मेरो नजरमा रत्नपार्क

शुक्रबार, ०७ पुष २०७४, १२ : ५७ भोला अधिकारी
मेरो नजरमा रत्नपार्क

यो ठाउँमा थरिथरिका मान्छे आएका हुन्छन् । म यो ठाउँमा बसेको करिब १० वर्ष भइसक्यो । नयाँ नौलो मान्छेहरु देख्नै नहुने ! जाने हो ? भनेर सोधिहाल्छन् । एक्कासि त सोध्दैनन् तर एकछिन हिँडडुल गर्दा शंका गरिहाल्छन् र जाने हो भनेर सोधिहाल्ने गरेको देखेको छु । जब साँझ–साँझ पर्छ, यहाँ देह व्यापार गर्नेहरुको जमघट सुरु हुने गरेको छ । प्रहरी प्रशासन नजिकै भएर के गर्नु ? उनीहरु पनि छुट्टी भएपछि यतै आएर मोलमोलाई गरेको भेटिन्छ ।
लक्ष्मण केसी (व्यापारी)

रत्नपार्कमा बिरामी भएको कारण बेला–बेला घुम्न आउने गरेको छु । यहाँ कस्तो–कस्तो दृश्य देखिन्छ भने कसैले २ पैसा कमाएको छ भने उसैको पछि लाग्छन् । पैसा कमाउन सजिलो उपाय रोजेका रहेछन् । काम गरेर खानुभन्दा पनि शरीर बेचेर खान पल्केका रहेछन् । बेलुका चाहिँ अहिले कडाइ गरेको देखेको छु । यस्तो गतिविधि सरकारले हटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यहाँको दृश्य देख्दा अचम्म लाग्छ ।
हस्तबहादुर (सिन्धुपाल्चोक)

मैले यहाँ व्यापार थालेको १०/१२ दिन भयो । त्यस्तै हो भनुँ न अब । दिउँसो भन्दा पनि बेलुका चाहिँ यौन व्यापार गर्ने केटीहरु आउने गरेका छन् । तपाईं एकछिन यहाँ बस्नु भयो भने तपाईंलाई ’नि जाने होइन भन्दै आउने गरेका छन् । उनीहरुले नयाँ नौलो मान्छे देख्यो कि अथवा ओहोरदोहोर गरेकाहरुलाई पनि जाने हो भनेर सोध्ने गरेको भेटेको छु । अब त्यसपछि त के–के गर्छन्, त्यो मलाई नसोध्नोस् ।
किशोर  (व्यापारी)

हामीले केही भन्न मिल्दैन । व्यापारीहरुले रिस गर्छन् । त्यसैले के–के हुन्छ, कस्तो–कस्तो हुन्छ भनेर तपाईंले थाहा पाइहाल्नु भयो होला । अब यो रत्नपार्कमा सबैखाले मान्छेहरु आउने गरेका छन् । कोही लभ गर्न आउँछन्, कोही दिन बिताउन आउँछन् । कोही मोलमोलाई गरिरहेका हुन्छन् । कोही के–के गर्छन । सबै कुरा कहाँ भन्न मिल्छ र हौ ?
दुर्गालाल तिवारी (व्यापारी)

म यहीँ त्रिचन्द्र क्याम्पसमा पढेको हो । ३२ वर्ष बिताएको छु काठमाडौँमा । म यो रत्नपार्कमा मान्छे कुरेर बसेको २ घण्टा भइसक्यो । कति जना आएर सोधिसके, मलाई लाज भइसक्यो यहाँ बस्दा । तपाईंले रत्नपार्कमा के हुन्छ भनेर सोध्नु भयो । के यो देह व्यापार तपाईंले रोक्नुहुन्छ ?  नेपालका सरकारले केही गर्न सक्दैन । यी यहीँ अगाडि प्रहरी प्रशासन छ । खोई रोकेको ? मलाई लाग्छ यिनैले कमिसन लिएर छाडा छोडेको जस्तो लाग्छ ।
दीपक चन्द  (शिक्षक)

रत्नपार्कमा थरिथरिका मान्छे मान्छेहरु भेटिने गरेका छन् । छाडातन्त्र भएको देशमा जसले जे गरे पनि हुने गरेको छ । यहाँ सग्लो मान्छे देख्नै हुँदैन । जाउँ भनेर मोलमोलाई भइहाल्छ । यौन व्यापार यति मौलायो कि कुरै नगरौँ । पैसा कमाउन सजिलो भएपछि कसले काम गर्छ र होइन ? यस्तो खुल्ला रुपमा देहव्यापार हुँदा सरकारले केही गर्न सक्दैन भने मलाई अचम्म लाग्छ ।
कर्णमान (पैदल यात्री)

