फुटेको ओठ केयर गर्ने तरिका

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : १९ शुक्रवार
फुटेको ओठ केयर गर्ने तरिका

जाडो मौसममा ओठ र छालालाई पर्याप्त मात्रामा नरमपन चाहिन्छ । छाला र ओठमा नरमपन कायम राख्न हरेक मौसममा शरीरलाई पर्याप्त मात्रामा पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पानीको मात्रामा कमी आउँदा ओठ बढी फुट्ने गर्छ त्यही कारण अन्य मौसममा जस्तो जाडो मौसममा पनि प्रशस्त पानी पिउनुपर्छ । अन्य मौसममा भन्दा जाडो मौसममा ओठ बढी सुख्खा हुन्छ । ओठलाई कोमल तथा नरम राख्न मोस्चराइजर प्रयोग गर्न सकिन्छ । खानामा पर्याप्त मात्रामा भिटामिन बी समावेश गर्नुपर्छ । यसले ओठलाई पनि प्रभावित गर्छ । ओठको किनारा र मुखको कुना सुकेर फुट्ने गर्छ । भिटामिन बी को कमीले मुखमा अल्सर पनि हुनसक्छ । यस्तोमा ओठलाई स्वस्थ राख्न पर्याप्त मात्रामा भिटामिन बी सेवन गर्नुपर्छ ।
धूमपानले ओठ कालो र सुख्खा हुने गर्छ । ओठको रंग गुलाफी हुनुपर्छ । यसका लागि धूमपान छोड्नुपर्छ । फुटेको ओठलाई केयर गर्नका लागि मह र कागतीको केही थोपा मिसाएर नियमित रूपमा ओठमा लगाउनुपर्छ । यसबाट ओठको रंग सुन्दर र ओठ कोमल हुन्छ । ओठमा ओलिभ ओयल, तोरीको तेल वा ल्वाङको तेल पनि लगाउन सकिन्छ । यसबाट ओठ कोमल, नरम र चम्किलो बन्छ ।
सूर्यको युभी किरणको सम्पर्कमा आउँदा ओठको रंग धमिलो हुन्छ । यस्तोमा छालालाई पनि युभी किरणबाट सुरक्षित राख्नुपर्छ । ओठलाई सुख्खा र कालो हुनबाट जोगाउन बाम वा जेल प्रयोग गर्नुपर्छ जसले सूर्यबाट आउने अल्ट्राभ्वाइलेट रेज (परावैजनी किरण) बाट सुरक्षा दिन्छ । जाडोमा हामीले धेरै मात्रामा मोस्चराइजर भएको लिपस्टिक किन्दा राम्रो हुन्छ । सुत्नुअगाडि लिपिस्टिक हटाएपछि राम्रो खालको मोस्चराइजिङ लिप बाम लगाउनुपर्छ । ग्लिसरिन, अल्कोहलजस्ता केमिकल तत्व भएका बाम प्रयोग गर्नु ठीक मानिदैन । ओठलाई कालो हुनबाट जोगाउन हामीले कागती पनि प्रयोग गर्न सक्छौँ । कागतीमा प्राकृतिक ब्लिच हुन्छ । यसले ओठको दाग–धब्बा सहज रूपमा हटाउन सहयोग गर्छ । यसले ओठलाई गुलाबी रंग दिलाउँछ भने शीतल राख्ने र मोस्चराइज पनि गर्छ । गुलाबजलका केही थोपा महमा मिसाएर ओठमा लगाउन सकिन्छ । आफ्नो ओठलाई पोषण दिन र नरम राख्न ओलिभ ओयल मसाज गर्न सकिन्छ । ओठलाई प्राकृतिक रूपबाट गुलाबी बनाउनका लागि अनारको रसमा पनि लगाउन सकिन्छ ।  अनारको रसमा पानी र क्रिम पनि मिसाउन सकिन्छ ।

Leave A Comment