‘प्रेरणादायी किस्सालाई पुनर्कथन आवश्यक’

सोमबार, ०३ पुष २०७४, ०१ : ०३ शुक्रवार
‘प्रेरणादायी किस्सालाई पुनर्कथन आवश्यक’

दीपिका पादुकोण पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । सुन्दर रुपकी धनी एवं प्रतिभाशाली उनले गत जनवरीमा हलिउड फिल्म ‘त्रिपल एक्सः रिर्टन अफ द जान्डर केज’मा आफ्नो अभिनय कौशल प्रस्तुत गरेसँगै उनको वाहवाही भारतमा मात्रै नभएर अन्य मुलुकमा समेत छाएको छ । सन् २००७ मा शाहरुख खानसँग ‘ओम शान्ति ओम’बाट बलिउड डेब्यु गरेकी पादुकोणले बलिउडमा दस वर्ष पूरा गरिसकेकी छन् । दस वर्षमा उनमा उनको स्टारडम र आत्मविश्वासमा निकै परिवर्तन भइसकेको छ । यही डिसेम्बरमा प्रदर्शनमा आउने भनिएको उनको फिल्म ‘पद्मावति’लाई लिएर कर्नीसेनाले विवाद निकालेर हुलदंगा गरेपछि फिल्मको प्रदर्शन मिति आगामी वर्षको फेब्रुअरीमा सारिएको छ । फिल्मको ट्रेलरमा पादुकोण केन्द्र रहेकी छन् । रानी पद्मावति बनेकी दीपिकालाई हेरिरहँदा साहिद कपुर र रणवीर सिंहको आक्रमक अभिनय फिक्का लाग्छ । पिकु, बाजिराव मस्तानी, फाइन्डिङ फेनी, ककटेल, राम–लीलाजस्ता फिल्ममा आफ्नो प्रतिभा प्रस्तुत गरेकी पादुकोण महँगी अभिनेत्रीसमेत हुन् । यहाँ प्रस्तुत छ उनै पादुकोणसँग एक भारतीय मिडियाले गरेको कुराकानी :
‘पद्मावती’को प्रदर्शनको संघारमा छ । कस्तो महसुस भइरहेको छ ?

