दलालको फन्दामा महिला

मङ्गलबार, ०४ पुष २०७४, १० : ०४ रुद्र खड्का
दलालको फन्दामा महिला

रोजगारीका लागि जापान जाने हो भने सजिलै पठाउन सकिने आश्वासन पाएपछि झापा, सतासीधाम–८ की २८ वर्षीया सन्चरानी पोङ्हाङ्ले दलाललाई ६ लाख रुपैयाँ खुरुक्क बुझाइन् ।
रकम नपाउँदासम्म जापानको रोजगारी बारेमा सधैँ बखान गरिरहने दलालले रकम कुम्ल्याएपछि भने सन्चरानीलाई भेट्नै छाडे । आज/भोलि भन्दै पाँच महिनासम्म दलालले सन्चरानीलाई जापान नपठाएपछि यतिखेर उनी आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दलाल मनकुमार तुम्वापोलाई कारबाहीको माग गर्दै निवेदन दिएकी  छिन् ।
‘जापान पठाउने भनी लिएको ६ लाख रुपैयाँमध्ये तीन लाख रुपैयाँ त फिर्ता लिएँ,’ उनले भनिन्, ‘बाँकी तीन लाख रुपैयाँ फिर्ताबारे कुरा नमिल्दा विभागको सहारा लिनु पर्ने बाध्यता आइलागेको छ ।’ दलालले सन्चरानीलाई जापान पठाउने भने पनि रसियाको भिसा लागेको पासपोर्ट फिर्ता गरेको छ । सन्चरानीका अनुसार दलालले लामो समयसम्म जापान नपठाएपछि शंका लागेर सोधीखोजी गर्दा ठगी गर्ने नियत खुलेको हो । उनले भनिन्, ‘छिटो जापान पठाउन आग्रह गर्दा दलालले भारतको नयाँ दिल्ली जानु पर्ने प्रस्ताव राख्यो । अनि सबै कुरा बुझ्दा उसको ठगी र शारीरिक शोषण गर्ने नियत  रहेछ भन्ने पुष्टि भयो ।’
टर्की जाने चाहनाले गाउँको पसल बिक्री गरेर म्यानपावरलाई पाँच लाख रुपैयाँ बुझाएकी जेठला–८ दोलखाकी लक्ष्मी तामाङको वैदेशिक रोजगारी पनि सफल हुन सकेन ।  गाउँमै भइरहेको आम्दानीप्रति सन्तुष्टि हुन नसकेपछि २९ वर्षीया लक्ष्मीले पसल बेचेको रकम म्यानपावरलाई बुझाएकी थिइन् । दलाल र म्यानपावरको  लहलहैमा युरोप जान खोज्दा यतिखेर उनलाई दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या आइलागेको छ ।
 पाँच लाख रुपैयाँमा पसल बिक्री गरेर टर्की गएकी लक्ष्मी वैदेशिक रोजगारीको ४१ दिनमै टुंगिएपछि घर फर्केकी हुन् । एलएलसीसम्म अध्ययन गरेकी लक्ष्मीलाई डिभाइन इनसाइट ओभरसिजले टर्की पु¥याएको थियो । ‘म्यानपावरले दैनिक आठ घण्टा मात्र काम गर्नुपर्ने भनेको थियो,’ हाउसमेड भिसामा टर्की गएकी लक्ष्मीले भनिन्, ‘त्यहाँ त दैनिक १६ घण्टासम्म काममा लगाउने र सानोतिनो गल्ती हुँदा पनि कुटपिट हुन थालेपछि घर फर्कन बाध्य भएँ ।’ काम गर्ने स्थलमै कुनै दिन नचिनेका केटाहरू पुगेर  दुव्र्यवहार गर्ने प्रयाससमेत गरेको उनले जानकारी दिइन् ।
पछिल्लो समयमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या घट्दै गएपछि म्यानपावर र दलालको ध्यान महिलातिर तानिएको छ । तिनै दलालको फन्दामा महिला पर्ने गरेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सहायक निर्देशक ताराबहादुर कुँवरका अनुसार महिलालाई झुक्याएर विदेश पठाउन खोज्ने गिरोह सक्रिय भइरहेको छ ।
अवैध चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पु¥याउने गिरोह सक्रिय भएको वैदेशिक रोजगार विभागका कर्मचारीहरू बताउँछन् । ‘चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा निकै जोखिम हुन्छ भनेर जानकारी दिइरहेका छौं,’ कुँवरले भने, ‘तैपनि महिलालाई बाहिर पठाउने गिरोह सक्रिय भइरहेको छ । यसको रोकथामका लागि सबैको सहयोग आवश्यक छ ।’
दलालले बढीमा एसएलसीसम्म अध्ययन गरेका, विवाहित त्यसमा पनि पति र घरपरिवारसँग राम्रो सम्बन्ध नभएका महिलाहरूलाई झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेको सरकारी कर्मचारी बताउँछन् । गाउँमा सामान्य जीवन बिताइरहेका युवतीसँग सुरुमा मायाप्रेमको नाटक गर्ने र विस्तारै उनीहरूको रकम कुम्ल्याउन दलालले वैदेशिक रोजगारीका लागि चोरीको बाटो प्रयोग गर्ने गरेका छन् ।
झुक्याएर महिलालाई वैदेशिक रोजगारीमा पठाउने धेरैजसो दलालले भारतीय बाटो प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फाटफुट रूपमा भुक्याएर वैदेशिक रोजगारीमा पठाउन थालेका महिलालाई रोेक्ने गरे पनि यो समस्यालाई रोक्न अन्य सरकारी निकाय सक्रियपूर्वक नलागेको अधिकारवादी बताउँछन् । विभागका एक कर्मचारी भन्छन्, ‘अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा पुगेका अधिकांश महिला आर्थिक र शारीरिक रूपमा शोषणमा परेका हुन्छन् ।’
त्यस्तै, नेपाल सरकारले श्रम स्वीकृति दिने गरेका एक सय ६ देशमध्ये (हालै बन्द गरिएका अफगानिस्तान, सिरिया, लेबनान र इराक) महिला पठाउनै नमिल्ने देशमा म्यानपावरले महिलालाई पठाएर शोषण गर्ने गरेको कर्मचारी बताउँछन् । ‘सामान्य पढलेख गरेका र सम्बन्धित देशको भाषा नबुझ्ने महिलालाई पनि दलाल र म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने गरेका छन्,’ वैदेशिक रोजगार पीडित फुर्वा शेर्पाले भनिन्, ‘जानै नमिल्ने अवस्थामा पनि सरकारी कर्मचारी, दलाल र म्यानपावरको सेटिङले महिला विदेश पठाउने गिरोह सक्रिय छ । रोजगारीका लागि विदेश  पुगेपछि मात्र यथार्थ कुरा खुल्छ । तबसम्म पीडितले धेरै गुमाइसकेको हुन्छ ।’ उनी पनि चार महिना अघि साइप्रसबाट फर्केकी हुन् । कतिपय देशमा महिलालाई पर्यटक भिसामा पठाउने गिरोह पनि उस्तै सक्रिय छ ।

