाँदा तराई मधेशमा चियापसलदेखि सर्वसधारणको दलानसम्म यस्तै विषयले चर्चा पाइरहेको छ ।
उमेरको हिसाबले महतो जेठो देखिए पनि राजनीतिमा निधि पुराना नेता हुन् । महतोले तत्कालीन मधेसवादी नेता गजेन्द्रनारायण सिंहको सामान्य कार्यकर्ता छँदा निधिले ०५१ सालको मध्यावधि चुनावमा धनुषा –४ बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस संस्थापक मध्येका एक महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र ०५१ यता निरन्तर यही सेरोफेरोमा रहेर राजनीतिक क्रियाशीलता देखाइरहे । ०५६ सालको निर्वाचनमा राप्रपाका कृष्णप्रताप मल्लसँग पराजित भएपछि त्यसयता भएको दुवै संविधानसभा निर्वाचनमा पैतृक गाउँ नगराइनसमेत रहेको धनुषा –३ बाट लगातार निर्वाचित भए ।
तत्कालीन क्षेत्र नम्बर ३ र ४ को अधिकांस भाग समेटिएको अहिलेको क्षेत्र नम्बर ३ बाट निधिको तेस्रो पटक उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रको सडक सञ्जालमा भएको विकास र केन्द्रीय राजनीतिमा भएको पकडका कारण निधि धनुषाका विख्यात नेता कहलिन्छन् । पछिल्लो संविधानसभा निर्वाचनमा आफ्नो पुरानो क्षेत्र सर्लाहीबाट पराजित भएपछि भौतारिँदै निधिको क्षेत्रमा आइपुगेका महतो स्थानीय चुनावको विश्लेषणपछि सन्तुष्ट देखिन्छन् ।
भर्खरै सम्पन्न भएको स्थानीय चुनावमा राजपाका लालकिशोर साहले जनकपुर उपमहानगरमा १० हजार फराकिलो मतान्तरले विजय भएपछि महतो हौसिएर यस क्षेत्रबाट लड्ने निर्णय गरे । उनलाई थप हौसला प्रदान गरेको थियो, दुवै संविधानसभाको निर्वाचन परिणामले । दुवै चुनावमा लगातार जनकपुर ४ बाट सञ्जय साह ‘टकला’ ले जितेका थिए । ०६४ मा मधेसी जनअधिकार फोरमबाट जितेका साहले ०७० को चुनावमा तत्कालीन महतो नेतृत्वको सद्भावना पार्टीबाट उम्मेदवार भएर जितेका थिए तर उम्मेदवारी दर्ता गराउनुअघि महतोले सोचेजस्तो अवस्था सहज भइदिएन ।
महतोको योजना तुहाउन तिनै टकला यतिबेला सक्रिय भएका छन् । जनकपुर बमकाण्ड र सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाका अभियुक्त टकला दुवै मुद्दा पुर्पक्षको लागि जेलमा छन् । विगतमा दुई पटक लगातार संसदीय चुनाव जितेका उनले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जेलबाटै उम्मेदवारी दिने चर्चा थियो । अन्तिम समयमा आएर उनी एकाएक मनोनयन दर्ता गराउने निर्णयबाट पछि हटे र कांग्रेस नेता निधिलाई समर्थन गर्ने निर्णय गरे ।
यसबीचमा महतोले दुई पटक र निधिले एक पटक काठमाडौं, डिल्लीबजारस्थित जेलमै पुगेर टकलालाई भेट गरेका थिए । सुरुमा महतोले भेटेपछि पूर्व सांसद टकलाले आफू अभियुक्त भएपछि बचाउमा किन नजुटेको भनि जिज्ञासा राखे । उल्टो पार्टी निकाला गरी आफूमाथि लगाइएको झुटो आरोपलाई मलजल गर्ने काम गरेको भन्दै उनी महतोलाई कुनै हालतमा सहयोग गर्न नसकिने जवाफ दिएर फर्काइदिए । महतोले पुनः उनलाई फकाउन जेलमै पुगे तर उनी केही सुन्न तयार भएनन् । पछि निधि पुगेपछि एक तहको सहमति जुट्यो ।
महतोले मधेस आन्दोलनमा प्रदर्शनकारीलाई गलत ढंगले परिचालन गरी हिंसात्मक बनाएको र उनकै उक्साहटमा सोझा युवाहरुले ज्यान गुमाउनुपरेको भन्दै साहले उनको विरोध गरेका हुन् । वैचारिक रुपमा कांग्रेसमा आबद्ध भएर पनि निधिले सुझबुझको राजनीति गरेको भन्दै अगामी चुनावमा उनलाई समर्थन गरेको साहले शुक्रबारसँग बताएका छन् । ‘कांग्रेसमै बसेर पनि मधेसीको अधिकारका लागि निधिले जति धेरै मधेशवादी नेताहरुले पनि गर्न सकेका छैनन्,’ साहले भने, ‘म राजेन्द्र विरोधी होइन तर निधि र राजेन्द्रमध्ये एकलाई रोज्नुपरे पहिले निधि भन्छु ।’
