किम्फमा ‘दी लास्ट हनी हन्टर’लाई दुई अवार्ड

शुक्रबार, ०७ पुष २०७४, १० : १९ शुक्रवार
किम्फमा ‘दी लास्ट हनी हन्टर’लाई दुई अवार्ड

भीरमा मह काढ्ने कुलुङ राईको परम्परामाथि बनेको वृत्तचित्र ‘दी लास्ट हनी हन्टर’ले राजधानीमा सोमबार सम्पन्न १५ औं संस्करणको ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा दुई अवार्ड जितेको छ । ३५ मिनेट लामो यो वृत्तचित्रले ‘नेपाल पनोरमा’ अन्तर्गत ‘अडियन्स अवार्ड’ र ‘स्पेशल जुरी मेन्सन’ अवार्ड जितेको हो । यो वृत्तचित्र अमेरिकी नागरिक बेन नाइटले निर्माण तथा निर्देशन गरेका हुन् । उनले नेपालमा निर्माण गरेको यो पहिलो वृत्तचित्र हो ।

हिमाल एसोसिएसनको आयोजनामा भएको पाँचदिने फेस्टिभलमा धौलागिरी हिमाल आरोहणका विषयमा निर्माण गरिएको वृत्तचित्र ‘धौलागिरी, एसेन्ट टु दी ह्वाइट माउन्टेन’ले ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा’ विधामा पहिलो बन्यो । अर्जेन्टिनाका दुई युवा गुइलेर्मा ग्लास र क्रिस्टियन हार्बरुकले हिमाल आरोहणमा गुमाएका आफ्ना साथीको सम्झनामा  निर्माण गरेको वृत्तचित्रले १५ सय अमेरिकी डलरको पुरस्कार पायो ।
यसै विधाअन्तर्गत रोजगारीका लागि अमेरिकामा पुगेका शेर्पा समुदायको कथा समेटिएको वृत्तचित्र ‘शेर्पा स्टीऊ’ले १ हजार रुपैयाँ अमेरिकी डलर राशिको दोस्रो पुरस्कार जित्यो । अमेरिकी नागरिक एन्डी ककरमले निर्माण र निर्देशन गरेको वृत्तचित्रमा आरोही निमा दावा शेर्पा र किपा शेर्पालाई पात्र बनाउँदै अमेरिकाको न्यूर्योकमा बस्दै आएका शेर्पा समुदायको संघर्षलाई प्रस्तुत गरिएको छ । त्यस्तै कोरियन ओपेर गायक जाइ चाङ किमले भारतको पुनेमा सुकुम्बासीका छोराछोरी र उनीहरुको परिवारका लागि गरेको कन्सर्टबारे निर्माण गरिएको वृत्तचित्र ‘सिङगिङ विथ एङ्ग्री बर्ड’ले ५ सय अमेरिकी डलर प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझायो ।

प्रतियोगितामा ‘नेपाल पनोरमा’ अन्तर्गत अस्मिता श्रीषले निर्माण गरेको वृत्तचित्र ‘ग्याल्मुज हाउस’ले ५० हजार रुपैंयाँसहित ‘बेस्ट डकुमेन्ट्री फिल्म’को अवार्ड चुम्यो । यो वृत्तचित्रमा दुई वर्षअघि आएको विनाशकारी भूकम्पले ध्वस्त पारेको लाङटाङ उपत्यकामा वर्षदिन पछि त्यहीँकी निमा ग्याल्मु नामकी महिलाले आफ्नो घर बनाउन गरेको संघर्षलाई देखाइएको छ ।

त्यस्तै मुगुको एक विकट गाउँमा बस्दै आएका बालिकाहरूमाथि केन्द्रित रहेर निर्माण गरिएको राजेशप्रसाद खत्री निर्देशित वृत्तचित्र ‘जालगेडी’ले ७५ हजार रुपैंयाँ राशिको ‘बेस्ट फिक्सन फिल्म’को अवार्ड जित्यो ।
फेस्टिभलमा ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ चाहिँ भारतीय वृत्तचित्र ‘कहाँ का रास्ता’ले जित्यो । सब्यसाची अन्जु प्रबीरले निर्देशन गरेको यो वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार पायो । कार्यक्रममा नेपाल फिल्म समीक्षक समाजले प्रदान गरेको ‘क्रिटिक्स अवार्ड’ फिल्म ‘ब्लड रोड’ले पायो ।
५ दिनसम्म कुमारी हलमा चलेको फेस्टिभलमा निर्णायकका जिम्मेवारी बान्फ माउन्टेन फिल्म फेस्टिभलका जोआना क्रोष्टन, भारतका रीना मोहन र नेपालका केसाङ छेतेनले निर्वाह गरेका थिए ।  यसपटकको संस्करणमा ‘किम्फ लाइभ डक पिच’ सेसन थियो । जसमा दर्शककै अघि फिल्म बनाउने व्यक्तिले आफ्ना फिल्मको आइडिया साटासाट गरेका थिए ।  गतवर्षदेखि सुरु गरिएको ‘किम्फ डक ल्याब’को सुविधालाई यसवर्ष पनि निरन्तरता दिइएको थियो ।

३७ देशका ७६ फिल्मको सहभागिता रहेको कार्यक्रममा नेपाल पनोरमा अन्तर्गत १५ फिल्म प्रदर्शन गरिएको थियो । १४ फिल्म प्रतिस्पर्धी रहेको संस्करणमा ४८ वटा अप्रतिस्पर्धी फिल्म रहेका थिए । किम्फका निर्देशक वसन्त थापाले सन् २०१८ को प्रतियोगिता डिसेम्बर ६ देखि १० सम्म काठमाडांैमा गर्ने जानकारी गराएका थिए ।

 

Leave A Comment