समृद्धि र विकास ! वामपन्थीको निकास ???

बिहिबार, १३ पुष २०७४, ११ : ५२ बद्रीप्रसाद दाहाल
समृद्धि  र  विकास !  वामपन्थीको निकास ???

नानापन्थीका खन्तीहरूले राज्य गरेर हत्तु हैरान पारेको हुँदा जनता वाक्कदिक्क भएर यसपालि वामपन्थीको जिम्मामा सत्ता आदेश ठेलिदिए । राज्यसत्तामा चाकाचुली खेल्न नपाएर न्यास्रिएका, चाकाचुली खेल्ने ठाउँमा रहेर पनि फुली फुक्लिएका शब्दका देब्रे पन्थी दुवै भाइ समृद्धि र विकास मार्फत नयाँ निकास दिनेमा दरिएर नारिदै छन् गठजोडका गाडामा  । उता दाहिने पन्थी,  मध्य पन्थी, मौकाअनुसार ‘जसोजसो बराजु उसै उसै स्वाहा’पन्थी र बहुपन्थी पथिकहरू सिङ पुच्छरै फुक्लिएर रुवाबासी मच्चाउँदै आफू आफूमा पाखुरा सुर्किएर दोषका पोकापुन्तुरा जति आन्तरिक  प्रतिस्पर्धी वा हाइ कमानका टाउकामा बोकाएर गङ्गा तटका नङ्गाबाबा बन्ने कसरतमा अमूल्य समय खर्चिरहेका छन् ।

वामपन्थी भनेको प्राचीन मान्यता, विचार वा स्थितिलाई छिटोसँग आमूल परिवर्तन गर्न चाहने राजनीतिक मतको अनुचर वा सिपाही हो । त्यसैले वामपन्थी हामपन्थी नभै कामपन्थी, ठगठाग पन्थी हटाएर जाँगर पन्थी, भ्रान्ति पन्थीको ठाउँमा क्रान्तिपन्थी, परिवर्तन पन्थी हुँदै विध्वंसमार्गी नबनी सिर्जनामार्गी वा विकास पन्थी हुनु अपरिहार्य हुन्छ । त्यसमा पनि ‘कम्युनिस्ट वाममार्गी’ भनेको त कम्युन अर्थात् सामाजिक समुदाय स्वयंले आफ्नो कार्य गर्न सम्भव भएकाले पुलिस, सिपाही, सरकार आदिको आवश्यकता छैन र सो कम्युन एक किसिमको परिवारसरह हुने हुँदा प्रत्येक कम्युनवासीको मर्म सबैमा अवगत हुने तथा हरेक व्यक्तिलाई उसको सरोकार र आवश्यकता अनुसार उपभोगका सामग्री वितरण गर्न सकिने भएकाले मुद्राको समेत आवश्यकता छैन भन्ने सिद्धान्त हो । जसलाई साम्यवाद भनिन्छ । जसका विचारक माक्र्स, फ्रेडरिक एङ्गेल्स, लेलिन,  माओ आदिले प्रतिपादन र अभ्यासमा उतार्ने चेष्टा गरे । नब्बेको दशकपछि यो सिद्धान्त विश्वजनमानसले अस्वीकार गरिसकेको छ । त्यसैले उनीहरू लोकतन्त्र जोडेर त्योसित गर्भाधान गराई एउटा ‘ठिमाहा पन्थ’ खन्ने प्रयोगमा हिँड्न बाध्य भए । त्यसैको सिको गर्न नेपालका केही ठूला कम्युनिस्ट वाम एक ठाम हुन गठजोड गरेका छन् ।
तर नेपालका आमवाम कमिनिस्टको लौह अनुशासनबाट च्युत भएर दलाल पूँजीवादका उपदलाल बन्न खप्पिस छन् । आफ्नो पार्टीलाई बजार दिन मात्र कमिनिस्ट ट्रेडमार्क  झुन्ड्याएर सामन्ती नोकर शाहको आदेशमा थ्रेट गर्ने बानी छ । पजेरो, प्राडो, सुजुकीभन्दा माथिल्ला सवारी साधन, आलिसान महल वा प्रासाद, कर्पोरेटहरूका मालिक, स्वास्थ्य र शिक्षामा पूर्ण व्यापारीकरण अनि माफिया वाद हावी गराउने नेपालका वामपन्थी, आईएनजीओ र एनजीओका महाचालक पनि हुन् । यसैले यिनीहरू विकास र समृद्धिको शाब्दिक नारा लगाउन दख्खलता राख्छन् । ‘मिल हुन्छ मजदुरको, ‘खेत हुन्छ जोत्नेको, घर हुन्छ पोत्नेको’ भन्ने बीपीको सिध्दान्त मध्य पन्थी र प्रजातन्त्रको मसीहा भनी गम्कने तर आचारमा अनुवाद हुन आनाकानी गर्ने  मुखमा राम राम व्यवहारमा हरामहरूले धरापमा पारेपछि नेपालमा वामपन्थी ठिहीले विकास र समृद्धिको डिही दिने रोमान्टिसिजमलाई खपत गराए ।  

