२५ वर्षभन्दा कमका युवा कन्डम प्रयोग गर्दैनन् किन ?

शुक्रबार, ०७ पुष २०७४, १० : ०३ शुक्रवार
२५ वर्षभन्दा कमका युवा कन्डम प्रयोग गर्दैनन् किन ?

लिन्डसे ब्राउन
बेलायतका १६ देखि २४ वर्ष उमेर समूहका युवा केटा यौन सम्बन्ध राख्दा कन्डोम प्रयोग नगर्ने गरेको तथ्य बाहिर आएको छ । त्यसैले उनीहरुले कण्डोम प्रयोग बढाऊन् भनेर बेलायती सरकारले विशेष अभियान नै सुरु गर्न थालेको छ ।
यौन स्वास्थ्यका सन्दर्भमा बेलायत सरकारले गएका आठ वर्षयता पहिलो पटक यस्तो अभियान सुरु गरेको हो । खासमा बेलायती सरकारले गरेको सर्भेमा १६ देखि २४ वर्ष उमेर समूहका आधाभन्दा बढी केटाले यौन सम्बन्ध राख्दा कन्डोम प्रयोग गर्दैनन् भन्ने देखिएको थियो । सर्भेका अनुसार हरेक दसमध्ये एक युवाले त जीवनमा कहिल्यै यौन सम्पर्कका बेला कण्डोम प्रयोग गरेका छैनन् ।
बिना कण्डोम नै यौन सम्पर्क आनन्ददायक हुने धारणा प्रवल भएका कारण नै कण्डोम प्रयोग नगर्ने गरिएको अनुसन्धानले देखाएको छ । बेलायतको रेक्सह्याम बस्ने जोर्डन नामक एक युवा भन्छन्, ‘यौन सम्बन्ध राख्ने अवसर जुरेको दुई अवसरमध्ये एक अवसर त प्रायः म कण्डोम प्रयोग गर्दिनँ । फुर्सदमा गरिने भए कुरा बेग्लै ।’
सामान्यतः यस्तो अवसर त्यस बेला जुर्छ, जब उनी रक्सीले मातेका हुन्छन् । अब रक्सीले मात्तिएर पात्तिएका बेला कण्डोम खोज्दै कहाँ जानु ? किनभने पूरापूर त्यसैको नियतले कतै गइएको हुँदैन । ‘पार्टीमा भेट हुन्छ र अकस्मात यस्तो अवसर जुर्छ,’ जोर्डन भन्छन्, ‘रक्सी खाँदाको बेफाइदा यही हो किनभने तपाईं जति बढी रक्सी पिउनुहुन्छ, त्यति बढी बेहोसी बढ्छ । जति बढी बेहोसी बढ्छ, त्यति नै बढी लापरवाही हुने सम्भावना बढ्छ ।’
त्यस्तै लिडिया पनि रक्सी पिएका बेला सुरक्षित यौन सम्बन्धको सम्भावना निकै कम हुने स्वीकार्छिन् ।
अपराधबोध
सर्भेमा के पनि पाइएको छ भने आधाभन्दा बढी मानिस नसामा भएका कारण कण्डोम प्रयोग गर्दैनन् । यस किसिमको यौन सम्बन्ध राखेको भोलिपल्ट केटा र केटी दुवैलाई अपराधबोध महसुस हुने गर्छ । त्यसैले जाँचका लागि कैयौँ पटक उनीहरु यौन सम्बन्धको केही सातापछि क्लिनिक जाने गरेका छन् ।
कण्डोम किन प्रयोग गर्दैनन् त युवा ? यसको जवाफ उनीहरुले दिएका थिए– सेक्स पार्टनरले गर्भनिरोधक औषधि प्रयोग गर्ने गरेको छ भने हामीले किन कण्डोम प्रयोग गर्ने ?
२० वर्षीया एली विद्यार्थी हुन् र उनलाई अचानक जुर्ने यौन सम्बन्ध एउटा सामान्य कुरा हो ।
यौन संक्रामक रोग
सर्भेमा भाग लिएकी एली भन्छिन्, ‘म जुन केटाका साथ सुतेँ, तिनलाई यौन संक्रामक रोग हुनेभन्दा पनि बढी आफू गर्भवती हुँली भन्ने चिन्ता थियो ।’ गर्भ रह्यो भने यसको जिम्मेवारी केटोको पनि हुन्छ । यदि कुनै संक्रामक रोग भयो भने मात्र केटीका लागि पनि टेन्सन हुन्छ । केटीले गर्भनिरोधक औषधि खाइरहेकी छे भने यसको अर्थ केटाले कण्डोम प्रयोग गर्नु आवश्यक छैन ।’
सन् २०१६ मा बेलायतमा क्लामेडिया र गोनोरियाजस्ता यौन संक्रामक रोगबाट १५ देखि २४ वर्ष उमेर समूहका करिब डेढ लाख मानिस पीडित थिए ।
२४ वर्षका जेस्सी भन्छन्, ‘मलाई यी दुवै रोग लागेको थियो किनभने मैले कण्डोम प्रयोग गरेको थिइनँ । जसै मैले यो पीडा भोगेँ, कण्डोम प्रयोग गर्न कहिल्यै बिर्सिइनँ ।’
कण्डोमको प्रयोग
जेस्सी भन्छन्, ‘त्यो पक्कै पनि गतिलो अनुभव थिएन । पेट र तिघ्राबीचमा बडो नमीठो पीडा हुन्थ्यो र पिसाब गर्दा पनि पोल्थ्यो । योभन्दा पनि पीडाको कुरा त के थियो भने मैले हालकी यौन साथी र पूर्व यौन साथीलाई समेत आफू यस किसिमको रोगी भएको र सारिदिएकोमा दुःखी भएको भन्दै क्षमा माग्नुप¥यो । उनीहरुले पनि क्लिनिक गएर उपचार गर्नुप¥यो ।’
हुन त जेस्सीले यस किसिमको अनुभवपछि कण्डोम प्रयोग गर्न थाले । अर्कोतर्फ चिकित्सकहरुलाई के कुराले सताइरहेको थियो भने गनोरियामा एन्टिबायाटिक औषधिले पहिलेकै जस्तो मज्जाले काम गर्न छाडिसकेको छ ।
डाक्टर सारा केयाट भन्छिन्, ‘यौन संक्रामक रोगबाट बच्ने सबैभन्दा राम्रो तरिका भन्नु नै कण्डोमको प्रयोग गर्नु हो । त्यसभन्दा अर्को उपाय छैन ।’

Leave A Comment