रेमिटेन्स मात्रै होइन शिशु पनि भित्रिन्छन्

शुक्रबार, ०७ पुष २०७४, १० : ५४ रुद्र खड्का
रेमिटेन्स मात्रै होइन शिशु पनि भित्रिन्छन्

हरेक दिन पछिल्लो सन्तान वृद्धि हुँदै गरेको देख्दा झापाकी तारा राईको मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्– उनको तनाव झनै बढ्छ । आर्थिक अवस्था सुधार गर्न वैदेशिक रोजगारीमा गएकी २७ वर्षीया राईलाई काखे शिशुको कसरी हेरचाह र रेखदेख गर्ने भन्ने समस्याले सताइरहन्छ ।  

सुखद् भविष्य खोज्दै रोजगारीका लागि दुबई गएकी राई त्यहीँ भेटिएका एक नेपाली युवकसँग शारीरिक सम्पर्क राखेपछि गर्भवती भएकी हुन् । घरेलु कामदारको रूपमा साढे तीन वर्षअघि दुबई गएकी उनले अघिल्लो वर्ष त्यहीँ शिशु जन्माएकी थिइन् । दुबईमै शिशु जन्मेपछि ती युवा भने यतिखेर सम्पर्कविहीन छन्  ।

राईलाई ती युवाको ठेगाना थाहा छैन । राम्रोसँग परिचय हुन नपाउँदै ती युवासँग यौन सम्पर्क राखेपछि जन्मिएको शिशुलाई अब कसरी हुर्काउने, बढाउने र खर्चको जोहो गर्ने भन्ने समस्या उनका अगाडि टड्कारो रूपमा आइपरेको छ । वैदेशिक रोजगारीमा जानुअघि नै दुई छोराछोरीलाई जन्म दिइसकेकी राईलाई पहिले नै जन्मिसकेका सन्तानलाई हुर्काउने जिम्मेवारी पनि छँदैछ । उनका लागि यतिखेरको मुख्य समस्या पहिलाका दुई र पछिल्लो सन्तानको अध्ययनको व्यवस्था कसरी मिलाउने हो भन्ने छ । आर्थिक अवस्था कमजोर भएका कारण वैदेशिक रोजगारीमा गएकी राईले त्यही गर्भवती हुँदा र बच्चा जन्माउनु परेकाले कमाउन पनि सकिनन् ।

सर्लाही, हरिवन–१ की गीता तामाङका लागि पनि वैदेशिक रोजगारी जीवनभरि नमेटिने पीडा बनेको छ । तीन वर्षअघि घरेलु कामदारको रूपमा साउदी गएकी तामाङलाई मालिकले शारीरिक सम्बन्ध राखेपछि अघिल्लो वर्ष छोरी जन्माएकी थिइन् । निरन्तर मालिकले शारीरिक शोषण गरिरहँदा तामाङ गर्भवती भएको थाहा पाएपछि हवाई टिकटको बन्दोबस्ती गरी उनलाई नेपाल फर्काइएको थियो । घर फर्केपछि छोरीको जन्म दिएकी तामाङका लागि पनि अहिलेको मुख्य समस्या हुर्किरहेकी छोरीलाई कसरी हुर्काउने, पढाउने भन्ने नै हो ।

आफू वैदेशिक रोजगारीमा रहँदा काठमाडौंमा रिक्सा चलाइरहेका पतिको मृत्यु भएपछि गाउँ फर्केकी तामाङले छोरीको पिता आफ्नै लोग्ने भएको जानकारी गराउँदै हिँड्े पनि आफैँलाई भने ढाट्न सकेकी छैनन् । समाजलाई छोरीको पिताको रूपमा मृत्यु भइसकेको लोग्ने बताउनु पर्दा कतिबेला उनलाई निकै पीडा पनि हुन्छ । रोजगारीको क्रममा मालिकले शारीरिक सम्बन्ध राख्दा छोरीको जन्म भएको यथार्थता खुलाउने हो भने समाजले झनै अत्याचार गर्ला भन्ने उनको आशंका छ । वैदेशिक रोजगारीमा जानुअघि जन्मिएका दुई छोरा, आफू र विदेशी पिताबाट जन्मिएकी छोरीको राम्रो भविष्यका लागि पनि उनले विदेशमा गर्भवती हुनु परेको घटना लुकाउने गरेकी छन् ।

सुनौलो जीवन बिताउने अभिलाषामा वैदेशिक रोजगारीमा जाने महिलाहरू विदेशमा पुगेपछि मानसिक, आर्थिक मात्र नभई शारीरिक शोषणमा समेत पर्ने गरेको पाइएको छ । शारीरिक शोषणमा परेका कतिपय महिलाले सन्तान जन्माउनु पर्दा त्यस्ता सन्तानलाई कसरी हुर्काउने भन्ने समस्याले विकराल रूप लिने खतरा बढेको छ ।

वैदेशिक रोजगारीमा गएका महिलाहरू समस्यामा परेको बेला सेल्टर तथा परामर्श सेवा दिँदै आएको पौरखी नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका महिलाले सन्तान जन्माउँदा एकातिर पिताको पहिचान हुन नसकेका शिशुको शिक्षादीक्षाको व्यवस्था मिलाउने र अर्कोतर्फ त्यस्ता महिलालाई समाजमा समायोजन गर्न निकै कठिन छ ।

