रितले देखाए क्रिकेटमा कमाल

शुक्रबार, ०७ पुष २०७४, ११ : २९ कमल खत्री
रितले देखाए क्रिकेटमा कमाल

एसिसी यु–१६ च्याम्पियनसिप इस्र्टन रिजन क्रिकेट च्याम्पियन बनेको नेपाली टोलीका कप्तान रित गौतमले भविष्यमा सिनियर टिमबाट खेल्ने हौसला बढेको बताएका छन् । नेपालले थाइल्यान्डमा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो ।

कप्तान रितले विगतको प्रतिष्ठालाई निरन्तरता दिन सफल हुँदा खुसी लागेको बताए । ‘ उमेर समूहमा नेपालले कहिले पनि नराम्रो नतिजा निकालेको छैन । हामीले विगतमा पनि उमेर समूहको उपाधि जित्दै आएका छौं । त्यसलाई हामीले निरन्तरता दियौं । यसले यु १९ र सिनियर टिममा हामीलाई पुग्न सहयोग गर्छ । हाम्रो अबको बाटो भनेको यु १९ हुँदै सिनियर टिमबाट खेल्ने हो । त्यसका लागि खेलाडीले आफ्नो क्षमता देखाउन पाएका छन, रितले भने, ‘हामी आफ्नो भविष्यका लागी मेहनत गरिरहेका छौं । नेपालमा क्रिकेट प्रतिभाको कमी छैन । प्रशिक्षण, खेल खेल्ने अवसर पाए हामी अहिलेको भन्दा माथिल्लो स्तरमा सफलता हासिल गर्न सक्छौं ।’

प्रतियोगितामा उपाधि जित्ने क्रममा नेपालले आइतबार सिंगापुरलाई फाइनलमा ७१ रनले हराएको थियो ।
थाइल्यान्डमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रनले हराएको थियो । अपराजित रहँदै च्याम्पियन बनेको नेपालले समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो । जुन प्रतियोगितामा नेपालको सर्वाधिक फराकिलो अन्तरको जित हो । यसैगरी उपाधि जित्ने क्रममा नेपालले समूह ‘ए’ को खेलमा हङकङलाई ४ विकेटले र आयोजक थाइल्यान्डलाई पहिलो खेलमा १ सय ३३ रनले पराजित गरेको थियो ।

आर्थिक कारणले सहभागिता अनिश्चित भएका बेला नेपालले सुरुआतदेखि सानदार खेल खेलेको थियो । नेपाली टोलीका कप्तान एवं राष्ट्रिय टोली पूर्व खेलाडी दीपेन्द्र चौधरीले छोटो समयको तयारीले खेलाडीले उत्कृष्ट खेल खेलेको बताए । ‘हामीलाई कुनै खेल जित्न कठिन भएन । प्रतियोगिताअघि चुनौती धेरै थिए । क्यान निलम्बन भएको बेला हामीले सकारात्मक रुपमा लिएर बन्द प्रशिक्षण गरेका थियौं । खेलाडीले मिहिनेत गरे ।’ चौधरीले भने, ‘तयारी छोटो भए पनि हामी उपाधि जित्ने लक्ष्यसहित गएका थियौं । १०–१२ दिनको प्रशिक्षणमा गरेको मिहिनेतमा सफलता हासिल गर्न कठिन थियो । हामी प्राविधिक पक्षमा भन्दा उपाधि जित्ने कुरामा केन्द्रित थियौं । टिमका सबै खेलाडी र अन्य साथीले मिहिनेत गर्नु भयो । खेलाडीले त्यसलाई बुझेर खेले ।’

प्रशिक्षक चौधरीले युवा खेलाडीले धेरै समयपछि ब्याटिङ राम्रो गरेको बताए । उनले भने, ‘खेलाडीले आफ्नो क्षमता देखाएका छन् । अब उनीहरुले खेल्ने अवसर पाउनुपर्छ । घरेलु क्रिकेट प्रतियोगिता, खेल्ने वातावरण र आर्थिक सहयोग भए युवा खेलाडीले भविष्यमा राम्रो गर्न सक्छन् ।’ प्रतियोगिता अघि नेपाललाई सुशील कोइराला मेमोरियल फाउण्डेसनले आर्थिक सहयोग गरेको थियो । प्रतियोगिताको व्यक्तिगत प्रदर्शनतर्फ पनि नेपाली खेलाडीले सफलता हासिल गरेका थिए । नेपालका त्रितराज दास सर्वाधिक रन बनाउने खेलाडी बने । उनले १ सय ६२ रन बनाएका थिए । त्यस्तै दोस्रो स्थानमा पनि नेपालकै विशाल विक्रम केसी थिए ।
प्रतियोगिता भर विशालले १ सय ३६ रन प्रहार गरेका थिए । यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका नारायण जोसी दोस्रो स्थानमा रहे । उनले प्रतियोगितामा ११ विकेट लिएका थिए । शीर्ष स्थानमा रहेको मलेसियन मोहमद अफिकले १२ विकेट हासिल गरेका थिए ।

कप्तान रित प्रतियोगितामा सतक प्रहार गर्ने एक मात्र खेलाडी बने । उनले म्यानमारविरुद्ध अविजत १ सय ६ रन बनाएका थिए । प्रतियोगितामा नेपालका प्रतिस जिसी र त्रित राजले म्यानमारविरुद्ध, विशाल विक्रमले सिंगापुरविरुद्ध अर्धसतक प्रहार गरेका थिए । यसैगरी त्रित र प्रतिसले प्रतियोगितामा सर्वाधिक छिटो अर्धसतक प्रहार गरेका थिए । दुवैले म्यानमारविरुद्ध छिटो अर्धसतक प्रहार गरेका थिए । त्रितले २९ र प्रतिसले ३१ बलमा अर्धसतक बनाएका थिए । 

Leave A Comment