स्रोतको अनुसार अगामी दिनमा धनुषाबाट केन्द्रको राजनीतिमा निधिलाई अगाडि बढाउने र प्रदेशमा साहलाई निधिको पनि सहयोग रहने गरी अगाडि बढ्ने दुवै जनाबीच सहमति भएको छ । ‘जनकपुर क्षेत्रमा साहको स्थान लिन अन्य नेतालाई सहज छैन भने केन्द्रमा निधिको उपस्थिति पनि आवश्यक ठानेर दुवै नेताले यस्तो सहमति गरेको हो,’ स्रोतले भन्यो ।
साहको समर्थन पाउनुअघि निधि र महतोबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहेका सामाजिक अगुवाहरुले उनको समर्थन थपिएपछि अगामी निर्वाचनको लागि निधि धेरै बलियो भएको आंकलन गरिरहेका छन् । कांग्रेस र मधेसी दलबीचको शक्तिभन्दा महतो जातीय समर्थनले बलियो देखिएका थिए । साहको समर्थन पाउनेबित्तिकै निधिले कमजोर बनाइदिएका छन् । साहले ०७० को निर्वाचनमा कांग्रेसका जिल्ला सभापति रामसरोज यादव र ०६४ मा एमालेका रघुवीर महासेठलाई पराजित गरेका थिए ।
साह बमकाण्डमा मुछिएपछि भावि राजनीतिक फाइदा लिने उद्देश्यले उनलाई संरक्षण दिन सुरुमा माओवादी र पछि एमालेले प्रयास गरेको थियो तर साहले आफू मधेसवादको मुद्दा बोकेर राजनीतिमा प्रवेश गरेको र सधैँ मधेस केन्द्रित राजनीतिमै सक्रिय रहने भन्दै उक्त पार्टीमा प्रवेश गर्न अस्वीकार गरेका थिए । यतिबेला निधिसँग आन्तरिक रुपमा एकले अर्कालाई सहयोग गर्ने तर दलगत रुपमा आ–आफ्नै स्थानमा अडिग रहने सहमति भएको स्रोतको दाबी छ ।
निधिले साहको समर्थन पाएपछि चुनावी समीकरणभन्दा अर्को चर्चा बनेको छ, टकला र जीवनाथ सम्बन्धी । धनुषा कांग्रेसका सभापति रामसरोज यादव जिल्ला विकास समितिको सभापति रहँदा साह र जीवनाथ सँगै थिए । यादवले नै जीवनाथ चौधरीलाई जिविसको सहलेखापालमा नियुक्ति दिए भने साहलाई कबारको ठेक्का । त्यसको केही वर्षसम्म दुवैले मिलेरै काम गर्थे । पछि साहले जिल्लामा आफ्नो वर्चश्व कायम गर्न थालेपछि चौधरीले केही ठेक्कामा कटौती गर्न थाले । समय बित्दै जाँदा जीवनाथ र साहबीच कडा टक्कर चल्न थाल्यो । यहाँसम्मकी पाँच वर्षअघि जीवनाथको घरमा डकैती हुँदा र त्यसअघि उनीमाथि गोली चल्दा पनि साहले नै गराएको आरोप लाग्यो ।
तीन वर्षअघि साहकै नेतृत्वमो भ्रष्टाचारविरुद्ध अभियान सुरु भयो र जिविसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि दुई दर्जन कर्मचारी एकैपटक निलम्बित भए । चौधरी अहिले पनि निलम्बित अवस्थामै छन् । विशेष अदालतले भ्रष्टाचारी ठहर गरिसकेपछि चौधरीले सर्वोच्चमा अपिल गरेका छन् । यसबीचमा निधि भौतिक पूर्वाधार मन्त्री हुँदा र गृहमन्त्री हुँदा पनि चौधरी उनकै छायाँमा बसेर काम गरिरहेका छन् ।
साहले अगामी निर्वाचनमा निधिलाई समर्थन गर्ने भएपछि यस अघि कट्टर दुश्मनका रुपमा चिनिएका साह र चौधरी एउटै कित्तामा आउनेछन् । यसअघि बमकाण्ड मुद्दामा चौधरीकै जाहेरीलाई आधार बनाएर प्रहरीले साहलाई पक्राउ गरेको हो । दोस्रो पटक संविधानसभा सदस्यमा निर्वाचित भएको तीन महिना नपुग्दै पक्राउ परी थुनामा गएका साहले पुरानो रिसइबीलाई कसरी व्यवस्थापन गर्ने हुन्, चासोको विषय बनेको छ । स्रोतका अनुसार निधिले चुनाव जित्नेबित्तिकै चौधरीले अदालतमा बयान फेरेर साहलाई थुनामुक्त हुन सहयोग गर्नेछन् ।

 

Leave A Comment