जाडो बढ्यो, दिन छोटो भयो । कार्यालयदेखि घर फर्कँदा होस् वा कतै पुगेर फर्कँदाफर्कँदै किन नहोस्, रात परिहाल्छ । रात पर्नासाथ भुस्याहा कुकुरले टोक्ला कि भन्ने डर दिनको तुलनामा बढी हुन्छ । हुन त नेपाल सरकारले कुकुर व्यवस्थापन गर्न करोडौं खर्च गरेको छ तर खासै उपलब्धिमूलक बन्न सकेको छैन । यस्तो अवस्थामा कुकुरदेखि आफैँ जोगिएर हिँड्नुको विकल्प नभएको बताउँछन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका जनरल फिजिसियन डाक्टर शेरबहादुर पुन ।
यदि कुकुरले टोकिहाले पनि काम सकेर खोप लगाउँछु नभनी तुरुन्तै खोप लगाउन पुन सुझाउँछन् । उनका अनुसार यो जति त्रासयुक्त रोग हो, त्यति नै बेवास्ता गरिएको वा कम चर्चामा आउने रोग पनि हो । हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ तर अन्य रोगजस्तै मुटु रोग, मधुमेह, क्यान्सर दिवस जस्तो व्यापकरूपमा मनाईँदैन पुनले दुःखेसो पोख्दै थपे, ‘अरू रोग लागिसकेपछि औषधिले भए पनि धेरै समय बिरामीलाई बचाउन सकिन्छ तर रेबिज एकपटक लागिसकेपछि, यसका लक्षण देखिन थालेपछि धेरै समय बचाउन सकिँदैन ।’
पुनका अनुसार काठमाडौं उपत्यकामा मात्रै वर्षेनी १६ जनाको हाराहारीमा रेबिज लागेका मानिसको मृत्यु हुने गरेको छ । टेकुबाहेक अन्य अस्पतालको समेत जोड्ने हो भने वर्षेनी यस रोगका कारण सयौं मानिसको मृत्यु हुने उनी बताउँछन् । रेबिज लागेका जनावरले टोकेको दश दिनमै यो रोग लाग्छ । प्रायः सबैखाले जंगली तथा घरपालुवा जनावरले टोकेमा यस विरुद्धको सुर्ई लगाइहाल्नुपर्ने पुनको सुझाव छ ।
जनावरमा रेबिज रोगका लक्षण
रेबिज रोगले ग्रसित जनावर बिरामी परेकोजस्तो देखिनुका साथै रिसाहा, झोँक्राउने, झम्टिने, जे पायो त्यो टोक्ने स्वभावका हुन्छन् । पशुमा हुने यिनै बाह्य लक्षणका कारण यो रोगलाई सामान्य बोलचालको भाषामा बहुलाहा कुकुर वा बहुलाहा जनावर भनिएको हो । रेबिज हुने सम्भावना अन्य जनावरको तुलनामा भुस्याहा कुकुरमा ९९ प्रतिशत हुन्छ । यसबाहेक कुनै–कुनै रोगबाट ग्रसित जनावरमा शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्छ ।
प्रायः रात्रिकालीन समयमा विचरण गर्ने जंगली जनावर दिउँसै बस्तीमा भौँतारिन वा अनौठो व्यवहार देखाउन थाल्यो भने रेबिज लागेको शंका गर्नुपर्छ । जस्तो स्याल, फ्याउरो, चमेरो वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाए वा अति नै मैत्री स्वभाव देखाएमा रेबिज रोग लागेको शंका गर्न सकिन्छ ।
मानिसमा रेबिज रोगका लक्षण
मानव शरीरमा रेबिज भाइरस प्रवेश गरेदेखि लक्षण देखापर्न ३० देखि ६० दिन लाग्छ । तर, कम्तीमा १० दिनमै वा वर्षौंपछि पनि देखा पर्न सक्छ । प्रायः टोकेको ठाउँमा दुख्ने, झमझमाउने, एक्कासि चिलाउनेजस्ता पहिलो लक्षण देखिन सक्छ । त्यसपछि ज्वरो आउनु, जाडो लाग्नु, थकित हुनु, शरीरका मांसपेशी दुख्नु र झर्कनेजस्ता लक्षण बिरामीमा देखिन सक्छ । क्रमशः बिरामी दिग्भ्रमित हुने, बाझ्ने, विनाकारण काम्ने, बेसुर हुने लक्षण देखिन सक्छ ।
