२०७१ यताका फिल्मलाई समीक्षकले बाँडे अवार्ड

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : २९ शुक्रवार
२०७१ यताका फिल्मलाई समीक्षकले बाँडे अवार्ड

सिनेमाका समीक्षकहरुको समूह फिल्म क्रिटिक सोसाइटीले २०७१ साल यता निर्माण तथा प्रदर्शन भएका सर्वोत्कृष्ट फिल्म छान्दै तिनलाई ‘क्रिटिक अवार्ड’ दिएका छन् । विजेताले समीक्षकको नजरमा आफू र आफ्नो सिर्जना परेकामा गौरव अनुभूत गरेको बताएका छन् । सोसाइटीले गएको बुधबार २०७१, २०७२ र २०७३ सालमा बनेका सर्वोत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरेको हो ।
समाजले २०७० सालबाट अवार्ड वितरणको थालनी गरेको थियो तर २०७१ सालमा अवार्ड दिने भनी घोषणा भएर पनि अवार्ड वितरण गर्न सकेको थिएन । भूकम्प तथा नाकाबन्दीका कारण सो वर्षको अवार्ड रोकिएको समाजका अध्यक्ष यज्ञशले बताएका थिए । त्यसयताका दुई वर्षको अवार्ड पनि सोसाइटीले गर्न सकेको थिएन । ‘हाम्रो संगठनको आन्तरिक कारणले अवार्डलाई समयमै सम्पन्न गर्न सकेका थिएनौँ,’ उनले भने, ‘त्यसैले यस पटक रोकिएका अवार्ड एकै पटक दिइएको हो ।’
२०७१ सालको अवार्डतर्फ ‘फिल्म’ विधामा  ‘कबड्डी’, ‘निर्देशन’ विधामा ‘टलकजंग भर्सेज टुल्के’का लागि निर्देशक निश्चल बस्नेत, ‘पटकथा’ विधामा ‘कबड्डी’का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, ‘अभिनेता’ विधामा ‘कबड्डी’कै लागि दयाहाङ राई, ‘अभिनेत्री’ विधामा ‘सुन्तली’का लागि प्रियंका कार्की, ‘छायांकन’ विधामा ‘सुन्तली’कै लागि अन्ड्रा बेलिका, ‘सम्पादन’ विधामा ‘ताण्डव’का लागि बनिष शाह र मिलन श्रेष्ठ र ‘पाश्र्व संगीत’ विधामा ‘टलकजंग भर्सेज टुल्के’का लागि जेसन कुँवरले अवार्ड थापेका थिए ।
त्यस्तै २०७२ का लागि ‘फिल्म’ विधामा ‘पशुपतिप्रसाद’, ‘निर्देशक’ विधामा ‘पशुपति प्रसाद’का लागि निर्देशक दीपेन्द्र के खनाल, ‘पटकथा’ विधामा ‘पशुपतिप्रसाद’ बाटै खगेन्द्र लामिछाने, ‘छायांकन’मा ‘कबड्डी कबड्डी’का लागि शैलेन्द्र डी कार्की, ‘सम्पादक’ मा ‘क्लासिक’का लागि सुरेन्द्र पौडेल, ‘अभिनेता’ मा ‘फन्को’का लागि सौगात मल्ल र ‘अभिनेत्री’मा ‘कबड्डी कबड्डी’का लागि रिस्मा गुरुङले अवार्ड पाए ।
त्यस्तै २०७३ सालका लागि ‘फिल्म’ विधामा ‘कालोपोथी’, ‘निर्देशक’ मा ‘सेतो सूर्य’बाट दीपक रौनियार, ‘पटकथा’ मा ‘कालोपोथी’बाट मीन भाम र अविनाश विक्रम शाह, ‘सम्पादन’मा ‘सेतो सूर्य’कै लागि डेभिड बार्कर, ‘छायांकन’मा ‘कालोपोथी’बाट अजिज जम्भाकिभ, ‘अभिनेता’मा ‘जात्रा’बाट बिपिन कार्की र ‘पुरानो डुंगा’बाट माओत्से गुरुङ र ‘अभिनेत्री’मा ‘लभ सासा’बाट केकी अधिकारीले अवार्ड पोल्टामा पारे । उनीहरूलाई फिल्मकर्मी यादव खरेल, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र अभिनेत्री भुवन चन्दले प्रमाणपत्रसहित मेडलले पुरस्कृत गरेका थिए ।
समाजका अध्यक्ष यज्ञशले प्राविधिक कारणले क्रिटिक्स अवार्ड घोषणा र वितरण कार्य समयमा गर्न सकेका नसकेको अवस्थामा यसपटक एकैचोटी तीनवटै वर्षको अवार्ड वितरण गर्नुपरेको बताए । ‘कलात्मक रुपमा नयाँ काम गर्न खोज्ने युवा फिल्मकर्मीलाई प्रोत्साहन गर्न अवार्ड दिएका हौं,’उनले भने,‘हामी अन्य अवार्ड जस्तो व्यावसायिक धारलाई भन्दा पनि समीक्षक र आम दर्शकलाई नौलो स्वाद लागेका फिल्मका कलाकारदेखि प्राविधिकलाई अवार्डले प्रोत्साहन गर्छौ ।’ उनले आफूहरूले समाजकै सदस्यहरुको खर्चमा अवार्ड गरिरहेकाले आगामी वर्षदेखि चलचित्र विकास बोर्डको सहयोगको अपेक्षा गरे ।
फिल्मकर्मी खरेलले पछिल्लो समयमा फिल्मको व्यापारमा सकारात्मक सुधार भइरहँदा कलाकारदेखि प्राविधिकसम्मको कामलाई नजिकबाट मूल्यांकन गरेर उनीहरूलाई पुरस्कार दिइनु सराहनीय काम रहेको बताए । समाजले चाँडै नै फिल्म समीक्षा सम्बन्धि कार्यशाला गर्ने तयारी गरिरहेको छ । अवार्ड कार्यक्रम काठमाडौँको शिल्पी थिएटरमा सम्पन्न भएको थियो ।

 

Leave A Comment