अब टोपी झर्दैन...

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : ३५ शुक्रवार
अब टोपी झर्दैन...

प्रकाशजंग थापा
सय वर्षअगाडि भारतको एक गाउँमा टोपी व्यापारी थिए । त्यस बेला कामको आधारमा व्यक्तिलाई चिनिने हुँदा उनलाई सबैले टोपीवाला भन्थे । एक दिन उनी टोपी बेच्न सहरतिर लागे । गाउँबाट सहरसम्म पुग्न त्यस बेला गाडी र रेलको सुविधा थिएन । यसर्थ पैदल यात्रा गर्नुको विकल्प पनि थिएन । केही घण्टाको हिँडाइपछि ती टोपीवाला थकित भए । आराम गर्न एक ठूलो रुखको छहारीमा बसे । उनले बाटोमा भोक लाग्दा खाने खाजा–पानी बोकेका थिए । खानाको पोका फुकाए र कपाकप खान थाले । क्षणमै भोक र तिर्खा मेटियो । उनलाई खासै हतार थिएन । त्यो ठाउँबाट सहर नजिकै थियो । त्यसैले एकछिन थकाइ मारेर सहर जाने उनले मन बनाए । टोपीको टोकरी एक कुनामा राखे । रुखमा अढेस लागे । थकाइका कारण टोपीवाला भुसुक्कै निदाए ।
एक घण्टाको सुताइपछि टोपीवाला बिउँझिए । ज्यान तन्याकतुनुक पारे । यताउति हेरे । त्यहाँ टोपी थिएन । खाली टोकरी मात्र थियो । ती टोपीवाला छाँगाबाट खसेको महसुस गरे । उनको सर्वश्व लुटिएको थियो । टोपी चोरी भयो भन्दै कराउन थाले । परसम्म गएर टोपी खोजे तर कतै फेला पारेनन् । थकित र निराश उनी त्यही रुखमुनि आए । निराश मुद्रामा थचक्क भुइँमा बसे । आकाशतिर नजर डुलाए । रुखको हाँगाहाँगामा बाँदरहरु  रङ्गीबिरङ्गी टोपी लगाएर बसेको देखे । बाँदरतिर हेरेर चिच्याउन थाले । ढुङ्गा टिपेर हानेजस्तो गरे । बाँदर स्वभावैले बदमास जात हो । टोपीवालाको हाउभाउ बाँदरहरुले सिको गर्न थाले । यो देखेपछि टोपीवालालाई जुक्ति आयो । उनले दुवै हात माथि फैलाउँदा बाँदरहरुले पनि दुवै हात माथि फैलाए । उनले दुवै हात हल्लाउँदा बाँदरहरुले पनि त्यही गरे । उनी फेरि उफ्रे । बाँदरहरुले त्यसको पनि हुबहु नक्कल गर्न थाले र रुखको हाँगा हल्लिने गरी उफ्रिए । अन्त्यमा उनले आफूले लगाएको टोपी जमिनमा जोडसित पटकिए । बाँदरहरुले पनि आफूले लगाएको टोपी उतारेर जमिनमा फ्याँके । टोपी जमिनमा छरपस्ट भयो । टोपीवाला प्रसन्न भए । उनले चुपचाप सबै टोपी बटुले र आफ्नो बाटो लागे । बाँदरको जमात हेरेकोहेर्यै भए । अरुलाई झुक्याउने ÷छक्याउने बाँदरहरु आफैँ छक्किए ।
टोपीवाला सहरमा सम्पूर्ण टोपी बिक्री गर्न सफल भए । उनले राम्रै फाइदा पनि कमाएर घर फर्किए । घर पुगेपछि परिवारलाई आफूले भोगेको अचम्मको घटना सविस्तार सुनाए । उनले आफ्ना सन्तानलाई यस घटना क्रमबाट सिक्न र भविष्यमा परिआउँदा लागू गर्न तथा आफूपछिका सबै पुस्तालाई यो पाठ सम्प्रेषण गर्न आदेश पनि दिए ।
टोपीवालाको शेषपछि टोपीको व्यापार÷व्यवसाय उनका छोराले सम्हाल्न थाले । टोपीको व्यवसाय त्यसपछिका हरेक पुस्तामा निरन्तर हुन थाल्यो । पुस्ता परिवर्तन भए पनि व्यवसाय फेरिएन । सय वर्षपछि त्यही परिवारका नयाँ पुस्ताका नयाँ ‘टोपीवाला’ले व्यवसाय चलाए । एकदिन उनी पनि आफ्ना बाजे–बराजुले जसरी नै टोपी बेच्न सहरतर्फ लागे । उनको उद्देश्य सहरमा गएर टोपी बेची मुनाफा कमाउनु थियो । हिँड्दै जाने क्रममा उनलाई कहीँ बसुँ जस्तो भयो । ठूलो रुखको छहारी खोज्दै अघि बढे । केही क्षणको खोजपछि उपयुक्त रुख भेटियो । त्यही रुखमुनि विश्राम लिने सोच बनाए । सहरमा बिक्री गर्न ल्याएका टोपीको टोकरी एक छेउमा राखे । उनका लागि बिस्तरा जमिन र आकाश छानो थियो । एकछिन ढल्किए । छिनमै गहिरो निद्रामा परे । डेढ घण्टापछि उठे । दायाबायाँ हेर्दा टोपी थिएन । एकछिन तनाबमा परे । रुखमाथि हेर्दा बाँदरहरु टोपी लगाएर बसेको अवस्थामा थिए । यो देखेर जुनियर टोपीवाला फिस्स हाँसे किनभने उनलाई बाजे÷बराजुको पाठ याद आयो । उनले आफ्ना बाजे–बराजूले जे सिकाएका थिए, त्यही कार्बन कपी गर्ने प्रयास गरे । उनले आफ्नो हात टाउकोमा लगेर टोपीलाई बेस्कन भुइँमा फाले । तर बाँदरहरुले त्यसको देखासिकी गरेनन् । बाँदरका टिम लिडरजस्तो लाग्ने एउटा बाँदर रुखबाट झर्यो र जुनियर टोपीवालालाई एक चड्कन दिँदै भन्यो, ‘के तपाईंको मात्र पुर्खाहरु छन् ? हाम्रो पनि छ । हामीले उहाँहरुबाट पाठ सिकिसकेका छौँ ।’
यो कथा एक जना चर्चित भारतीय आध्यात्मिक गुरु सद्गुरुले एउटा प्रवचनमा सुनाएका हुन् । सद्गुरुले यो कथा प्रवचन दिने क्रममा दोहोर्याइरहन्छन् । कथाको सार के त ? यसले दिने एउटै शिक्षा, दर्शन के भने सधैँका लागि एउटै उपचारले काम गर्दैन । प्रत्येक सेकेन्डमा नयाँ–नयाँ अवस्था, नयाँ–नयाँ कुरा आविस्कार भइरहेका छन् । समय र परिस्थिति हरेक क्षण परिवर्तन हुँदै गइरहेका छन् । यस्तोमा आफूलाई पनि नयाँ परिवेश, अवस्था र स्थितिअनुसार परिमार्जित र नयाँ बनाउँदै जानु पर्छ ।
के तपाईंले आफूलाई आज नयाँ आफू बनाउनु भयो ?

Leave A Comment