रेबिजको पूर्ण तथा अन्तिम अवस्थामा भने श्वास फेर्न तथा खानेकुरा निल्न नसक्ने, मांसपेसीमा नियमित–अनियमितरूपमा खुम्चने, कम्पन हुने र बिरामीलाई पानीसम्म निल्न गाह्रो हुन्छ । त्यस्ता बिरामीका नजिक पानी राख्दा तर्सने गर्छन् । यसलाई हाईड्रोफोबिया अर्थात् पानीबाट तर्सने रोग पनि भन्ने गरिन्छ । बिरामीको अगाडि पानी देखाउँदा रेबिज यकिन गर्न सजिलो हुन्छ । त्यस्तै, हावा सुँघाउँदा पनि डराउने गर्छ । त्यो अवस्थालाई एरोफोबिया भनिन्छ । यो अवस्थामा पुगेको बिरामी प्रायः बाँच्दैन ।
रेबिज रोग सार्न सक्ने जनावरले टोकेको उपचार
शंकालु पशुले टोकेमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ । ताकि चिकित्सकले कस्तो खालको जनावरले टोकेको भनी पत्ता लगाउन सजिलो होस् । नियमित सुर्ई लगाएको स्वस्थ घरपालुवा जनावरले टोकेको भए आत्तिनुपर्दैन । रेबिज लागेको वा शंकास्पद जनावरले टोकेको बुझिएमा औषधिको प्रयोग गर्नुपर्छ । रेबिजविरुद्ध खोप लगाउनुपर्छ, त्यो पशुले लक्षण देखाउला र उपचार गरौँला भनेर बस्नु हुँदैन । यसबाहेक टोकेको ठाउँको घाउ धुन, सफा गर्न बिर्सनु हुँदैन ।
रेबिज रोग निदान
रेबिज रोग लागेको जनावरलाई सकेसम्म मार्नु पनि हुँदैन । कम्तीमा १० दिन निगरानीमा राख्नुपर्छ र १० दिनभित्र मरेमा रोग निदानका लागि प्रयोगशाला पठाउनुपर्छ । यसो गरेमा उक्त जनावरबाट निदान गर्न चाहिने तन्तु सञ्चालन गरी चिकित्सकले परीक्षण गर्न सक्छन् । मानिसलाई रेबिज लागेको शंका लागेमा सुरुमा ज्वरो, मुटुको धड्कन दर, श्वासप्रश्वास दर र रक्तचाप जाँच्नुपर्छ । यसबाहेक घाउको अवस्था हेरी रेबिजविरुद्ध खोप लगाउनुपर्छ । टोक्ने जनावरबारे विवरण संकलन गर्नुपर्छ ।
प्राथमिक उपचार
प्राथमिक उपचार तत्काल आफैँले गर्नुपर्छ । जस्तै, साबुन पानीले घाउ धुने, आयोडिन युक्त एन्टिसेफ्टिक टोकेको ठाउँमा लगाई सफा गर्ने, ताकि रेबिजको भाइरस शरीरमा प्रवेश गर्न नपाओस् । यदि टोक्ने जनावर घरपालुवा कुकुर, बिरालो रहेछ भने उक्त जनावर स्वस्थ वा अस्वस्थ कस्तो अवस्थामा छ, चिकित्सकले घरधनीसँग बुझ्न सक्छन् । यदि जनावर फिरन्ते वा भुस्याहा, जंगली जनावर भएमा त्यसलाई नियन्त्रण्मा लिनका लागि नजिकैको पशु सरोकार निकायमा खबर गर्नुपर्छ ।
स्वास्थ्य संस्थामा गरिने उपचार
यदि साँच्चिकै रेबिजग्रस्त जनावरले टोकेको अवस्थामा तीन चरणमा उपचार गर्न सकिन्छ । पहिलो, मनोवैज्ञानिक सल्लाह । टोकेको जनावरलाई निगरानीमा राख्ने अवस्था भएमा तत्कालै उपचार नथाल्ने सल्लाह चिकित्सकले दिन सक्छन् । दोस्रो, घाउको सफाइ । भाइरस मार्न सक्ने खालका एन्टिसेफ्टिकको प्रयोग मात्र गर्नुपर्ने हुन सक्छ । अर्को, एकपटक मात्र लगाउनुपर्ने ह्युमेन रेबिज इम्युन ग्रोबिन खोप लगाउँदा राम्रो हुन्छ । तर, खोप लगाउँदा कतिवटा, कतिपटक कुन–कुन समयमा कसरी लगाउने वा लगाएको भन्ने ख्याल गर्नुपर्छ ।
Leave A Comment