‘द्रोहकाल’, ‘गुलाम’ ‘राजनीति’, ‘आरक्षण’, ‘सत्याग्रह’ चर्चित फिल्मका लेखक अन्जुम राजाबली दुई दिने पटकथा लेखनसम्बन्धी कार्यशालाका लागि राजधानीमा थिए । कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा राजधानीमा तीन दिन बिताएका उनले फिल्म लेखन संसारभरि नै उपेक्षित पेसा रहेको र यसका लागि लेखक स्वयं अधिकारका लागि जागरुक रहनु पर्ने बताए । भारतमा फिल्म लेखकको अधिकारका लागि समेत लडेका अन्जुमसँग शुक्रबारले फिल्म लेखकको रुपमा उनको यात्रा र लेखनको समग्र अवस्थाबारे कुराकानी गरेको थियो । सोही कुराकानीका मुख्य अंश :
यो तपाईंको पहिलो नेपाल भ्रमण थियो, कस्तो लाग्यो नेपाल ?
सोचेभन्दा राम्रो लाग्यो । ठाउँ त छँदैछ, यहाँका मानिस असल लागे मलाई । निर्दोष र इमान्दार । एक दम राम्रो लाग्यो । त्यही भएर फेरि आउँछु भन्ने लागेको छ । नत्र यही पटकको भ्रमणमा पशुपति, स्वयम्भू आदि ठाउँ जाने सोच बनाएको थिएँ तर फेरि आउनु पर्छ भन्ने लागेर यत्तिकै जाँदैछु ।
भविष्यका नेपाली फिल्म लेखक चैं कस्ता पाउनु भयो ?
समझदारी छ । विषयको ज्ञान पनि छ जस्तो लाग्यो तर क्राफ्टमा कमजोर रहेको अनुभव भयो । कार्यशालाभन्दा बाहिर पनि मैले धेरैसँग कुरा गरें, उनीहरूमा जोश जाँगर त छ तर प्रस्तुतिमा अलि काम गर्नुपर्छ ।
यहाँ त बलिउडका फिल्मको नक्कल गर्नाले नेपाली फिल्मको प्रगति गर्न नसकेको स्थापित मान्यता छ । के नक्कल मात्र नेपाल जस्ता देशका फिल्म उद्योगको समस्या हो ?
नक्कल त निश्चय नै समस्या हो किनकि नक्कल गर्ने बानीले मानिसको रचनात्मक क्षमतालाई ‘प्यारालाइज’ गर्छ तर यसलाई मात्र समस्या मान्नु हुन्न । बलिउडको पनि लामो इतिहास छ । हलिउडकै फिल्म नक्कल गरेर फिल्म बनाएको हो तर पछिल्लो समय हेर्नुस्, कस्ता राम्रा फिल्म बन्न थालेका छन् । यो एउटा चरण हो, पछि उद्योग आफैँलाई यसलाई हतोत्साह गर्छ ।
तपाईंको पनि लेखन करिअरमा हलिउडबाट नक्कल गरिएका फिल्मको सूची लामै छ नि ?
लामै त नभनूँ किनकि मैले फिल्म धेरै त लेख्नै पाएको छैन । आठ दसवटा हो । तर हो, मैले लेखनको सुरुवात हलिउड फिल्मको अनुवादबाटै गरेको थिएँ । मेरो पूर्ण लेखन रहेको फिल्म ‘गुलाम’ हलिउड फिल्म ‘अन दि वाटर फ्रन्ट’को नक्कल थियो ।
साँच्ची तपाईंको लेखन करिअर कसरी सुरु भएको थियो ?
खासमा म मनोविज्ञानको विद्यार्थी हुँ तर पहिलेदेखि नै फिल्म हेर्न मन पथ्र्यो । बाबा आजमी, चर्चित अभिनेत्री सबाना आजमीका दाजु मेरा मिल्ने साथी थिए । बाबा छायांकार थिए तर निर्देशकको रुपमा अगाडि आउन चाहन्थे । त्यसैले हामी कथा तयार गर्न दिनदिनै भेट्थ्यौं । उनकै माध्यमबाट एक दिन कफीसपमा गोविन्द निहलानीसँग भेट भयो । ¥यान्डमली कुरा ग¥यौं । पहिलो भेट थियो तर दुवैको फिल्मलाई लिएर सोच्ने शैली उस्तै थियो । पछि उहाँले आफूले लेखिरहेको ‘द्रोहकाल’को ड्राफ्ट सुझावका लागि पढ्न दिनुभयो । फिल्मको चरित्र चित्रणमा समस्या थियो । मैले आफूलाई लागेको कुरा भनेँ । निहलानी कन्भिन्स भएपछि पुनर्लेखनका लागि आग्रह गर्नु भयो । यसरी मेरो लेखन यात्रा सुरु भयो । बाबा र निहलानीले हल्ला गर्दै गए । पछि आमिर खान आफैंले कल गरेपछि ‘गुलाम’ लेखेको हुँ ।
लामो लेखन यात्रामा मुस्किलले दर्जन फिल्म तपाईंको नाममा रहेछन्, हैन ?