यौन व्यापार गर्ने सजिलो ठाउँ हो रत्नपार्क । यहाँ ७८ वटै जिल्लाका मान्छेहरु आएका हुन्छन् । एकछिन मनोरञ्जन गराएर लुट्न पल्केकाहरु आएका हुन्छन् । १५÷१६ वर्ष उमेरदेखि माथिका महिला नै यो धन्दामा लागेका छन् । एउटाले मिलाउँछ, कमिसन खान्छ अनि पठाउने लमीका काम गर्नेहरु धेरै भेटेको÷देखेको छु यो रत्नपार्कमा । नयाँ नौलो मान्छे देख्यो कि जाउँ भन्छन् । कस्तो जमना आयो बा !
कुशल चौलागाई (व्यापारी)

अब यहाँ देशैभरका र कतिपय विदेशका मान्छेहरु हिँडेका हुन्छन् । को कस्तो कस्तो हुन्छ हामीलाई थाहा हुँदैन । हरेक मान्छेहरु विशेष कामले हिँडेका हुन्छन्  । कोही टायम पास गर्न आएका हुन्छन्  । कोही के गर्न हिँडेका हुन्छन् । को कस्तो मान्छे आउँछन् जान्छन् हामीलाई केही थाहा हुँदैन । मैले यहाँ व्यापार गर्न थालेको दुई वर्ष जति भो, त्यस्तो देखेको छैन ।
बोधनारायण मगर  (बेरोजगार)

मेरो अफिस यहीँ बागबजार हो । यो रत्नपार्क अलिक बढी नै बिग्रेको हो कि भन्ने लागेको छ । यो ठाउँमा कोहीसँग बस्न हिँड्न नहुने भइसक्यो । साथीभाइसँग हिँड्दा पनि कोही यौन महिला लिएर हिँड्यो भन्ने दृष्टिकोणले हेर्छन् । अब नआउँ न त भनुँ भने हिँड्ने बाटो यही प¥यो । बसपार्क पनि यहीँ छ । सरकारले यस्ता मान्छेलाई तराईमा लगेर खेत जोताउनु प¥यो । यो सबै बेरोजगार भएर यस्तो भएको हो । यदि रोजगारी हुने हो भने को देह व्यापारमा लाग्थ्यो होला र ?
नारायण  (जागिरे)

व्यापार गर्न बसेको हामीलाई के थाहा हुन्छ र ? को कस्तो मान्छे आउँछन् भन्ने कुरा लेखाजोखा गर्ने ठेक्का हामीले लिएका छौ र ? रत्नपार्क काठमाडौँको मुटु हो जो पनि आउँछन्, जान्छन् । मान्छेहरु को आए कता गए हामीलाई के थाहा हुन्छ ? म यहीँ बसेर व्यापार गरेको २ महिना भइसक्यो यस्तो कुरा थाहा छैन ।
रामबहादुर खड्का (व्यापारी)

रत्नपार्क एकदमै देह व्यापारको खानीजस्तै भइसक्यो । जो कोही नयाँ मान्छेहरु देख्यो कि उनीहरु डिल गर्न थालिहाल्छन् । कति लिने, कति दिनेको कुरा सुन्छु । म चाहिँ गएको छुइनँ । मलाई त्यस्तोपछि लाग्नु पनि छैन । तर बेलुका बेलुका मैले देख्ने गरेको छु कि तेस्रो लिंगीहरु आएर बाटो हिँड्नेलाई निकै सास्ती दिएको । छोरी चेलिबेटी एक्लै हिँड्न निकै गाह्रो छ । यसमा सरकारले रोकेन भने पछि ठूलो बिकराल रुप लिन्छ जस्तो लाग्छ  ।
रमादेवी (व्यापारी)

