भताभुङ्ग र लथालिङ्ग त्रिचन्द्र क्याम्पस

शनिबार, १५ पुष २०७४, ०२ : १६ शुक्रवार
भताभुङ्ग र लथालिङ्ग त्रिचन्द्र क्याम्पस

त्रिचन्द्र क्याम्पसले हालै स्थापनाको सय वर्ष पूरा गरेको छ । यी सय वर्षमा कलेज जति परिपक्व हुनुपर्ने हो, यसले जति आफूलाई फराकिलो बनाउनु पर्ने हो, त्यो भने हुन सकेको छैन । अहिले यो कलेज प्राध्यापक, कर्मचारी, विद्यार्थीको घृणित राजनीतिको सिकार बन्न पुगेको छ ।

‘क्याम्पसको समस्या गनेर सकिन्न,’ नाम नबताउने शर्तमा एक जना कर्मचारी भन्छन्, ‘क्याम्पसका समस्या नागरिक बडापत्रमा नराखिनु, क्याम्पस प्रमुख समयमा नआउनु, आए पनि आउने नआउने टुंगो नहुनु, क्याम्पसक्षेत्र असुरक्षित हुनु, दिउँसै खुकुरी हानाहान जस्तो निन्दनीय कार्य हुनु त तपाईंहामीले देखेकै समस्या भयो, नदेखिने अनगिन्ती समस्याले यहाँ सबै पीडित छन् ।’ केही दिनअघि क्याम्पस हातामै विद्यार्थीले क्याम्पस प्रमुखलाई लछारपछार गरे । त्यसकै निहुँमा विद्यार्थी अराजक बन्दै गएका छन् र ती विद्यार्थीलाई न त क्याम्पसले न त अरु कसैले नै तह लगाउन सकेका छन् । अराजक विद्यार्थी यो क्याम्पसको ठूलो समस्या भएको उनको भनाइ छ ।

‘प्राध्यापक यहाँ आई हाजिर गर्छन् अनि प्राइभेट क्याम्पसमा गई पढाउँछन्,’ एक जना विद्यार्थी रमेशले भने, ‘यसो हुनुको मुख्य कारण विद्यार्थी पनि हुन्, पार्टीले सानै निहुँमा सडकमा टायर बाल्न लगाउने, चक्काजाम गराउने भए पनि क्याम्पसमा पढाइ नहुँदा किन पढाइ भएन भनी त्यसबारे चुइँक्क बोल्दैनन् ।’
क्याम्पसको स्नातक तहको विज्ञान संकायमा चौथो वर्षमा अध्ययनरत छात्र आशीष भण्डारीले पुस्तकालयमा पुस्तक नपाएर साह्रै दुःख भएको बताए । उनले भने, ‘पुस्तक महँगा हुन्छन् किन्न सकिँदैन, हामी जस्तो विद्यार्थीलाई काठमाडौंमा कोठाभाडा तिर्न, खान, बस्न नै गाह्रो छ कसरी पुस्तक किन्नु ? यस्ता समस्यै समस्याका बीच वैज्ञानिक बन्ने मेरो सपना चकनाचुर हुने भयो ।’
त्यस्तै अर्का विद्यार्थी राजेन्द्र प्रसाईंले दुःख गरेर गाउँबाट विज्ञान पढ्न भनी राजधानी आएको तर प्रयोगात्मक सामग्रीका साथै पाठ्यपुस्तकको अभावले गुणस्तरीय शिक्षा हासिल गर्न समस्या परेको बताउँछन् । प्रयोगात्मक सामग्रीका साथै पाठ्यपुस्तकको बारेमा क्याम्पस प्रशासनसँग माग राख्दा वास्ता नगर्ने उनको गुनासो छ । उनी भन्छन्, ‘विद्यार्थी नेताले शैक्षिक मुद्दा उठाउनुभन्दा अन्य गैरशिक्षाका विषय मात्रै उठाउँदा हामीजस्ता पढ्ने विद्यार्थीलाई झनै समस्या परेको छ ।’

त्यसो त अधिकांश कर्मचारीले त्रिचन्द्र क्याम्पस जीर्ण अवस्थामा पुगेको बताउँछन् । दयानन्द बज्राचार्यजस्ता वैज्ञानिक उत्पादन गरेको यो मुलुककै जेठो क्याम्पसमा सदुपयोगको सट्टा हिजोआज दुरुपयोग हुन थालेको उनीहरुको ठहर छ । नाम बताउन नचाहने एक कर्मचारीले आवेगमा आउँदै भने, ‘यहाँ भएको अनियमितता, भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गर्नैपर्ने भएको छ ।’ उनले अझै थपे, ‘यसलाई मिडियाले पनि साथ र सहयोग दिनुपर्यो, दस हजार विद्यार्थीले अध्ययन गर्ने यस क्याम्पसको गतिविधिमा सुधार ल्याउन आवश्यक छ  ।

अझै बनेन बिपी पुस्तकालय
तीन/चार वर्षअघि नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको थियो । नेविसंघका विद्यार्थीले अखिल निकट एक विद्यार्थीलाई क्याम्पस परिसरमै खुकुरी प्रहार गरे र त्यसबाट आक्रोशित बनेको अखिल विद्यार्थी समूहले बिपी पुस्तकालय जलायो । लाइबे्ररी प्रवेश गर्नुअघि सबैको नजर बिपीको कोटेसनमा जान्छ जहाँ लेखिएको छ, शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने स्थान होइन, यो त वैचारिक द्वन्द्वात्मक भूमि हो । विडम्बना त्यही पुस्तकालय बाहुबलको प्रयोग गर्ने रणभूमि बन्यो र आजसम्म पनि यसको पुनर्निर्माण हुन सकेको छैन ।