फिल्म नसकिउञ्जेल फिल्ममा निभाएको पात्रले छोडदैन । आफूले निभाएको पात्र हरेक बिहान आफैसँग उठ्थ्यो, पात्रझैं व्यवहार हुने र बाँच्ने हुँदा सुटिङको समय निकै सकसलाग्दो हुन्थ्यो । त्यस्तै अब फिल्म कतिबेला प्रदर्शनमा आउला भनेर छटपटी मात्रै भइरहेको छ । म निकै उत्साहित छु र हल्का डराइरहेकी पनि छु ।
ऐतिहासिक पात्र गर्दाको अनुभव कस्तो रह्यो ?
पक्कै, म थाकेकीजस्ती थिएँ । गत वर्ष म अरु कुनै काममा थिइनँ । म यसबारे कसैलाई केही भन्दिनँ । फिल्मले खोजे अनुसारकै मिहिनेत प्रस्तुत गर्न म यो बाहेकको फिल्ममा काम नगरेकी हुँ । यो फिल्मपछि म पुनः पहिलाजस्तै फिल्महरु गर्न र मानिसहरुको अगाडि प्रस्तुत हुन चाहन्छु ।
भनेपछि ‘पद्मावति’ सुटिङताका के छुटाउनु भयो त ?
कलाकार भइसकेपछि केही कुराहरु गुमाउनै पर्छ । कलाकारितामा यो अत्यावश्यक कुरा हो र यो सबैमा लागू हुन्छ । ‘पद्मावति’ फिल्मका हकमा त झन् दस गुणा बेसी लागू हुन्छ । यो र यस्तै फिल्म गर्दाताका तपाईंले आफ्नो बाटोमा आउने सबै कुरालाई नकार्नै पर्छ । परिवार र साथीभाइलाई दिने समय, यात्रा, कामकाज र व्यक्तिगत अभिरुचिहरुलाई समेत पन्छाउँदै गए मात्रै ‘पद्मावति’जस्तै फिल्म गर्न सकिन्छ ।
रानी पद्मावतिको भूमिका निर्वाह गर्दा सबैभन्दा चुनौतीपूर्ण काम के रह्यो ?
सबैभन्दा रोचक पक्ष भनेकै सबैले पूजा गर्ने महिलाको भूमिका गर्नु थियो । इतिहासमा उनको नाम चिरपरिचित छ । सबैभन्दा चुनौतीपूर्ण काम भनेकै यस्ती साहसिक आत्मबल भएकी उनको भूमिका गर्नु नै हो । उनले शक्ति, आत्मबल र साहसकै भरमा सबै घटनालाई साम्य पार्ने गर्थिन् । यसरी बिना कुनै हतियार आँखा र भावभंगीका आधारमा साहस प्रस्तुत गर्ने उनको भूमिका गर्नु नै मेरा लागि चुनौतीपूर्ण काम थियो ।
भूमिकाका लागि कसरी तयार हुनुभयो ?
सञ्जय (लीला भन्साली) सरसँग दिनहुँ घण्टौंको छलफल हुन्थ्यो । खोज सामग्रीहरुमा हामीहरु निकै टीकाटिप्पणी गथ्र्यौं । सञ्जय सर हाम्रो पानीजहाजको कप्तानजस्तै हुनुहुन्थ्यो । हामी सबैले उहाँको भिजन अनुसारको कार्य प्रस्तुत ग¥यौँ । फिल्मको घूमर गीतका लागि मात्रै धेरै भाषाहरु, संस्कृति, एवं ऐतिहासिक पुस्तकहरुको अध्ययन गर्नुपरेको थियो । धेरै कुराको ख्याल राख्नुपर्ने फिल्ममा भौतिक प्रस्तुतिभन्दा पनि मानसिक प्रस्तुतिका लागि निकै कडा मिहिनेत गर्नु परेको थियो । फिल्मको ऐतिहासिक पाटोलाई भावनात्मक रुपमा दर्शाउन निकै गाह्रो परेको थियो ।
‘खेले हम जी जान से’ र ‘बाजिराव मस्तानी’ पछि ‘पद्मावति’ तपाईंको तेस्रो ऐतिहासिक पृष्ठभूमिको फिल्म हो । इतिहासले तपाईंलाई आकर्षित गरेको हो त ?
मलाई इतिहासले आकर्षित गरेको हो वा यस्ता फिल्मले मलाई आकर्षित गरेका हुन् मैले खुट्याउन सकेकी छैन । प्रेरणादायी मानिसका किस्साहरुलाई पुनकर्थन गर्नु आवश्यक कुरा पनि हो । पद्मावतिबारे धेरैले सुनेका छन् तर सबै इतिहासका किताबमा मात्र । यसो हुँदा केहीलाई मात्र यसबारेको सविस्तार ज्ञान छ । किताबमा रहेको अध्यायका पाना–पाना र वाक्य–वाक्यमा सुन्दर कथा रहेको छ । उनको बलिदानी र सम्मानका साथै राजपूतहरुका लागि गरेको त्यागको कथा सबैले थाहा पाउनुपर्ने विषय हो ।
भन्सालीसँग यो तपाईंको तेस्रो फिल्म हो । उनले तपाईंमा भएको प्रतिभा उजागर गर्न कत्तिको सक्षम छन् जस्तो लाग्छ ?
पक्कै । मलाई उनले नै अभिनेत्री बनाएका हुन् । अरुले मोल्न नसकेको जोखिम मोल्न उनी तयार छन् । उनले कलाकारका रुपमा चुनौती पनि पेस गरिदिन्छन् । मलाई उत्साहित बनाउने पनि उनै हुन् । तीन फिल्ममा काम गर्दा मैले छुट्टै किसिमको रोमाञ्चकता पाएँ । तीन फिल्म गर्दा पनि उनमा पहिलाको जस्तै जोश, जाँगर र जागरुकपन पाउन सकिन्छ । ऐतिहासिक फिल्मको ट्रेलर हेरेर धेरैले यो ‘बाजिराव मस्तानी’ भन्दा भिन्दै रहेको बताउँदै आएका छन् । हो यस्तै काम गर्न सक्नु नै उनको खुबी हो ।
