बलिउडमा जम्न नपाएका गायक

बिहिबार, १३ पुष २०७४, ०१ : ०५ सुरज खड्का
बलिउडमा जम्न नपाएका गायक

‘माइतीघर’ फिल्मको सुटिङका क्रममा नेपाल आएकी अभिनेत्री माला सिन्हा गायक प्रेमध्वज प्रधानको रुप र स्वरबाट निकै प्रभावित भएकी थिइन् । माला सिन्हाको झुकाव उनीप्रति कतिसम्म थियो भने फिल्मको सुटिङ युनिट जहाँ–जहाँ पुग्थ्यो सिन्हाको अनुरोधमा निर्माण पक्षले प्रेमध्वजलाई पनि सँगै लग्नु पथ्र्यो । माला सिन्हाकै अनुरोधमा प्रेमध्वज भारतको मुम्बई पनि पुगेका थिए । उनले त्यहाँ करिब ८ महिना बिताए । त्यो समय सिन्हाले उनलाई भारतका चर्चित संगीतकार खैयाम, जयदेव लगायतलाई पनि भेट्टाएकी थिइन् । प्रेमध्वजलाई भारतीय संगीतकारले हिन्दी फिल्ममा गीत गाउने आश्वासनसमेत दिएका थिए । तर आमा बिरामी भएको खबर पाएलगत्तै उनी नेपाल फर्किनु परेपछि उनको हिन्दी फिल्ममा गीत गाउने सपना अधुरै रह्यो ।

फुटबलप्रेमी नारायणगोपाल
नारायणगोपाल गीत गाउनबाहेक मीठो–मीठो खान, नयाँ–नयाँ किताब पढ्न र फुटबल हेर्न पनि रुचाउँथे । फुटबल हेर्न भनेपछि त झन् उनी हुरुक्कै हुन्थे । टेलिभिजनबाट प्रसारित जुनसुकै फुटबल खेल नारायणगोपाल नछुटाई हेर्ने गर्थे । त्यस्तै दशरथ रंगशालामा आयोजना हुने कुनै पनि फुटबल खेल हेर्न उनले छुटाउँदैन थिए ।

फ्यान झेल्ने गायक
जनकविकेशरी धर्मराज थापा सम्भवतः नेपालकै पहिलो त्यस्ता गायक हुन जसले नेपालका अधिकांश भूभागमा पुगेर आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । उनी विभिन्न ठाउँमा पुग्दा गीत गाउने मात्रै गर्दैन थिए, त्यहाँका लोकभाकालाई संकलन गरेर ल्याउने पनि गर्थे । अझ रमाइलो पक्ष त उनलाई सांगीतिक कार्यक्रम गर्न विभिन्न स्थान पुग्दा त्यहाँका स्थानीय युवतीहरुले पछ्याएर हुरुक्कै पार्थे । जहाँ गयो त्यहीँका युवतीले उनलाई बिहे गर्न दबाब दिन्थे । बिहे नगरे आत्महत्या गर्नेसम्मको धम्की पनि त्यस समयका उनका प्रशंसक युवतीले दिने गर्थे ।

राजनीतिज्ञ खरेल
सञ्चारकर्मी, गीतकार तथा चलचित्र निर्देशकको परिचय बनाएका यादव खरेलले एक समय राजनीति गर्ने प्रयास पनि गरेका थिए । २०३८ सालमा काभ्रे जिल्लामा राष्ट्रिय पञ्चायत सदस्य पदका लागि उनले चुनावी प्रतिस्पर्धा नै गरे । चुनावमा उनले थोरै मतका कारण पराजित हुनुप¥यो । चुनावमा पराजित भएपछि उनले राजनीति आफ्नालागि उपयुक्त नहुने ठहर गर्दै साहित्य, सञ्चारमाध्यम र चलचित्रमै जीवन बिताउने निर्णय लिएका थिए ।

गायक तथा संगीतकार दीप श्रेष्ठ युवा अवस्थादेखि नै गीतसंगीतमा गहिरो रुचि राख्न थालिसकेका थिए । एकपटक बाटोमा हिँडिरहेको समय उनले किताबबाट च्यातिएको एउटा पाना भेट्टाए । त्यो पानामा ‘दुःखको दिल टुटेको मन’ बोलको गीत लेखिएको थियो । भावुक प्रकृतिका १५ वर्षका दीपलाई त्यो गीतले निकै छोयो । उनले घर पुग्ने बित्तिकै त्यस गीतलाई लयबद्ध गरे, उत्साहित हुँदै साथीहरुलाई सुनाए । साथीहरुले पनि राम्रै प्रशंसा गरे । उनले बाटोमा त्यसरी भेटेर गाएको गीत राजा महेन्द्र शाहले लेखेको गीत थियो । जुन कुरा दीपले निकै पछि मात्रै थाहा पाए । त्यही गीत संगीत प्रवीण नरराज ढकालले संगीतबद्ध गरेर उहिल्यै रेकर्ड गरिसकेको कुरा त उनले अझ पछि मात्र थाहा पाएका थिए ।

गायिका सुभद्रा
अभिनेत्री सुभद्रा अधिकारी कुनै समय गीतसमेत गाउने गर्थिन् । उनकी आमा नुरादेवी आफ्नो समयकी चर्चित गायिका थिइन् । आमाको गायन प्रभावकै कारण सुभद्राले पनि अभिनय थाल्नुपूर्व गीत गाउने गरेकी हुन् । त्यस्तै चर्चित गायिका तारादेवी शुभद्राकी मामाकी छोरी हुन् । यद्यपि सुभद्राले ठूलो भएपछि भने गायनलाई भन्दा अभिनयलाई नै महत्व दिइन् ।

Leave A Comment