मेसीको सम्झौता नवीकरण

शुक्रबार, १५ मङि्सर २०७४, ०१ : ४९ शुक्रवार
मेसीको सम्झौता नवीकरण

बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीले आफ्नो भविष्यबारे महिनौँदेखि जारी अन्योल चिर्र्दै शनिबार क्लबसँगको सम्झौता थप चार वर्ष लम्बाएका छन् ।
बार्सिलोनाले क्लब र मेसीबीच सन् २०२१ सम्म क्याम्प नोउमै बस्ने नयाँ सम्झौता भएको घोषणा गरेको छ । मेसी र क्लबबीच गत जुलाईमै नयाँ सम्झौता भएको बताइए पनि शनिबार मात्र त्यसको औपचारिक पुष्टि भएको हो ।
बार्सिलोनाले यसअघि नै ३० वर्षे मेसीले क्लबसँगको सम्झौता लम्ब्याएको बताए पनि उनले सम्झौतामा हस्ताक्षर गरेका थिएनन् ।
‘एफसी बार्सिलोना र लियोनेल मेसीबीच शनिबार नयाँ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जसअनुसार अर्जेन्टिनी स्ट्राइकर सन् २०२०–२१ को सिजनसम्म क्लबमै बस्नेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उनका लागि फुकुवा रकम ७० करोड युरो तोकिएको छ ।’
यसै सिजनको सुरुमा ब्राजिली स्ट्राइकर नेइमारलाई क्लबमा राख्न नसकेको भन्दै बार्सिलोनाका समर्थकले अध्यक्ष जोसेफ मासिया बार्टोमेयुलाई चर्को आलोचना गरेका थिए ।
नेइमार विश्व कीर्तिमानी २० करोड २२ लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)सँग अनुबन्ध भएका थिए ।
जारी सिजन स्पेनिस ला लिगामा गतिलो सुरुआत गरेको बार्सिलोनाले १२ खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिएको छ । ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत् छ । समान खेलमा ३० अंक जोडेको भ्यालेन्सिया दोस्रो तथा समान २४–२४ अंक जोडेका रियाल मड्रिड र एट्लेटिको मड्रिड क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।

Leave A Comment