सञ्जाले समाजसेवी

शुक्रबार, ०७ पुष २०७४, ०९ : ५८ शुक्रवार
सञ्जाले समाजसेवी

अधीशकुमार

झट्ट शाब्दिक अर्थ निकाल्दा समाजको सेवा गर्नुु नै  समाज सेवा हो भन्नेमा दुईमत रहेन । दर्तावाल देशी–विदेशी संस्थादेखि हर्ताकर्तावाला सेलिब्रेटीका घरेलु समाजसेवी उद्योग यत्रतत्र व्याप्त छन् । पछिल्लो समय समाजसेवी उद्योगमा सामाजिक सञ्जालले पूरै हस्तक्षेप गरेको छ । सत्ता कब्जा गरिसकेपछि नियम–कानुन बदलिने नै भए, समाजसेवाको परिभाषा पनि परिमार्जन, परिवर्तन गरिएको छ । फेसबुके, ट्विटे समाजसेवीका अनुसार समाजसेवा भनेको दायाँ हातले लिएर बायाँ हातले दिने कार्य हो, तर दायाँ हातमा आएकोबाट बायाँ हातले दिएको घटाउँदा शून्य हुन जरुरी छैन । यसको थप व्याख्या सामाजिक सञ्जाले समाजसेवीले नगरे पनि हामी चटकेले त गरेका छौँ । हामी थप्छौँ– समाजसेवाको नाममा गरिएको चन्दा संकलन र वितरणका बेला पेट्रोल खर्च, पकेट खर्च, प्रेमिका खर्च आदि पनि चाहिन्छ, जसले दायाँ हात माइनस बायाँ हात बराबर शून्य हुन सक्दैन ।

समाज सेवाका प्रकार पनि थरीथरीका छन् । रक्तदानदेखि गाँजापानसम्म, बिरामी बचाऔँदेखि प्रेमी–प्रेमिका टिकाऔँसम्म, स्ट्रिट कलेक्सनदेखि क्लब डिस्ट्रिब्युसनसम्म सञ्जाले समाजसेवी सक्रिय छन् ।
रक्तदान गराउने समाजसेवीलाई रक्तदाता चाहिन्न, अस्ट्रेलिया, अमेरिका, जापान भासिएका डलरे विद्यार्थी भए पुग्छ । उताबाट तलबभत्ता आएपछि रेडक्रसबाट फलफूल–पानी किन्छन्, दुई–चार वचन टार्न नसक्ने साथीको रगत भर्छन्, डिएसएलआरमा पाँच–सातवटा फोटो उतार्छन् र दिनभरिमा प्रोजेक्ट सफल भएको खुसियाली मनाउन रात्रिकालीन गाँजापान कार्यक्रम गर्छन् । रमाइलो त के छ भने, रक्तदान कार्यक्रमकै भोलिपल्ट भाइरल गराउन अनुरोधसँगै यिनीहरुकै म्यासेन्जर पोस्ट आउँछ– ए पोजेटिभ रगत दुई पिन्ट तु चाहियो ।

