अत्याधिक टाउको दुख्यो, माइग्रेन पो भयो की !

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ५६ शुक्रवार
अत्याधिक टाउको दुख्यो, माइग्रेन पो भयो की !

हिजोआज प्राय मानिसलाई हुलमुलमा जाँदा, धेरै कलरहरु झल्याकझुलुक्क देखिरहँदा वा टिभी हेरिरहँदा अत्यधिक टाउको दुख्ने समस्या देखिन थालेको छ । यसरी अत्यधिक टाउनको दुख्ने समस्या तपाईंमा पनि छ भने तुरुन्तै उपचार गर्न सुझाएका छन्, ब्लु लोटस अस्पतालका अकुपन्चरिष्ट डा. बिशाल श्रैष्ठले । उनका अनुसार सबै टाउको दुखाइमा माइग्रेन नहुन सक्छ तर टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हुनसक्छ ।
माइग्रेन भएका बिरामीको परीक्षणका क्रममा रिपोर्टहरु सामान्य आउने श्रेष्ठको भनाइ छ । सिटी स्क्यान होस् या रगत परीक्षणमा नै किन नहोस्, रिपोर्ट सामान्य नै आउँछ । उनले भने, ‘अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन सक्छन् ।’
सबैतिर लगियो । केही रोग देखिँदैन । कतै नाटक त होइन ! भनेर शंका समेत गर्ने गरेको पाइन्छ । यसले बिरामीलाई पीडामाथि थप पीडा दिन्छ । डा. श्रेष्ठका अनुसार माइग्रेनका लक्षणहरु निम्न हुन सक्छन् ।
माइग्रेन भएका बिरामीको टाउको दुखाइ नियमित हुँदैन । केही दिन बिराएर टाउको दुख्न थाल्छ । यसलाई अर्को भाषामा ‘इपिसोडिक हेडेक’ पनि भनिन्छ । कसैलाई हप्तामा एक पटक दुख्न सक्छ, कसैलाई दुई पटक । कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा पनि दुख्न सक्छ । जतिबेला टाउको दुख्छ, त्यतिबेला असह्य पीडा हुन्छ । कतिपय ठाउँमा आधा टाउको दुख्ने रोग (अधाहा) भनेर पनि चिनिन्छ । कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ । केहीलाई भने पूरै टाउको दुख्ने समस्या देखा पर्न सक्छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी देखिन सक्छ ।
कडा टाउको दुख्दा बिरामीलाई वाकवाकी लाग्ने, कसैलाई बान्तासमेत हुने र कसैलाई बान्ता भएपछि आराम भएजस्तो हुने लक्षण देखिन्छ । प्रकाश र उज्यालो हेर्न मन नहुने, भिडभाड मन नपराउने र वरपरका मानिससँग झर्को लाग्ने लक्षण देखा पर्न सक्छ । बिरामीलाई आवाजको एलर्जी हुन्छ, जसलाई ‘फोनोफोबिया’ भनिन्छ।

माइग्रेन दुई प्रकारको हुन्छ— विथ औरा र विद्आउट औरा ।
२०–३० प्रतिशतलाई माइग्रेनको पूर्वसंकेत मिल्छ, त्यो बेला यसको संकेत शरीरले पाउँछ । दृष्टि प्रस्ट नहुने, आँखालाई असहज हुने लक्षण देखियो भने यसलाई औरा भनिन्छ । कतिपयलाई कुनै पूर्वसंकेत बिनै पनि माइग्रेन हुन्छ ।
कतिपय बिरामीलाई कुनै गन्धका कारण टाउको दुख्न थाल्छ । सडाइएको वा अमिल्याएको परिकार खाँदा बिरामीको टाउको दुख्छ । उज्यालो हेर्न मन नलाग्ने भएकाले कतिपय बिरामी बत्ती निभाएर एकान्तमा वा अँध्यारोमा बस्न रुचाउँछन् । बिरामीलाई टाउको दुख्दा दुई घन्टादेखि ७२ घन्टासम्म त्यसको असर रहन्छ । यो माइग्रेनको खास लक्षण हो । कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधिले पनि काम गर्दैन ।
उपचार
खाने र लगाउने औषधि मात्रै होइन पारिवारिक वातावरणले पनि माइग्रेनको समस्या समाधान गर्न सघाउ पुर्याउँछ । परिवारका सदस्यले बिरामीको समस्या बुझेनन् भने तनाव झनै बढेर जाने भएकाले शान्त वातावरण सिर्जना गरिदिनुपर्छ । खाद्यान्न, पोषणजस्ता कुराले पनि यो समस्या निराकरणमा भूमिका खेल्छ । ‘फर्मेन्टेड’ खाना जस्तैः दही, मही, पनीर, आइसक्रिम आदि सकेसम्म खानु हुँदैन । माछा–मासु नखाँदा राम्रो । अमिलो, पिरो राखेका खानेकुरा तथा कफी, चिसोजस्ता पेय पदार्थ नपिए माइग्रेनको उपचारमा सहयोग मिल्छ । जंकफुडहरू खानु हुँदैन । तनाव व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हो । मानसिक समस्याका लागि औषधिसहित ध्यान र योग गर्नुपर्छ ।
बिरामीले उपचार विधिको अनुशासन पालना गर्ने हो भने माइग्रेन पूर्णतः निको हुन्छ ।

Leave A Comment