रोनाल्डोले जित बालन डी’अर अवार्ड

सोमबार, ०३ पुष २०७४, ०४ : १४ शुक्रवार
रोनाल्डोले जित बालन डी’अर अवार्ड

एजेन्सी, पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले मंगलबार लगातार दोस्रो पटक विश्व वर्ष खेलाडी बन्ने क्रममा पाँच पटक बालन डी’अर जित्ने अर्जेन्टिनी खेलाडी लियोनल मेसीको कीर्तिमानसँग बराबरी गरेका छन् ।
रियाल मड्रिडका फरवार्ड रोनाल्डोले बार्सिलोनाका मेसी र सबैभन्दा महंगा खेलाडी नेइमारलाई पछि पार्दै बालन डी’अर उपाधि जितेका हुन् । ३२ वर्षे रोनाल्डोले गत सिजन रियालबाट च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने क्रममा प्रतियोगिताकै सर्बाधिक गोलकर्ता बनेका थिए । त्यसका साथै पछिल्लो पाँच वर्षमा रियाललाई पहिलो पटक स्पेनिस ला लिगाको उपािध जिताउन पनि रोनाल्डोले योगदान गरेका थिए ।
‘पक्कै पनि, म धेरै खुशी छु । हरेक वर्ष मैले जित्न चाहने अवार्ड हो यो,’ पेरिसस्थित आइफल टावरमा अवार्ड जितेपछि रोनाल्डोले भने, ‘गत वर्ष जितेका उपाधिहरुले यो अवार्ड जित्न सहज भयो । रियाल मड्रिडका साथीहरु र मलाई यहाँसम्म पु¥याउन सहयोग गुर्नहुने सबैलाई धन्यवाद भन्न चाहन्छु ।’
रोनाल्डोले दुई महिनाअघि फिफा वर्ष खेलाडीको अवार्ड पनि जितेका थिए । यसअघि २००८, २०१३, २०१४ र २०१६ मा बालन डी’अर अवार्ड जितेका रोनाल्डोले गत वर्ष रियाल मड्रिडबाट ४२ गोल गर्नुका साथै पोर्चुगललाई विश्वकपमा छनोट गराउने क्रममा १५ गोल गरेका थिए । युरोपियन च्याम्पियनसिपमा आयोजक फ्रान्सलाई हराउँदै उपाधि जित्दा पोर्चुगलको नेतृत्व गरेका रोनाल्डोले रुसमा हुने विश्वकपमा राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने छन् ।
२००७÷०८ मा म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगको उपाधि जिताएपछि पहिलो पटक बालन डी’अर को उपाधि जितेका रोनाल्डो र मेसीले पछिल्लो एक दशक पालौपालो यो अवार्ड जितेका छन् ।
‘अझै केही वर्ष यो स्तरमा खेल्न सक्ने विश्वास छ । आशा गरौं, मेसीसँगको प्रतिस्पर्धा कायम रहनेछ,’ रोनाल्डोले थपे, ‘यो सिजन राम्रै महशुस गरेको छु । हेरौं वर्षको अन्त्यसम्म हामी के जित्न सक्छौं ।’
बेर्नाबेउमै करियर अन्त्य गर्ने बारे रोनाल्डोले थपे, ‘मड्रिडमा म खुशी छु । सम्भव भएसम्म म यही रहन चाहन्छु ।’
फिफासँगको सहकार्य टुटेपछि फ्रान्स फुटबल म्यागजिनले एकल रुपमा बालन डी’अर अवार्ड प्रदान गरेको यो दोस्रो पटक हो । पहिलो पटक १९५६ मा इङ्ल्यान्डका स्टेनली म्याथ्युजले जितेका थिए । गत वर्ष पाँचौं स्थानमा रहेका ब्राजिलका फरवार्ड नेइमार यसपाली तेस्रो स्थानमा रहे । बार्सिलोनाबाट कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) गएका नेइमारले यो सिजन १५ गोल गरिसकेका छन् । नेइमारबारे रोनाल्डोले भने, ‘उनी ठूलो सम्भावना बोकेका प्रतिभावान खेलाडी हुन् । भविष्यमा उनले जित्ने सम्भावना बलियो छ ।’
युभेन्ट्सका भेट्रान गोलकिपर जियानलुइजी बुफोन चौथो स्थानमा रहँदा रियालकै लुका मोडरिच पाँचौं स्थानमा रहे ।

Leave A Comment