बिरामी बचाऔँ समाजसेवी भने निकै नै त्यागी समाजसेवी हुन् । मर्न लागेको मान्छेलाई बचाउने यिनीहरु सर्वप्रथम धनी भेडा धेरै भएको क्षेत्रको बिरामी खोज्न अस्पताल धाउँछन् । पछिल्लो समय अपग्रेड भएर यो सेवाकर्ममा नर्स, डाक्टरहरुलाई नै समावेश गराई सहज बाटो खनेका छन् । बिरामी भेटिएपछि केही थान अति सिकिस्त देखाउने तस्बिर सामाजिक सञ्जालमा भाइरल गराउँछन् । सकेसम्म धेरै पैसा उठाएर बिरामी उपचार गरी केही रकम बाँकी रहेको र त्यो अर्को प्रोजेक्टका लागि बचत गरेको भन्छन् । अर्को प्रोजेक्ट के भनेर नखुलाए पनि धेरैजसोले  प्रेमी–प्रेमिका बचाऔँ अभियानमै लगानी गर्ने गरेका छन् । यिनीहरु भने भगवान्को अवतार नै हुन्, किनकि न राज्यले केही गर्छ, न त फेसबुक ट्विटरका चटके केही सोध्न पाउँछन् । कसैले केही सोध्न खोजिहाले दाह्री–कपाल पालेका दुई–चार यमदुत उत्तर दिन हरदम तयार हुन्छन् । गरिब, विपन्नलाई सरकारले दिने सहुलियत यिनीहरु लिँदैनन्, सरकारलाई भार पर्छ, व्यवसायमा मार पर्छ भनेर हो रे । अचम्मको कुरा के भने, यिनीहरुले उपचार गराउने बिरामीको नजिकको आफन्त सधैँ जँड्याहा निस्कन्छ र त्यही कारण पैसाको जिम्मा परिवार सदस्यलाई लगाउन पनि नमिल्ने बताउँछन् ।  यो सेवाकर्ममा अलि भीषण रुपले खटिनु, खानुपर्ने भएकाले छद्मभेषी बनेर सेवा गर्नेहरुको संख्या धेरै छ । म नामका लागि सेवा गर्दै छु, समाजका लागि सेवा गर्दै छु भन्दै बेनामी बाबाहरु यो कार्यमा खटिन्छन् । पत्याउने पनि कस्ता–कस्ता,  पिच गरेको भोलिपल्ट पिच नसुक्दै सडकमा गाडी चलाउने अनि पर्सिपल्ट ठेकेदारलाई गाली गर्ने जनता यिनीहरुलाई आँखा चिम्लिएर सहयोग गर्छन् । दारीवाल यमदूतलाई सहज होस् भनेर हिसाबकिताब माग्नेलाई गाली गर्नु यिनीहरुको साइड बिजनेस हो । अनि, ती छद्मभेषी पैसा पच पार्न पूर्णरूपमा सफल भएपछि त्यो अस्तिको केसको नाइके मै हुँ भन्दै झुल्किन्छन् । बाढी–पहिरो, आगलागी जस्ता विपत्ति, प्रलय आइपरे यिनीहरु फिल्ड परिवर्तन गर्छन् । अध्ययनका अनुसार, यो प्रकारका समाजसेवीको संख्या ०७२ सालको भुइँचालोपछि व्यापक रुपमा बढेको छ ।

रक्तदान हुँदै गाँजापान गर्ने समाजसेवी हुन् वा बिरामी बचाऔँबाट प्रेमी–प्रेमिका बचाऔँसम्म पुग्ने समाजसेवी हुन्, यिनीहरुको धेरै कुरामा मतभेद भए पनि एउटा कुरामा चैँ समानता छ । यिनीहरुको बिदाको समय बिताउने काइदाबाट भने नासाकै वैज्ञानिक पनि अचम्ममा पर्छन् होला । यिनीहरु बिदाका बेला सुतेर दिन कटाउँदैनन्, बरु सडक चोक चहार्छन् स्ट्रिट कलेक्सनको नाममा । चोकचोक गएर बटुवाजनबाट सकेसम्म पैसा थुत्छन्, बिरामीको नाममा । अनि, बनाउँछन्, दसैँ–तिहारको बीचमा मुस्ताङ जाने खर्च । अलि थोरै संकलन भए नाइट क्लबमा डिस्ट्रिब्युसन गर्दा ठीक हुने आकलन गर्छन् । स्ट्रिट कलेक्सनदेखि क्लब डिस्ट्रिब्युसनसम्म  भएन त काइदा ! यतिमै यिनीहरुको समाजसेवा सकिन्न । एक लाख जतिसँग एक–एक रुप्पे उठाएर दुर्गममा लाइब्रेरी बनाउनेदेखि सय सय रुप्पे उठाएर सुन्धारामा ढलेको धरहरा ठड्याउनेसम्मका रास्ट्रिय अन्तर्राष्ट्रिय प्रोजेक्टको यात्रामा यिनीहरु लामबद्ध छन् । पशुपतिनाथले यिनीहरुको रक्षा गरुन् ।

Leave A Comment