तिब्बती प्रदर्शनका कारण चीन भ्रमण रद्द

शुक्रबार, १५ मङि्सर २०७४, ०१ : ४८ शुक्रवार
तिब्बती प्रदर्शनका कारण चीन भ्रमण रद्द

स्वतन्त्र तिब्बतका पक्षधरहरुले लगातार चीनविरुद्धको प्रदर्शनलाई जारी राखेपछि चीनको यु–२० टोलीले विवादास्पद बनेको जर्मनी भ्रमण रद्द गरेको छ ।
टोकियो ओलम्पिक २०२० को तयारीस्वरुप चिनियाँ टोलीले सन् २०१८ को मेसम्म जर्मनीमा अभ्यास भ्रमण गर्ने तालिका थियो ।
तर गत शनिबार मेइन्जमा एक खेल दौरान मैदानमा भएका केही समर्थकले स्वतन्त्र तिब्बतका पक्षमा नाराबाजी गर्दै झण्डा प्रदर्शन गरेपछि बर्लिनमाथि कूटनीतिक टाउको दुखाइ बढेको थियो । सोही विवादका कारण चीनमा प्रत्यक्ष प्रसारण भइरहेको उक्त खेल दौरान ६ जनाको समूहमा भएका समर्थकले स्वतन्त्र तिब्बतको झण्डा देखाएका थिए । त्यसलगत्तै चिनियाँ खेलाडीले २५औं मिनेटमा मैदान छाडेका थिए । हाल यो विषय दुवै देशका कूटनीतिज्ञलाई समेत टाउको दु्खाइको विषय बनेको छ ।
जर्मनीको फुटबल संघले चीनको यु–२० टोलीले भ्रमण रद्द गरेको पुष्टि गरेको छ । चीनको टोलीले यो वर्षको अन्त्य सम्ममा जर्मनीमा तीन वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो ।
‘तत्कालका लागि यो भ्रमण रद्द गरिएको छ । हामी यस विययमा छिटोभन्दा छिटो वृहत छफफलमार्फत समाधान निक्लियोस् भन्ने चाहन्छौँ,’ जर्मन फुटबल संघका उपाध्यक्ष रोनी जिमरम्यानले भने ।
चीनको फुटबल संघले यस घटना दूर्भाग्यपूर्ण भएको बताएको छ ।
शनिबार चिनियाँ टोलीले फ््रयाङफर्टमा दोस्रो खेल खेल्ने तालिका थियो तर मैदानमा पुनःस्वतन्त्र तिब्बतका पक्षधरले विरोध गर्ने सम्भावना भएको भन्दै चीनले भ्रमण रद्द गरेको हो ।

Leave A Comment