पौरखकी संयोजक कृष्णा गुरुङले वैदेशिक रोजगारीको क्रममा गल्ती नहुँदानहुँदै पनि महिला असुरक्षित हुने क्रम जारी रहेकाले आप्रवासी महिलालाई सुरक्षित राख्न विशेष योजनाको जरूरी परेको बताइन् । गुरुङका अनुसार नेपाल सरकारले कामदार पठाउने मुलुकसँग श्रम सम्झौता गर्न नसक्दा समस्याले विकराल रुप लिँदै आएको हो । वैदेशिक रोजगारीको क्रममा विदेशी नागरिक या नेपाली युवाले शारीरिक सम्बन्ध राख्दा सन्तान जन्माउन पुगे पनि निकै थोरैले मात्र शारीरिक सम्बन्ध राख्नेसँग क्षतिपूर्ति लिन सकेका छन् ।
सन् २००९ देखि हालसम्म वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका सोह्र सय ६९ महिलालाई सेल्टर, परामर्श लगायतको सेवा प्रदान गरेको पौरखीका अनुसार यस अवधिमा १७ जना महिला बच्चासहित घर फर्किए । त्यस्तै २९ जना महिला गर्भवती भएर, ७६ जना मानसिक रूपमा विक्षिप्त भएर, ४९ जना शारीरिक समस्यामा परेर स्वदेश फर्किएको गुरुङले बताइन् ।

‘कामदारको अधिकार संरक्षण गर्न सरकारी निकाय नै कमजोर’
रघुराज काफ्ले

कार्यकारी निर्देशक
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

वैदेशिक रोजगारीमा नेपालबाट बाहिरिने युवायुवतीको संख्या बढ्दो छ । तर, जसरी वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वृद्धि भइरहेको छ । त्यसरी नै सरकारी निकायबाट कामदारलाई पु¥याउने पनि सुविधा दिन सकिएको छैन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले समेत कामदारको हितका लागि विभिन्न ऐन, कानुन संशोधन गरी श्रम तथा रोजगार मन्त्रालयमा पठाउँदासमेत त्यस्ता प्रस्तावको कुनै वास्ता हुँदैन । बोर्डले प्रस्ताव गरेका फाइल मन्त्रालयमा लामो समयदेखि अडकिन्छन् । कसको स्वार्थले त्यस्तो भइरहेको छ बुझ्न निकै गाह्रो छ । बोर्डलाई गतिशीलता प्रदान गर्न सहयोग छैन । बोर्डकै कुरा गर्ने हो भने पनि कर्मचारी १२/१५ जना छन् । बोर्डको समिति २५ जनाको छ । कर्मचारीले काम गर्ने हो वा के गर्ने ? अन्योल छ ।

वैदेशिक रोजगारीमा कामदारले दुःख पाउनु या अन्य समस्यामा पर्नुको कारण वैदेशिक रोजगारीमा जानु अघि आवश्यक सीप दिन नसकेरै हो । अनलाइन सुरु गरिए पनि अझै अभिमुखीकरण संस्थाले नक्कली प्रमाणपत्र बाँडेको पाइन्छ । मेनपावरले विदेशमा जे माग ल्याउँछन् । सरकारी निकायले त्यसैलाई स्वीकृत गर्ने चलन छ । अब पनि सरकारी निकाय वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न गम्भीर नहुने हो भने त्यसले समस्या भन्दा अरु केही निम्त्याउँदैन ।

‘साहुले जबरजस्ती गर्दा पनि सहेर बस्नु पथ्र्यो’
रीमा गुरुङ, ३१

चौवास–५ काभ्रे
दुई सन्तान भइसकेपछि आर्थिक जोहो गर्ने कुनै माध्यम नहुँदा वैदेशिक रोजगारीका लागि साइप्रस गएकी हुँ । मेनपावरले चार लाख ५० हजार रुपैयाँ लिएर घरेलु कामदारको रूपमा साइप्रस पठाएको हो । तर, नगदी रसिद भने ८० हजार रुपैयाँको मात्र दिएको छ ।

साढे चार लाख रुपैयाँ बुझाए पनि ८० हजारको नगदी रसिद दिएकोमा खासै दुःख लागेको थिएन । किनकि साइप्रसमा राम्रो कमाइ हुने आशा थियो । तर, त्यहाँ गएपछि भने ठीक उल्टो भयो । मेनपावरले पठाएको घरमा एक वर्ष भन्दा बढी बस्न सकिनँ । किनकि घर मालिकले आफैँसँग सुताउन खोज्थ्यो । मैले नमानेपछि त्यो घर छाडेर नौ महिना अर्काे घरमा काम गर्न गएँ । त्यहाँ पनि पुनः सोहीखाले समस्या आइपर्यो ।

पत्नीको निधन भएको घर मालिकले सँगै सुताउन खोजेपछि म बाध्य भएर भाग्नु प¥यो र सहयोगका लागित्यहाँको अध्यागमन कार्यालयमा गएँ । चार दिन जेलमा बसेपछि नेपाल फर्किएँ । चार वर्षका लागि भनेर साइप्रस गए पनि दुई वर्षमै फर्कनु पर्दा मेरो लगानी  उठेको छैन । विभागमा उजुरी दिँदा पनि कुरा सुन्ने कोही छैनन् । यो देशमाकमजोर र पहुँच नहुनेले न्याय पाउने अवस्था रहेनछ । हुनतः साइप्रस पुगेका अधिकांश महिला यौन शोषणमा परेका हुन्छन् भन्ने मलाई लाग्छ । मैले पनि साहुले जे भन्छ त्यही मानेको भए केही समस्या हुँदैन्थ्यो । तर, मलाई गलत काम गरेर पैसा कमाउन मन लागेन । त्यसैले अबको मेरा चासो साइप्रस जाँदा लागेको रकम फिर्ता पाउनु प¥यो भन्ने मात्रै हो । गुमेको रकम फिर्ता पाउन मलाई सहयोग चाहिएको छ ।

Leave A Comment