मैले रत्नपार्कमा व्यापार गर्न थालेको पाँच वर्ष भयो । यहाँ कस्तो दृश्य देखिन्छ भन्दा त मलाई लाज लाग्छ । हरेक प्रकारमा मान्छे आउने गरेका छन् । यौनकर्मी मात्रै आउँदैनन्, व्यापारी–बुद्धिजीवीदेखि सर्वसाधारण पनि आएका हुन्छन् । कोही वीर हस्पिटल जाने हुन्छन् । कोही गाडी कुरेर बसेका हुन्छन् । तर बेलुका भएपछि यौनकर्मीको चहलपहल भने अलिक बढेको देखिन्छ । उनीहरु प्रायः मास्क लाएर यसो अडेस लागेर बसेका हुन्छन् । कोही उसको छेउमा बस्यो कि केहि नकेही बहाना बनाएर कुरा गरेको देख्छु । अरु के–के हुन्छ हामीलाई थाहा हुँदैन, चासो पनि रहँदैन ।
विमला शाह  (व्यापारी)

यो रत्नपार्कमा त छोरी चेलिबेटीसँग बस्नै नहुने भएको छ । एकैछिन कसैलाई कुर्दा पनि मान्छेको सोच फरक पाएको छु । कस्तो होला हाम्रो देशको सरकार ? यहाँ त बस्नै नहुने भइसक्यो । जाने हो ? भन्न आइपुग्छन् । यो बाटो सयौँ मान्छेहरु हिँडेका हुन्छन् । बारमा उभिएर जाने हो भन्छन् भन्या डरै नमानी ! लास्टै बिग्रेछ राजधानीजस्तो लाग्छ मलाई ।

विद्यानन्द लेखी (व्यापारी)

यो ठाउँमा के देखिँदैन भन्नु नि ! साँझपख छोरी चेलिबेटी हिँड्न नहुने भइसक्यो । एक्लैदोक्लै हिँड्न समस्या छ । यहीँ अगाडि पुलिस चौकी छ तर वास्ता गरेको देखिँदैन । मलाई लाग्छ, यिनीहरु पनि मिलेका छन् कि ! धन्दा चलाएर यौन व्यापारीबाट कमिसन लिन्छन् जस्तो लाग्छ  । नत्र भने यो धन्दा कसरी चलाउन सकिन्छ  ?  यो धन्दा प्रहरी, प्रशासन र सरकारले रोक्न सक्दैन भने कसले सक्छ त ? यो धन्दामा सबै मिलेका छन् जस्तो लाग्छ । यो रोकेन भने यौनकर्मी अझ बढ्ने देखिन्छ ।
रेशम काफ्ले (जागिरे)

यो ठाउँमा के–के देखिन्छ भन्नु मैले । जे अरु ठाउँमा देखिदैन त्यही चिज यहाँ देखिन्छ । त्यो पार्कभित्र अहिले अलिक कम भएको छ । यो बस चढ्ने ठाउँमा अडेर लागेर बसेका हुन्छन् । यौनकर्मी कुन हो भनेर तपाईंले खोजिरहन पर्दैन । माक्स लाएर बसेका हुन्छन् । नयाँ मान्छे देख्यो कि जाने हो कानमा आएर खुस्सुक्क भन्छन् ।  कोही केटाहरु छेउमा उभिएका कुनै केटी देख्नै हुँदैन । यौनकर्मी हो कि होइन, भेउ नै नपाई जाउँ भनेर डिल गर्छन् । कति पैसामा डिल हुन्छ, त्यो त थाहा छैन । तर खुब भेटिन्छन्  त्यस्ता मान्छेहरु । अचेल बेलुका भन्दा ३/४ बजेतिर यौनकर्मीको बाक्लो उपस्थिति भेटिन्छ ।
तीर्थकुमार राई (व्यापारी)

मेरो पसल भोटाहिटीमा हो । म यो बाटो बिहान–साँझ हिँड्नुपर्छ । पहिलाभन्दा अहिले अलिक कम भाको हो किजस्तो लाग्छ, यौनकर्मीको भेला । नत्र यहाँ साँझ परेपछि यौनकर्मी मात्र होइन तेस्रो लिङ्गीहरु भेला हुन्थे । म कतिचोटी भागेको छु । नत्र भएको सामान खोसिहाल्थे । बाटो छेकीछेकी पैसा असुल्न खोज्थे तर अहिले बेलुका प्रहरीले कडाई गरेको हो कि यौनकर्मी कम भएका हुन् थाहा भएन । नत्र बेलुका यो बाटो हिँड्दा चुम्मा र चुम्मीको दृश्य कति हो कति । प्रहरी नजिकै छ भन्नु मात्रै हो । त्यो बेला चुम्माचाटीको दृश्य हेर्नुपर्ला भनेर श्रीमतीलाई पसलबाट चाँडै घर पठाउथेँ ।
जीवन विश्वकर्मा (व्यापारी )
 

Leave A Comment