म ट्यालेन्टेड लेखक हैन नि ! म कहिलै पनि फुलटाइमर लेखक भइनँ । ढिला लेख्छु, एउटै स्क्रिप्ट सक्न आठ महिनादेखि एक वर्षसम्म लिन्छु । अनि, त्यो फिल्म मात्र लेख्छु जो मलाई ठीक लाग्छ ।
तपाईंको फिल्मोग्राफी हेर्दा मुद्दामा आधारित फिल्ममा ज्यादा रुचि छ जस्तो देखिन्छ । प्रकाश झासँग तपाईंको सहकार्यमा बनेका सबै फिल्म कुनै न कुनै मुद्दामा केन्द्रित देखिन्छन् नि ?
हो, फिल्म लेखिरहँदा फिल्मले दर्शकलाई कुनै न कुनै नयाँ विषयमा जानकारी गराओस् भन्ने मेरो चाहना हुन्छ । मनोरञ्जनसँगै सामाजिक राजनीतिक विषय पनि दर्शकसम्म पुगोस् भन्ने हामी दुवैको चाहना हो तर तपाईंले ती फिल्मलाई गहिरो गरी हेर्नुभयो भने त्यहाँ ‘इस्यु’ देख्नुहुन्न, कहानी देख्नु हुन्छ । ‘इस्यु’ होस् वा आइडिया, त्यसमा चरित्रको भावना जोडिएको हुनुपर्छ । ‘फिलिङ्ग्स’ भएन भने तपार्इंले जति ठूलो इस्युमा फिल्म बनाए पनि केही हुन्न । तपाईंलाई एउटा उदाहरण सुनाउँछु, प्रकाश झा मकहाँ भोटको राजनीतिमा फिल्म बनाउनु प¥यो भनेर आएका थिए । पहिलो भेटमा मैले उनलाई भने, ‘भोटको राजनीतिमा मलाई कुनै इन्टरेस्ट छैन ।’ तर, त्यसको दुई तीन दिनपछि फेरि कथाको खाका लिएर आए..यसरी यसरी बनाउँ भनेर । मैले उनको चाहना देखेपछि मलाई त भोटको राजनीतिमा त रुचि छैन तर चरित्रलाई रुचि छ कि छैन त्यो हेर्छु । हप्ता दिन सँगै बस्यौँ । पछि त्यो ‘राजनीति’को रुपमा आयो । मुख्यतयाः फिल्म भारतमा हुने भोटको राजनीतिमा आधारित थियो तर हेर्नुस् पछि त्यो महाभारतको पुनव्र्याख्या जस्तो भयो ।
हाम्रोमा एक जना निर्देशकले इस्युमा फिल्म बनाएकोमा दर्शकसँग क्षमा याचना नै मागेका थिए ?
अब उनले इस्युमा कस्तो फिल्म बनाए त्यो त म भन्न सक्दिन तर यसमा बुझ्नु पर्ने कुरा के हो भने इस्यु आफैंमा केही पनि होइन जबसम्म त्यसलाई धारण गर्ने चरित्र र दर्शकको बीचमा इमोसनल सम्बन्ध कायम हुन्न । इस्युलाई आइडिया र आइडियालाई चरित्रमार्फत दर्शकसम्म पुर्याउने हो । फिल्म लेखन आर्ट र क्राफ्टको संयोजन हो । यसमा ध्यान पुग्न सकेन भने इस्युले मात्र फिल्म बचाउँदैन ।
नेपालमा फिल्म लेखकको खास हैसियत छैन, भारतमा के छ अवस्था ?
लगभग संसारभर नै फिल्म लेखकको अवस्था त्यस्तै हो । नेपालमा जस्तो भारतमा पनि लेखकलाई निर्देशक, निर्माता र वितरकको कलमको रुपमा चित्रित गर्ने परम्परा छ । अर्थात निर्देशकले जे जे भन्यो त्यही त्यही मान्ने । लेखकको आफ्नो अनुभव र अनुभूतिको कुनै अस्तित्व छैन । दरबारिया स्टाइलको काम गर्ने शैली छ । निर्माता, निर्देशक, वितरक कलाकार सबैजना दरबारमा जस्तो दायाँ बायाँ बस्छन् अनि लेखकले लेखेको सुनाउँछ । कहिलेकाहीँ यस्तो दरबारमा काम गर्ने र ड्राइभर पनि हुन्छन्, पटकथा सुन्ने । एक दिन मैले सोधे, ‘ड्राइभर किन यहाँ ?’ उनीहरूको जवाफ थियो, ‘ऊ हाम्रो दर्शक हो ।’
मैले भने, ‘दर्शक त फिल्मको होला तर लेखनको होइन नि, बाहिर पठाउनुस् ।’ भारतमा यस्तो अवस्था छ ।
पारिश्रमिकको अवस्था के छ ? फिल्मले सय करोड कमाएका खबर आउँछन्, तर लेखकको अवस्था ?