‘दलालले एक लाख र राहदानी गायब बनायो’

सविना लामा
पीडित

मेरो घर सिन्धुपाल्चोकको स्याली हो । अध्ययन सामान्य लेखपढ मात्रै हो । संयुक्त अरब इमिरेट्स जान दलाललाई एक लाख रुपैयाँ दिएकी थिएँ ।  रकम दिएपछि विदेश जान पाइने आशा थियो । गाउँकै चिनेजानेका साथीको लहलहैमा लागेर दलाललाई रकम बुझाएकी हुँ । तर, अहिलेसम्म दलालको नाम र ठेगाना थाहा छैन ।
रकम लिनु अघि दलालले सिनामंगलमा रहेको एउटा म्यानपावर कम्पनी आफ्नो हो भनेर देखाएको थियो  । तर, त्यो त उसको रहनेछ । पछि पो थाहा भयो । विदेश पठाउनु अघि निकै मिठा कुरा गरेको थियो ।   दलालले मिठा कुरा गर्नुको कारण झुक्याउनलाई पो रहेछ । रकम लिने व्यक्ति फरार भएपछि सोधीखोजी गर्दै काठमाडौंसम्म आएँ । तर अहिलेसम्म दलाल फेला परेको छैन । नबुझिकन रकम बुझाउँदा एकातिर विदेश जाने सपना चकनाचुर त भयो नै साथै बडो मुश्किलले जम्मा गरेको रकम पनि गायब भयो ।


 

Leave A Comment