‘पद्मावति’ राजनीतिमा मुछियो । पहिला राजपुतहरुले हुलदंगा गरे । कतिपयले भन्सालीका साथै तपाईंलाई समेत आक्रमण गरे । यस्ता कुरालाई कसरी हेर्नुभएको छ ?
म यस कुराले निराश पनि छैन र तनावमा पनि छैन । विक्षिप्त पार्ने यस्ता घटना ‘पद्मावति’ले मात्र सामना गर्नुपरेको हैन । फिल्मी क्षेत्रलाई यसरी आक्रमण गर्नु जायज कुरा हैन । जहाँसुकै भए पनि यस्ता घटनाहरु रोकिनुपर्छ । जिम्मेवार नागरिकका रुपमा बौद्धिक सबैले चुरो कुरा थाहा पाएर मात्रै विरोध गर्नुपर्छ । हामीलाई नियम कानुनले दिएको स्वतन्त्रता प्रयोग गर्न पाउनुपर्छ । एकले अर्कोको भावनालाई कदर नगर्नु अहिलेको मुख्य समस्या हो । फिल्मी क्षेत्रमा राजनीतिक हस्तक्षेप राम्रो होइन । राजनीतिक हतियारको आडमा फिल्मी क्षेत्रलाई कालो धब्बा लगाउने काम छिट्टै रोकिनुपर्छ ।
यसबारे इन्डस्ट्री नै एकाकार भएर केही गर्नुपर्ने हो हैन र ?
इन्डस्ट्री सधैं एकाकार छ । मलाई विश्वास गर्नुहोस् यो समयकै माग हो किनभने यही समयमै हामी एकताबद्ध हुनुपर्छ । हेरौँ, सबैजना लागिपरेको ‘पद्मावति’ले कस्तो परिणाम दिलाउँछ !
भन्सालीले फिल्ममा इतिहासको तोडमोरोड नगरेको बताउँदै आएका छन् । यति हुँदाहुँदै पनि फिल्मलाई किन आक्रमण भइरहेको त ?
यसको विरोध गर्नेहरुको लक्ष्य वा राजनीति के हो म भन्न सक्दिनँ । हामीहरु सेन्सर बोर्ड र दर्शकबाहेक अरुलाई यो कुरा बताउन असमर्थ छौं । म पनि सहभागी भएकीले म यसबारे कटिबद्ध भएर लागेकी छु ।
फिल्ममा रणवीर सिंह र तपाईंको रोमान्टिक जोडी पर्दामा सँगै नदेखिने बताइएको छ । यसबाट दर्शकहरुलाई अन्याय हुँदैन ?
पक्कै । अघिल्ला फिल्ममा हामीहरु जोडीका रुपमा प्रस्तुत भएका थियौं । यो फिल्मको सेटमा समेत हामी सँगै थिएनौं । कथाको मागबमोजिम हामीहरु छुट्टै हुँदा जसरी म निराश त भएकी थिएँ त्यसको असर दर्शकहरुलाई पनि पर्छ ।
अल्लाहुदिन खिलजी रणवीरको आजसम्मकै सबैभन्दा दमदार प्रस्तुति हो त ?
हो र हैन पनि । उनको पोल्टामा कस्तो परेको छ, त्यो त फिल्म प्रदर्शनमा आएपछि नै थाहा लाग्ला । उनी पक्कै प्रतिभाशाली कलाकार हुन् । उनले अझै धेरै मिहिनेत गर्न सक्छन् । उनले कस्तो गरे मैले हेरेकी छैन तर दर्शकले उनलाई ट्रेलरमा कसरी देखे त्यो थाहा छ । उनको प्रस्तुति दमदार होस् भन्ने कामना छ मेरो ।
रणवीरलाई राम, बाजिराव वा खिलजीका रुपमा रोज्नुपर्दा को रोज्नुहुन्छ ?
(हाँस्दै) ‘रामलीला’का राम । निर्दोष, युवा, हँसमुख र भावनात्मक छन् राम । बाजीरावका रुपमा समेत महत्वपूर्ण भूमिका थियो । त्यस्तै खिलजीमा पनि केही होला । रणवीरले जे गरेका छन् त्यो अचेल इन्डस्ट्रीमा भएका कसैले गर्न सक्दैन ।
रणवीरसँगको प्रेम सम्बन्धलाई कसरी अघि बढाउन चाहनुहुन्छ ?
हा हा हा...(हाँस्दै) अब बाँकी के नै छ र ?
विवाह ?
त्यो त थाहा छैन । विवाहपछि के हुने हो, त्यो त थाहा छैन तर प्रेम भनेको आफसेआफ हुने कुरा हो । अहिले आफैँले यसलाई खोतल्दै आइरहेकी छु ।
आगामी वर्षका लागि योजना बुनिसक्नुभयो त ?
वर्षभरि के गरुँला भनेर मैले सोचिसकेकी छैन । साँच्चै भन्नुपर्दा मैले समयलाई व्यवस्थित गर्न सकिरहेकी छैन । सम्बन्धलाई मैले स्वस्र्फूत रुपमा स्वीकार्दै आइरहेकी छु । मेरो र रणवीरको सम्बन्ध पनि त्यसैगरी चलोस् सोच्छु । म गृहणी बन्नेबारे सोच्नै सक्दिनँ । म सानै हुँदादेखि चाहेको कुरा पूरा गरिसकेकी छु । विगत पन्ध्र वर्षदेखि म आफ्नो खुट्टामा आफैँ उभिदै घर व्यवहार चलाउँदै आइरहेकी छु तर कुनै मानिससँग परिवार बिस्तार गरी बस्न भने म निकै लालायित छु ।

 

Leave A Comment