धैर्यताले व्यवसायमा सफलता

शनिबार, ०९ मङि्सर २०७४, ०३ : ११ दिलीप पौडेल
धैर्यताले व्यवसायमा सफलता

१४ वर्षकै उमेरमा व्यवसाय सुरु गरेकी भक्तपुरकी लक्ष्मी महत सफल ब्युटिसियन र फेसन डिजाइनर हुन् । स्कुले जीवनमै होटलमा कुकबाट आफ्नो करिअर सुरु गरेकी महत अहिले नयाँ युवतीको करिअर निर्माणमा सहारा बन्दैछिन् । फेसिनेटेड ब्युटी ट्रेनिङ सेन्टर, काठमाडौं ज्याठाकी सञ्चालक बस्नेतसँग शुक्रबारको लागि दिलीप पौडेलले गरेको कुराकानी :
यहाँको ट्रेनिङ सेन्टरमा के सेवा दिनुहुन्छ ?
विशेष गरी ब्युटी पार्लरसम्बन्धी सम्पूर्ण तालिम दिन्छौं । हेयर, स्किन, नेलको विषयमा सीप सिकाउँछौं । तालिम मात्र नभएर पार्लर अन्तरगत फेसियल, हेयर स्टेट, हेयर कलर, हेयर कटिङ, मेडिकेट, पेनिकेट, विवाहमा बेहुलाबेहुलीको मेकअपको पनि  गर्छौं ।
तालिमका कस्ता प्याकेज छन् ?
सीप सिक्न चाहने युवायुवतीको मागको आधारमा आधारभूत तह, छ महिना, एडभान्स लगायतका विभिन्न कोर्सका प्याकेज बनाएका छौं । जुन नेपाल सरकारको सिटिइभिटीले पनि मान्यता दिएकाले त्यस भित्रका विषय वस्तुलाई पाठ्यक्रममा समावेश गरेका छौं । पशिक्षार्थीको रुचि र चाहना अनुसार सिकाइन्छ । विदेश जानेहरुको लागि छोटो अवधिमा पनि ब्युटीपार्लरसम्बन्धी धेरै सिकाउँछौं । प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिन्छौँ ।
यो क्षेत्रमा अवसर के छ ?
कम मूल्यमा तालिम लिएर सीप सिकेपछि स्वरोजगार बन्न सकिन्छ । थोरै लगानीमा व्यवसाय सुरु गर्न सकिने अवसर छ । न्यूनतम ५० हजारबाट पार्लर व्यवसाय सुरु गर्न सकिन्छ । थोरै लगानी भए पनि राम्रो आम्दानी हुन्छ । शृङ्गारमा महिला, पुरुष सबैको आकर्षण रहेकाले यो व्यवसाय फस्टाउँदै गएको छ । अर्थोपार्जनको लागि पनि राम्रो अवसर छ ।
यहाँको इस्टिच्युटका विशेषता के छन् ?
हामीले सुलभ शुल्कमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान तथा सीप दिन्छौं । एउटै मूल्यमा विद्यार्थीलाई सामान पनि उपलब्ध गराउँछौं । विद्यार्थी एउटा प्याकेजमा भर्ना भएपछि तोकिएको समयमा नसकिए पनि अवसर दिने गरेका छौं । तालिम पूरा गरेर गएका विद्यार्थीले सीप बिर्सिए भने पनि उनीहरुलाई रिफ्रेसर ट्रेनिङ निःशुल्क दिन्छौं ।
 सीप सिकेका विद्यार्थीले के गरिरहेका छन् ?
यहाँ तालिम लिएका विद्यार्थी ६० प्रतिशत विदेश गएका छन् । करिब ३० प्रतिशत यहाँनै पार्लर सुरु गरेका छन् । सीप सिकेपछि सक्षम र आत्मनिर्भरताको बाटोमा लागेका छन् ।
ब्युटीपार्लरको बजार कस्तो छ ?
राम्रो हुन नचाहने को होला र ? त्यसैले यो व्यवसायमा धेरै राम्रो अवसर छ । व्यवसायलाई कता लैजाने ब्युटिसियनको हातमा पनि छ । ग्राहकलाई कस्तो सेवा दिने भन्ने जिम्मेवारी ब्युटिसियनको नै हो । कस्टमरले गुणस्तरभन्दा सस्तो खोजिरहेको हुन्छ । त्यसले राम्रो सेवा दिनेलाई केही असजिलो भएको छ । सेवा हाइजेनिक हुनुपर्छ । एउटै रुममा फेसियल र हेयर कटिङ पनि गर्ने गलत अभ्यास पनि भएको छ ।
शृङ्गारका सामग्री प्रयोग गर्दा स्वास्थ्यमा असर पर्ने सम्भावना के छ ?
रौंमा धेरै समस्या आएको देखिन्छ । रौंमा धेरै कलर गर्ने चलन बढेको छ । त्यसले धेरैको रौंमा क्षति पुगेको छ । फेसियलमा स्किन कस्तो छ त्यसको आधारमा उपचारात्मक पद्दतिबाट गर्नुपर्छ । कतिपयले त्यसमा पनि हेलचेक्र्याईँ गरेको पाइन्छ । आफ्नो स्किनको समस्याअनुसार एकै ठाउँमा जानुपर्छ । अरुले जे लगायो त्यसको आधारमा लगाउनु हुँदैन ।
कसरी व्यवसायमा आउनु भयो ?
१३ वर्षको उमेरमै आफन्त दाइहरुकोमा ठमेलमा रेस्टुरेन्टमा कुकको काम गरें । त्यसपछि फेसन डिजाइनर सिकेर सानो उमेरमै बुटिक सुरु गरें । त्यससँगै ब्युटी पार्लर सिकेँ । केही समय पार्लरमै सिकाउने काम गर्दागर्दै आफ्नै व्यवसाय सुरु गरेको हुँ । पारिवारिक जिम्मेवारी पनि भएकाले एसएलसीसम्मको पढाइपछि व्यावसायिक काम गरें ।
व्यावसायिक सफलताको लागि के चाहिन्छ ?
धैर्यले व्यवसायमा सफलता पाइन्छ । व्यवसाय अप एन्ड डाउन भैरहन्छ । पैसा कमाउँदा हौसिने र कमाइ नहुँदा आत्तिनु हुँदैन । आफ्नो क्षमताअनुसार निरन्तर मेहनत गर्नुपर्छ ।
कति चुनौती झेल्नु भयो ?
निकै समस्या भोगें । महिलालाई समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन । कहिले चल्छ । कहिले चल्दैन । पार्लरलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु जरुरी छ । व्यवसायमा जोखिम हुन्छ ।
बेरोजगार दिदीबहिनीलाई सुझाब ?
पढेर मात्र हुँदैन । सीप सिकेर त्यसलाई प्रयोगमा ल्याउनु महत्वपूर्ण हुन्छ । पढेर मात्र जागिर पाइँदैन । सीप भएपछि स्वरोजगारमूलक व्यवसाय गर्न सकिन्छ । अरुले गरेको देखेर देखासिकी गर्नु हुँदैन । आफूलाई भित्रैबाट जेमा काम गर्ने इच्छा शक्ति छ । त्यो छनोट गर्नुपर्छ ।

 

Leave A Comment