डिल्लीरमण रेग्मीसम्बन्धी अशुद्धि

शनिबार, ०१ साउन २०७३, ०२ : ०० शुक्रवार , Kathmandu
डिल्लीरमण रेग्मीसम्बन्धी अशुद्धि

वि.सं. २०७३ मा काठमाडौँबाट डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा प्रकाशित डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय एक परिचयको १ पृष्ठमा डा. डिल्लीरमण पाँच वर्षका छदाँ नै उहाँकी माता मुक्तिदेवी रेग्मीको निधन भयो, पिता पनि जागिरको सिलसिलामा बाहिर गइरहनुपर्ने भएकोले डिल्लीरमणलाई मावली विद्वत्शिरोमणी हेमराज पाण्डेकहाँ राखियो भनेर लेखिएको छ । हेमराज पाण्डे डिल्लीरमण रेग्मीका मावली होइनन्, हेमराज पाण्डेकी पत्नीका भाइ डिल्लीरमण रेग्मी हुन् अर्थात् डिल्लीरमण हेमराजका साला हुन् भनी हेमराज डिल्लीरमणका भिनाजु हुन् । त्यही पुस्तकको २५ पृष्ठमा परिश्रमी, मेहनती, साहसी, धैर्यवान आदि गुण डा. रेग्मीमा भरिपूर्ण रूपमा थिए भनी अभिमानजस्ता अवगुण पनि उनमा थियो, संशोधन मण्डलले उनलाई चोरीको आरोप पनि एक समयमा लगाएको थियो, तर संशोधन मण्डल स्थापना हुनुपूर्व नै उनको लेखन कार्य सुरु भएको तथा संशोधन मण्डलको निष्क्रियतापछि पनि उनको लेखन कार्य जारी रहेकाले संशोधन मण्डलले लगाएका सबै आरोप पनि पत्याउने स्थिति छैन भनी लेखिएको छ । नेपालको इतिहासमा डा. डिल्लीरमण रेग्मीको देन विषयक निबन्ध प्रतियोगितामा द्वितीय भएका नेपाल कमर्स क्याम्पसका माधवहरि पौडेलले यो लेखेका हुन् । डिल्लीरमण रेग्मीले संशोधन–मण्डलले धेरै कालअघि प्रकाशित गरेका धेरै कुरालाई संशोधन–मण्डलको नाम नलिई अपहरण गरेका र डिल्लीरमण रेग्मीको लेखाइको विद्वज्जनमा प्रतिष्ठा नभएको कुरा पनि प्रसिद्धै छ । यस विषयमा वि.सं. २०१७ देखि हालसम्म धेरै ठाउँमा लेखिएका ती सबै कुराको उल्लेख यहाँ गर्नु सम्भव छैन । यसको उदाहरणको रूपमा वि.सं. २०६६ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा १३१ पूर्णाङ्कका २३४–२९४ पृष्ठमा छापिएको महेशराज पन्तको ऐतिहासिकपाश डिल्लीरमण रेग्मीबारे फेरि एकपल्ट भन्ने लेखको उल्लेख गर्नु नै पर्याप्त होला । संशोधन–मण्डलले स्पष्ट रूपमा वि.सं. २००९ आश्विन ५ गतेदेखि इतिहास संशोधन प्रकाश गर्न थालेकोले अशुद्धै भए पनि वि.सं. २००९ मै एन्शन्ट् एन्ड् मेडिइभल नेपाल नामक पुस्तक निकालिसकेका डिल्लीरमण रेग्मीले पहिले नै काम शुरू गरेका भनी भन्न मिल्छ । भरखरै वि.सं. २०७३ आषाढमा पूर्णिमा १४३ पूर्णाङ्क प्रकाशित भएकोले संशोधन–मण्डल निष्क्रिय भएको भन्ने कुरामा चाहिँ कुनै सत्यता छैन । यस अवस्थामा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति डिल्लीरमण रेग्मीसम्बन्धी प्रामाणिक अनुसन्धानमा होइन कि डिल्लीरमण रेग्मीसम्बन्धी अशुद्ध कुरा फैलाउन लागिरहेको छ भन्ने स्पष्ट हुन्छ ।
 

Leave A Comment