तेस्रो भयो नेपाल

शुक्रबार, १५ मङि्सर २०७४, ०१ : ४३ कमल खत्री
तेस्रो भयो नेपाल

आइसिसी विश्व कपअन्तर्गत एसिया छनोटमा नेपालले तेस्रो स्थानका लागि भएको खेलमा हङकङलाई ३६ रनले पराजित गरेको छ ।
थाइल्यान्डमा भएको प्रतियोगितामा शीर्ष दुईमा पर्ने टोलीले विश्व कपका लागि ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउने थियो तर नेपाल प्रतियोगितामा ६ अंकसहित तेस्रो स्थानमा सीमित भएपछि विश्व कप छनोटको अर्को चरण खेल्ने अवसरबाट वञ्चित भएको हो ।
सोमबार नेरी थापाले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले हङकङलाई हराउँदै प्रतियोगितामा तेस्रो भई सुखद् अन्त्य गर्यो ।
नेरीले ३८ रनको योगदान गरेपछि टस हारेको नेपालले सुरुआतमा ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको नोक्सानीमा ९४ रन जोडेको थियो । ओपनर ज्योति पाण्डे २ र सरिता राना मगर ३ रनमा आउटपछि नेरीले नेपाली टोलीको इनिङसलाई नेतृत्व गरेकी थिइन । राष्ट्रिय टोलीकी पूर्व कप्तान नेरीले ३४ बलमा ५ चौका प्रहार गर्दै नेपालको स्कोरलाई बढाउनमा सहयोग गरिन् । नेरी चान साउ हारको बलमा बोल्ड भएपछि करुण भण्डारी र कप्तान रुबिना क्षेत्रीले नेपालको ब्याटिङलाई अन्तिम ओभर सम्म नेतृत्व गरे । नेपालले निर्धारित २० ओभर पूरा खेल्दा करुणाले १४ र रुबिनाले १५ रन जोडेकी थिइन् ।  हङकङकी मारिको हिलले २ विकेट लिइन् ।
करुणा भण्डारीले ३ विकेट लिएपछि हङकङलाई नेपालले १९.५ ओभरमा ५८ रनमा अलआउट गरेको थियो । करुणाले ४ ओभरमा १० रन खर्चिन् । नेपालका लागि सबनाम राई, सरिता मगर, नेरी र रितु कनोजियाले समान १ विकेट लिए ।
हङकङको दुई खेलाडीले बाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेका थिएन ।  चान साउले १३ र कार्य चानले ११ रन बनाएकी थिइन् ।
यसैगरी सोमबारै भएको फाइनल खेलमा थाइल्यान्डले युएइलाई २२ रनले हरायो । टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले १९.२ ओभरमा ७८ रन जोडेको थियो । जवाफमा युएइले २० ओभरमा ५६ रन मात्र बनाउन सक्यो ।
सोमबार सकिएको प्रतियोगितामा नेपालले ५ मध्ये दुई खेलमा जित हासिल गरेको थियो । १ खेलमा हारको सामना गरेको नेपालले दुई खेलमा अंक बाँड्नु परेको थियो । नेपालले आइतबार चीनलाई ५० रनले हराएको थियो ।
राउन्ड रोबिन लिगको आधारमा भएको प्रतियोगितामा नेपालले वर्षाका कारण आयोजक थाइल्यान्ड र हङकङ विरुद्धको खेलमा अंक बाँडेको थियो । युएइसँग ५ रनले पराजित भएपछि नेपालको प्रतियोगितामा शीर्ष दुईमा पर्ने सम्भावना कमजोर बन्दै गएको थियो । नेपालले चौथो खेलमा मलेसियालाई ३३ रनले हराए पनि शीर्ष दुईमा भने पर्न सकेन  ।

Leave A Comment