५ देखि ८ लाखसम्म दिन्छन् तर हिजोआज हामीले फिल्म राइटर्स एसोसियनलाई सक्रिय बनाएर फिल्ममा लेखकको पारिश्रमिकदेखि लिएर रोयल्टीसम्मका कुरा अगाडि ल्याएका छौं । सन् २०१२ देखि ‘फिल्म एन्ड टेलिभिजन प्रोड्युसर्स गिल्ड’सँगै निरन्तर कुराकानी गरिरहेका छौं । कुनै निष्कर्षमा पुग्न सकियो भने फिल्म लेखनमा क्रान्ति आउँछ ।
हालै न्युयोर्क टाइम्समा फिल्म सेन्सरसिप र ‘पद्मावती’माथि भइरहेको राजनीतिका सम्बन्धमा तपाईंको लेख प्रकाशित भएको थियो । त्यसमा तपाईंले यसलाई ‘फ्रिडम अफ स्पीच’का विरुद्धमा भइरहेको षडयन्त्रको रुपमा उल्लेख गर्नु भएको थियो । भारतमा किन बारम्बार किन यस्तो हुन्छ ?
भारतमा मात्र हैन तपाईं संसारतिर आँखा फैलाउनु भयो भने दुनियाँभरि नै सेन्सरसिप फैलिरहेको छ । इन्डिपेन्डेन्ट सोचलाई जबर्जस्त रुपमा रोक्ने कोसिस भइरहेको छ । यो भारतमा मात्र हैन, टर्की अमेरिका, साउदी अरेबिया, इजरायलतिर पनि चलिरहेको छ । भारतमा बढी भइरहेको छ किनभने त्यहाँको आर्थिक उन्नति रोकिएको छ । भोटका लागि केही न केही त गर्नै प¥यो । बस्, उनीहरू फिल्मलाई माध्यम बनाउँछन् र यसलाई मुद्दा बनाएर जनतालाई भिडाउँदै आफ्नो आयु लम्ब्याउँछन् ।
तर फिल्ममाथि भइरहेको राजनीतिमा स्टार किन बोल्दैनन् ?
बोल्दैनन् किनभने उनीहरूले पनि यस्तै शक्तिसँग हात मिलाएका छन् । बलिउडको सारा फिल्म उद्योगले गुन्डासँग हात मिलाएको छ । बाल ठाकरेहरूको शक्ति यसै बढेको हैन । दाउद इब्राहिम त्यसै महान् भएका होइनन् । जब तपाईं आफ्नो अधिकारका लड्न छाडेर आत्मसमर्पण गर्नुहुन्छ, त्यसको परिणाम त्यही हुन्छ कि तपाईं अर्काको अधिनमा रहनुहुन्छ । भारतको जुन सर्टिफिकेसन बोर्ड छ त्यो खास गरी कुन फिल्म कस्तो हो भनेर सर्टिफिकेट दिनका लागि हो तर सरकारले के गर्छ ? उसले आफ्नो कार्यकर्ता भर्ती गर्छ अनि उसले राजनीति गर्ने ठाउँ देख्यो कि सेन्सरसिप लगाइदिन्छ । स्टारको हकमा पनि त्यही हो । यस्तो मुद्दामा बोलेर उनीहरू सरकारको आँखामा पर्न चाहन्नन् किनभने सबलाई थाहा छ, ‘पद्मावती’माथिको विवाद पूरा काल्पनिक दृश्यका कारण उब्जिएको छ । निर्देशकले त्यो दृश्य फिल्ममा छैन भनेको छ तर कोही सुन्न तयार छैन । मैले हेर्दा त फिल्मले अझ राजपुतको मर्यादालाई बढाउने काम गरेको छ । राजपुतकी रानीलाई त्यसरी भव्यताका साथ पेस गरेको छ तर यो कुरा बुझ्न कोही तयार छैन ।
भनेपछि अब अरु फिल्म बनाउनभन्दा मसला फिल्म बनाउनुमै फिल्मकर्मीको कल्याण छ ?
यो अवस्था पनि लामो समयसम्म रहन्छजस्तो लाग्दैन किनभने तपाईंले यहाँ यस्तै हो भनेर छाड्दै जानु भो भने पछि उनीहरूलाई मसला फिल्ममा पनि समस्या हुन्छ । उनीहरूले यस्ता फिल्ममा पनि कहीँ न कहीँ राजनीति गर्ने मुद्दा निकाल्छन् । जुन समाजले तपाईंलाई सेल्फ–सेन्सरसिपका लागि बाध्य पार्छ, त्यहाँ तपाईंको सिर्जना सकियो तर दुःखको कुरा अहिले यही दौर चलिरहेको छ ।
उपाय के छ त अब ? अब लेखकले के लेख्ने ?
लेख्ने हैन, लड्ने । आफ्नो हकका लागि लडार्इँ गर्ने । जब उनीहरूले तपाईं डराइरहनु भएको छ भन्ने थाहा पाउँछन्, झन् तर्साउँछन् । त्यसका लागि तपाईँसँग अधिकारका लागि लड्नुको विकल्प छैन ।
Leave A Comment