यतिखेर दबाब, प्रभाव, अभाव र बबाल समूह गठन गरेर सामाजिक सञ्जालमार्फत ओलीका बोली श्रीहीन बनाउन गलत कसरत सुरु भइसकेको छ । मुख्यमन्त्री र कार्यकारीमा अस्वस्थ दावा पस्किएर गठबन्धनलाई तातो तावामा राखी हाबाकाबा बनाउँदा ‘समृद्धि र विकास अभियान’ अपमानतिर धकेलिने शंकाले लङ्का पिटेको छ । रमाइलो कुरा के छ भने चारुम जेम्दारदेखि प्लेटो, माक्र्स, लेलिन, स्टालिन, खुस्चेब, माओ, किम इल सुङकाशिष्य प्रशिष्य र चेलाचपेटा हुँ भनेर गर्व गर्ने तर वामपन्थीभन्दा खामपन्थी, दामपन्थी तथा हरामपन्थी वृत्तिमा अभ्यस्तहरूले विकास वा समृद्धिको एजेण्डातिर ध्यान दिन भ्याउलान् ?

राजा विष्णुको अवतार हो भन्ने पात्रदेखि  छिमेकीको नाकाबन्दी सफल बनाउन स्वगात्रलाई आफैँ घाइते बनाउने कुपात्र र ताक परे त्रिपाठी नभए विपाठी बन्ने वृत्तिका कल्चौडेहरूले वामपन्थी साख जोगाउलान् ? यक्ष प्रश्न मडारिएको छ पक्षपक्ष र प्रतिपक्ष कक्षमा । अहिले दिएका नारा गोल भएनन् भने होल मतदाता भोलिदारा झार्न तयार नहोलान् यी मालाधारी अबिरेहरूका ? ‘मनस्येकं वचस्येकं कार्यस्येकं महात्मनाम् । मनस्यन्यत् वचस्यन्यत् कार्यस्यन्यत् दुरात्मनाम् ।।’ हो मन, बोली र काममा एक रूपता भएका महात्माव्यक्तिले प्रतिकूल परिस्थितिलाई पनि अनुकूल बनाउन सक्छ तर बोली, चित्त र कार्यमा बेग्लैबेग्लै बहकिने दुरात्माको लक्षण हो । के अहिलेका विजेता वा उपविजेता पात्रहरू हिजोका परीक्षित  सानु
परीक्षित हैनन् ? ध्यानमग्न ऋषिलाई मरेको सर्पको माला लगाइदिने ? हो डाकू रत्नाकर वाल्मीकि बने, बुद्ध सिध्याउन खोज्ने अङ्गुलीमाल सुधी वा बोधी बने । यसैले विकास र समृद्धिमा देशलाई निकास दिन वामका शीर्ष नामहरू बेकाममा दम्भ, अहङ्कार, लोभ, पिशुनता, मात्सर्य, मदको छद हालेर कोठे बैठकमार्फत देवत्वकरण हुन नहुर्तुराउनु नै कल्याण छ । यतिखेर वाममोर्चाले राम्रो मङ्सिर भिœयाएको छ, उखान छ— मङ्सिरमा मुसाले पनि सातवटा स्वास्नी ल्याउँछ । मङ्सिर लाग्यो कुमाले बडा बडापात, जेठ लाग्यो कुमाले लुँडेका पात । मङ्सिरे केटी असारे केटो । ’ उखानवीरहरूलाई सङ्केत काफी हैन र ? भोलि ‘किन रोएस् मङ्गले आफ्नै ढङ्गले’नहोस् । विकास भन्ने कुरा क्रमशः बढ्दै वा सुध्रिँदै गएको उन्नति हो । क्रमिक परिवर्तनका छनक आर्थिक, शैक्षिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र प्राज्ञिक क्षेत्रमा आउँछन् । पूmलहरूको फुलाइ जस्तै हो विकास । समृद्धिले सामथ्र्य र तागतलाई कोणकोणबाट उचाइतिर लगेर बढिबढाउ पार्ने काम गर्दछ । ‘साउनमा आँखा फुटेको गोरु चैतमा पनि हरियै देख्छ’ भन्ने उखानका आग्रहीहरूलाई जिल्ल पार्ने गरी नेपालका वामपन्थीले शब्दमा हैन काममा, सिद्धान्तको सुगा रटाइमा हैन प्रयोग र कार्यान्वयनमा, उन्माद वा प्रमादमा हैन विनयशीलता तथा  मेलमिलापमा प्रस्तुत हुने मौका पाएका छन् ।  बहुपन्थ बनाएर सधैँ झगडा, लुट र फुटको दुर्गन्ध फैलाउने कुपाठ इति होस् । त्यसैले त समृद्धि र विकास, नेपालका वामपन्थीहरूको अपूर्व निकास यी नारा थारा नहून् ।

Leave A Comment