धरानको रंगमञ्चमा नयाँ पुस्ता

मङ्गलबार, ०४ पुष २०७४, ०९ : ४८ राेहित रार्इ
धरानको रंगमञ्चमा नयाँ पुस्ता

धरान ९, गौतम पथस्थित रंगभूमि एकेडेमीको हल । जहाँ दिनहुँ युवायुवती भेला हुन्छन् । घरबाट क्याजुल डेसमा हिँडेका उनीहरु हलमा पुगेपछि भने गाउँले परिवेशको पहिरनमा हुन्छन् । एक्सन र कट आवाजसँगै उनीहरु सामान्यबाट घरी गम्भीर हुन्छन्, घरी रुन्छन्, चिच्याउँछन् ।
एकेडेमी नयाँ नाटक ‘इङघङ’ मञ्चनको तयारीमा छ । त्यसैको रिर्हसलमा युवायुवती गएको तिहारयता एकेडेमीको हलमा भेला भएका हुन् । ‘इङघङ’ सुदूर पूर्वमा बसोबास गर्ने जाति लिम्बू भाषाको शब्द हो, जसको अर्थ खबर, समाचार वा सन्देश भन्ने हुन्छ । एकेडेमीका विष्णु मोक्तानको लेखन तथा निर्देशन रहेको यो नाटक कुनै बाधा अवरोध नभए आगामी पुस २० देखि २५ गतेसम्म धरानको सहभागृहमा मञ्चन हुनेछ । यो नाटकले छुवाछुत, अन्धविश्वास र शिक्षाको त्रिकोणात्मक विषयलाई उठान गरेको छ । करिब २ वर्षअघि रंगभूमिले ‘अब टाउको कहिले हल्लिन्छ’ शिर्षकको नाटक सभागृहमा नै मञ्चन गरिसकेको थियो ।
लामो समय सुस्ताएको धरानको रंगमञ्चमा रंगभूमिले ५ दिन नाटक मञ्चनको तयारी गर्नु रंगमञ्चको लागि सुखद् पक्ष हो । अझ यसका कलाकारहरु अधिकांश नयाँ पुस्ताका छन् । जुन धरानको रंगमञ्चका लागि आशालाग्दो भविष्य भएको कलाकारहरु बताउछन् । ‘हामीसँग धेरैजसो नयाँ कलाकारहरु छन् तर यो नाटकमा धरानका सबै रंगकर्मी, कलाकार, चलचित्रकर्मीलाई पनि समेटेका छौं,’ निर्देशक मोक्तानले भने ।
‘इङघङ’ नाटकमा तुलसा थापा, हरि लिम्बू, मिलन चाम्लिङ, प्रेसिका निरौला, सोनाम मगर, उदिप लिम्बू, कुमारी राई, शंकर थापा, दिपेन्द्र सिं दर्नाल, निश्चल कुलुङ, गेबी लिम्बूलगायत कलाकारहरु छन् । यी सबै प्रायःनयाँ पुस्ताका कलाकार हुन् । ‘धरान पहिला रंगकर्मीहरुको थलो थियो, पछि सुस्तायो । अब फेरी रंगमञ्च, नाटकको महोल निर्माण गरौं भनेर हामी युवाहरु जुटेका छौं,’ मोक्तानले थपे । रंगभूमि करिब ७ वर्षअघि स्थापना भएको थियो ।
रंगभूमि एकेडेमी मात्र होइन, पछिल्लो २ वर्षयता धरानमा आरम्भ नाट्य डबली र थिएटर सहारा पनि सक्रिय भएको छ । यी नाट्य समूहहरु सक्रिय हुँदा धरानको रंगमञ्चले पुरानै अवस्थामा फर्कन्छ कि भन्ने आशा पनि जगाएको छ । यस बीचमा आधा दर्जन बढी नाटक मञ्चन भइसकेको छ भने रंगमञ्चमा नयाँ पुस्ताको सुखद् आगमन भएको छ । जसले धरानको रंगमञ्चलाई निरन्तरता दिनेमा अग्रज कलाकार एवं रंगकर्मीहरु आशावादी छन् । ‘नयाँ पुस्ता आएर क्रियाशील भइरहेका छन्, रंगमञ्चको लागि यो ज्यादै सुखद् कुरा हो । भविष्यमा रंगमञ्चलाई उनीहरुले नै अघि बढाउछन् भन्नेमा आशावादी छौं,’आरम्भका अध्यक्ष एवं अग्रज रंगकर्मी गोपाल देवानले भने, ‘हामीले ट्रेनिङ र पर्फमेन्सलाई सँगै अघि बढाइरहेका छौं ।’
