५८ करोडको सुन तस्करी

शुक्रबार, १५ मङि्सर २०७४, ०१ : ०५ दिलीप पौडेल
५८ करोडको सुन तस्करी

गैर कानुनी बाटोबाट सुन ल्याउँदा धेरै फाइदा हुने भएपछि सुन तस्करी फस्टाएको छ । चालु आर्थिक वर्ष ०७४/७५ को पहिलो चार महिनामा भन्सार छलेर ल्याएको ५८ करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको सुन प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो अवधिमा एक सय २२ किलो सुन प्रहरीले पक्राउ गरेर कारोबारमा संलग्नलाई मुद्दा चलाएको छ । सुन तस्करीमा ठूलो जोखिम भए पनि धेरै नाफा हुने भएपछि जोखिम मोल्न चाहाने लगानीकर्ताको आकर्षण देखिएको हो ।
प्रहरीले सानो परिणामको सुन बरामद गरे पनि मासिक पौने दुई अर्ब रुपैयाँको सुन तस्करहरुले भित्राएको हुन सक्ने व्यापारी बताउँछन् । बजारमा खपत हुने जति सुन वैधानिक रुपमा नआउने भएकाले चोर बाटोबाट आएको सुन व्यवसायीले खरिद गरेर बेच्ने गरेका छन् ।
पछिल्लो पटक यसै साता महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशी नेतृत्वको टोली दुई किलो सुनसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको थियो ।
बजार दैनिक ३५ किलो सुन खपत हुने भए पनि वाणिज्य बैंकहरुले २० किलो मात्र सुन दिएकाले अन्य सुन तस्करीबाट आएको हुन सक्ने सुनचाँदी व्यवसायी बताउँछन्  । दैनिक ३५ किलोको दरले यहाँ मासिक करिब नौ सय १० किलो सुनको खपत हुन्छ । बजार माग अनुसारको सुन नपाएपछि व्यवसायीहरु विकल्प खोज्न बाध्य भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मासिक तीन सय ९० किलो सुन अवैध बाटो बाट आएको हुन सक्ने व्यवसायीको भनाइ छ ।
सरकारको नीतिगत कमजोरीले अवैध बाटोबाट सुन आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बजारको मागअनुसार बैंकहरुले सुन दिएका छैनन्,’ शाक्यले भने, ‘मागअनुसार सुन नपाएपछि अवैध सुन पनि प्रयोग गरेका हुन सक्छन् ।’
बजारमा दैनिक ३५ किलो सुनको माग रहे पनि वाणिज्य बैंकहरुले दिनमा २० किलो मात्र सुन बेच्ने गरेका छन् । सरकारले तोकेको कोटा अनुसार नै सुन बिक्री गरेका हुन् । ‘बैंकले दिनेभन्दा १५ किलो सुन आवश्यक छ,’ शाक्यले भने, ‘सरकारले नै अवैध कारोबार नियन्त्रण गरेर कोटा बढाउनु पर्छ ।’
वैधानिक बाटोबाट सुन ल्याउने कोटा नबढाउँदा सुन तस्करी भइरहेको व्यवसायीको निष्कर्ष छ । तस्करी गरेर ल्याएको सुन बेच्न व्यवसायीलाई कुनै समस्या नभएपछि छिटो कमाइ गर्नका लागि गलत बाटो प्रयोग गरेका हुन् । एक किलो सुन आयात गर्दा चार लाख २० हजार रुपैयाँ कमाउँछन् । सुन तस्करीमा मोटो रकम फाइदा हुने भएपछि व्यापारीहरु लगानी गर्न लालायित भएको हुन सक्ने प्रहरी बताउँछन् । धेरै जोखिम भए पनि नाफाले लगानीकर्तालाई आकर्षित गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले बताए । ‘हामीले पटक–पटक पक्राउ गर्दै आएका छौं,’ नेउपानेले भने, ‘उच्च प्रतिफल आउने भएकाले जोखिम मोलेर तस्करी गरिरहेका छन् ।’
व्यापारीहरुले प्रहरीको संलग्नतामै सुन तस्करी हुने गरेको बताउँछन् । प्रहरीका उच्च अधिकारी र राजनीतिक नेतृत्वको आडमा सुन तस्करी हुने गरेको शाक्यले बताए । ‘अहिलेसम्म भरिया र ड्राइभर मात्र पक्राउ हुँदै आएका छन्,’ शाक्यले भने, ‘सामान्य मान्छेले यो कारोबार गर्न सक्दैन ।’
प्रहरीले पटक–पटक पक्राउ गरे पनि मुख्य कारोबारीलाई प्रहरीले पक्राउ गर्न  सकेको छैन । त्यसको पछिल्लो उदाहरणको रुपमा चीनबाट तस्करी गरेर केरुङ नाका हुँदै काठमाडौं ल्याएको ८८ किलो सनुलाई लिन सकिन्छ । प्रहरीले रसुवागढी नाकाबाट ल्याएको ८८ किलो सुन पक्राउ गरे पनि मुख्य लगानीकर्ता चिनियाँ नागरिकलाई पक्राउ गर्न सकेको छैन । यो सुन तस्करीमा काठमाडौंमा रेस्टुरेन्टमा व्यवसाय गर्ने चिनियाँ नागरिक पेन बेइमिङ र उनकी पत्नी याङसहित चिनियाँ नागरिक झोङ होङ ल्याङको मुख्य संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको थियो तर उनीहरुलाई पक्राउ नगरी प्रहरीले सुन ल्याउन प्रयोग भएको बा १७ च ६४२७ नम्बरको गाडीका  चालक मनोज अधिकारीलाई प्रहरीले मुद्दा चलाएको छ । केरुङ नाका पार गराउने अर्का गाडी चालक दाम्पा खड्का र दिलीप लामालाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो ।
सुन तस्करले बाटो फेरी–फेरी चीनका विभिन्न नाकाबाट सुन नेपाल ल्याएर भारत लगेर बेच्ने गरेका छन् । नेपाललाई सुन तस्करीको ‘ट्रान्जिट’ बनेको सुरक्षा अधिकारी स्वीकार गर्छन् । विगतमा पनि उच्च राजनीतिक नेताको नाम सुन तस्करमा जोडिने गरेको थियो । अवैध रुपमा कमाएको आम्दानी सुनमा लगानी गर्न सहज भएकाले पनि यो व्यवसाय फस्टाएको हो । व्यवसायीले वैध बाटोबाट मुद्रा पठाउने र अवैध बाटोबाट सुन ल्याउने गरेको प्रहरीको दाबी छ ।

Leave A Comment