सहायक क्याम्पस प्रमुख मीना गुरुङका अनुसार आर्थिक समस्याका कारण अहिलेसम्म पुस्तकालयको पुनर्निर्माण हुन सकेको छैन । विद्यार्थी, क्याम्पस प्रशासनसँग छलफल गरिएको र दाता भेटिए तुरुन्तै निर्माण हुने उनको भनाइ छ । त्रिचन्द्र क्याम्पस स्थापना भएको सय वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले क्याम्पसको गुणस्तरवृद्धि, पुस्तकालय निर्माणमा सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए तर अहिलेसम्म केही उपलब्धि हासिल हुन नसकेको सहायक प्रमुख गुरुङले बताइन् ।

देशको उच्च ओहोदामा रहेका व्यक्तित्वहरुले यसै क्याम्पसमा अभ्ययन गरी, यहाँकै ज्ञानले देश चलाउने भए । तर, हिजोआज चिरपरिचित देशकै जेठो क्याम्पस छायामा परेको छ, यसो हुन भनेको हामी सबैको दुर्भाग्य हो । अध्ययनका लागि पुस्तकालय जस्तो महत्वपूर्ण अंगमा पनि राजनीतिक खिचातानीका कारण ओझेलमा पर्नु लाजमर्दो कुरो भएको विद्वानहरु बताउँछन् ।

विमल कोइराला
पूर्व मुख्य सचिव

पूर्व विद्यार्थी त्रि–चन्द्र कलेज
हाम्रो पालामा त्रि–चन्द्र कलेजमा निकै राम्रो पढाइ हुन्थ्यो । त्यतिबेला विद्यार्थीमा पनि सिक्ने चाहना ज्यादा हुन्थ्यो भने प्रोफेसरमा सिकाउने चाहना हुन्थ्यो । सिक्ने र सिकाउने दुवैको तादाम्यता मिलेर होला उति बेला निकै राम्रो पढाइ हुन्थ्यो । त्यतिबेला अहिले जस्तो च्याउसरी प्राइभेट  कलेज थिएनन् । गुरुहरुले पनि कलेज र विद्यार्थीको उन्नतिप्रगतिमा निकै ध्यान दिनुहुन्थ्यो । त्यति बेला पञ्चायती शासन अनि विद्यार्थीमा पढाइको भोक पनि बढी हुनु, कारण के भने शिक्षाको उन्नतिले मात्रै हामी हरेक पाइलामा अगाडि बढ्न सक्छौँ । त्यति बेला विद्यार्थीको संख्या कम भएकोले पनि सबै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सहज भएको थियो ।
मैले आजभोलि सुनेको छु पढाइ राम्रो छैन, यो अति नै दुःखलाग्दो कुरा हो । शिक्षा लिने र दिनेबीचको सम्बन्ध पनि पहिले जस्तो हुँदैन, अहिलेका  विद्यार्थीमा खासमा भन्नुपर्दा थोरैमा मात्र अनुशासन हुन्छ । हाम्रो पालाको जस्तो सबै विद्यार्थी अनुशासनमा बस्दैनन् ।
विद्यार्थीले प्रोफेसरहरुलाई दुव्र्यवहार गरेको पनि सुन्छु यस्तो पाराले कसरी ज्ञान लिन सकिन्छ ? अवश्य सकिँदैन । म आग्रह गर्छु, अहिलेको पुस्ताले कलेजमा त्यस्तो व्यवहार कहिल्यै नगरोस् । शास्त्रले त शैक्षिक संस्थालाई सरस्वतीको मन्दिर पो ठान्छ । हामीले थाहा पाइरहनुपर्ने कुरा मन्दिरमा कदापि अराजक गतिविधि गर्न हुँदैन ।  
शिक्षामा गुणस्तरीयता ल्याउनका लागि शिक्षक, विद्यार्थी, अभिभावक र सरकार गम्भीर भएर लाग्नुपर्छ । शिक्षामा कसरी उपलब्धि बढाउन सकिन्छ भन्नेमा अवश्य पनि सबै एकजुट हुनुपर्छ ।

आशीष भण्डारी
अहिलेका विद्यार्थी

 त्रि–चन्द्र कलेज
धेरै समस्या छ, सानोतिनो निहुँमा पनि हुलदंगा भइहाल्छ, पढाइ हुने दिन एकदम कम हुन्छ ।  प्राध्यापकहरु बेलामा आउँदैनन् । कतिले त आफ्नो जिम्मामा आएको कोर्ष नै भ्याउँदैनन् । हामी (विद्यार्थी) ले ट्युसन पढेर भए पनि पास त हुनुपर्छ । पुस्तकालयमा आवश्यक पुस्तक नै छैनन् सीमित पुस्तक मात्र हुन्छन् । ढिलो भर्ना हुनेले त पुस्तक छुनै पाउँदैनन् । माग राख्यो भने आश्वासन धेरै पाइन्छ तर काम भने हुँदैन । जसले गर्दा हामी गाउँबाट दुःख गरेर पढ्न आएकालाई धेरै समस्या छ ।

Leave A Comment