२०४५ सालमा स्थापना भएको आरम्भ २०५७ सालसम्म मात्र क्रियाशील थियो । लामो समयपछि पुनरागमन जनाएको आरम्भले तीन चरणमा अभिनय प्रशिक्षण एवं कार्यशाला सञ्चालन गरिसकेको छ । यसले नयाँ पुस्ता रंगमञ्चमा जन्माउन मद्दत पुगेको छ । पुनरागमन जनाएयता मात्र आरम्भले अधुरो क्यानभासको सिक्वेल, अर्को लंका फेरि ध्वस्त हुने छैन, मूक नाटक हस्तान्तरण, अँध्यारो सुरुङभित्र, पञ्चिते मामा र सडक नाटक ‘जब बिहान हुुन्छ’ मञ्चन गरिसकेको छ । ‘यी नाटकहरुमा अधिकांश नयाँ पुस्तालाई नै प्रस्तुत गरेका छौं,’ देवानले भने । आरम्भको प्रशिक्षणबाट कमानसिं यम्फु, दिलिप रोनाहाङ, तीर्थ बिक, सन्देश क्षेत्री, सविना राई, गंगा मगर, रस्मी तामाङ, मञ्जु भट्टराईजस्ता क्षमतावान कलाकारहरु धरानको रंगमञ्चमा देखापरेका छन् ।
करिब डेढ वर्षअघि पुनर्गठित थिएटर सहराले पनि एक वर्षअघि ‘पुच्छर मान्छे’ नाटक मञ्चन गरेको थियो । सामाजिक, राजनीतिक व्यङ्ग्य बोकेका नाटकमा नयाँ र पुराना कलाकारहरुको मिश्रण थियो । नयाँ कलाकारहरु दिपेन्द्र सिंह दर्नाल, प्रेसिका निरौला, हरि लिम्बू, इन्द्र लिम्बू, देवी लिम्बूलगायतले उक्त नाटकमा मौका पाएका थिए । २०५२ सालमा स्थापना भएको सहारा नाट्य जमातलाई पुनर्गठन गरी थिएटर सहारा बनाइएको हो । ‘नयाँ पुस्ता रंगमञ्चमा आएका छन्, अब रंगमञ्चलाई नयाँ तरिकाबाट उचाईमा पु¥याउछ भन्ने लाग्छ,’ सहाराका संरक्षक एवं अग्रज रंगकर्मी नवीन मेयाङ्बोले भने,‘सूचना प्रविधिको विकासले रंगमञ्चलाई पनि वैज्ञानिक बनाएको छ, नयाँ पुस्ता धेरै आशालाग्दा छन् ।’ सहारा थिएटरकै स्थानीय व्यवस्थापनमा मंगला थिएटरले भानुचोकमा मनचिन्ते फिरन्ते र सभागृहमा दयाहाङ राई निर्देशित डिग्री माइलाको मञ्चन भएको थियो ।
धरानमा २०३५ देखि ४८ सालसम्म रंगमञ्चको उर्वर समय थियो । राजधानीलाई पनि चुनौती दिने त्यसबेला धरानको रंगमञ्चको स्वर्णिम कालखण्ड मानिन्छ । पचासको दसकको अन्त्यसम्म पनि धरानको रंगमञ्च चलायमान नै थियो । त्यस समयमा धरानमा अनाम नाट्य समूह, आरम्भ नाट्य समूह, हाम्रो नाट्य समूह, सहारा नाट्य समूह, छिमेकी नाट्य समूह, सृष्टि नाट्य समूहलगायत थुप्रै समूहहरु सक्रिय रहेको थियो । रंगकर्मीहरुका अनुसार ५० को दसकमा धरानमा दैनिक ३ वटासम्म नाटक मञ्चन हुने गथ्र्यो तर साठीको दसकपछि धरानको रंगमञ्च सेलाउन पुग्यो ।

Leave A Comment