सीताराम कट्टेल ‘धुर्मुस’ अहिले सर्वाधिक चर्चित हास्यकलाकारमध्येका एक हुन् । फरक–फरक भूमिका निभाएकाले उनी चाँडै दर्शकको मनमा बस्न सफल पनि भए । अझ उनले गरेको पछिल्लो सामाजिक कार्यले त उनी राष्ट्रिय व्यक्तित्व नै बनेका छन् । तर उनले यहाँसम्म आइपुग्न निकै पापड बेल्नु परेको थियो । उनले सहजै यो स्थान बनाएका होइनन् । झापाको सामान्य पारिवारिक पृष्ठभूमिका उनी एसएलसीपछि उच्च अध्ययन र करियरको खोजीमा काठमाडौँ आएका थिए । १७ सय रुपैयाँ बोकेर काठमाडौँ आएका धुर्मुसमा कलाकार बन्ने भूत सवार थियो । यसका लागि उनले काठमाडौँमा निकै संघर्ष गरे । यद्यपि उनले सुरुवाती दिनमा अभिनयमा सफलता पाउन सकेनन् । अन्ततः हार मानेर उनी झापा फर्किए । पछि पुन संघर्ष गर्न भन्दै दोस्रो पटक काठमाडौँ आएका उनी यस पटक भने सफल भए र आज चर्चित कलाकारको रुपमा स्थापित बन्न सफल भए ।
चस्केर कि झस्केर ?
गायक लाक्पा शेर्पाको स्वरमा रहेको गीत ‘झस्केर दुख्छ यो मुट मेरो’ कुनै समय रेडियो नेपालमा सर्वाधिक बज्ने गीतमा पथ्र्यो । प्रेमध्वज प्रधान, नारायण गोपाल, योगेश वैद्य, तारादेवी लगायतका गायक–गायिकाको दबदबा रहेको समय शेर्पाको यो गीत पनि कम थिएन । गीत रेडियोमा बज्न थालेपछि लामो समयसम्म स्रोताको अनुरोधमा बज्ने गीतहरुमा शेर्पाको गीत पहिलो नम्बरमा पर्न सफल भएको थियो । रमाइलो कुरा के थियो भने यस गीतमा ‘झस्केर’को स्थानमा ‘चस्केर’ थियो तर रेकर्डिङको समय शेर्पाले चस्केर गाउनु पर्नेमा झस्केर गाइदिए । वान टेक रेकर्डिङको समयमा एउटा शब्द दोहो¥याउँदा पनि सबै गीत सुरुदेखि नै गाउनु पथ्र्यो र सबै वाद्यवादकले पनि सुरुदेखि नै बाजागाजा बजाउनु पथ्र्यो । त्यसैले पुनः रेकर्ड गर्नुको साटो चस्केर गाउनु पर्नेमा झस्केर रेकर्ड भएको गीतलाई नै सार्वजनिक गरिएको हो । गीतमा मदन दीपविमको संगीत र मञ्जु शर्माको शब्द रहेको छ ।
बाटो शब्दको कमाल
रमण घिमिरे यस्ता गीतकार हुन्, जो आफ्ना गीत चर्चित हुनुको श्रेय एउटा शब्दलाई दिन्छन् र त्यो शब्द हो– ‘बाटो’ । संयोग नै मान्नु पर्छ उनका धेरै चर्चित गीतमा बाटो शब्द प्रयोग भएको छ । जस्तै ‘एउटै बाटो सधैँ भेटघाट भइरहँदा’, ‘कहिले तिम्रो पछ्यौरीमा अल्झे’, ‘आधीबाटो हिँडेपछि’, ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो’ आदि । यी सबै गीतमा ‘बाटो’ आउँछ आउँछ ।
फिल्म भनेपछि मरिहत्ते
स्वर सम्राट नारायण गोपालसँग धेरै रमाइला र अनौठा किस्सा जोडिएका छन् । त्यसै मध्येको एउटा किस्सा चलचित्रसँग पनि जोडिएको छ । उनी चलचित्र हेर्न भनेपछि मरिहत्ते गर्थे मात्र होइन, काठमाडौँ उपत्यकामा प्रदर्शन भएका हरेक फिल्म हेर्न छुटाउँदैन थिए । त्यतिबेला काठमाडौँमा अहिले जस्तो हप्तैपिच्छे नयाँ चलचित्र प्रदर्शन हुँदैन थियो । त्यसैले नारायण आफ्नो शौख भिसिआरमार्फत् पूरा गर्न चाहन्थे तर भिसिआर किन्नलाई एकमुष्ट पैसा नभएका कारण उनले आफ्नो शौखलाई भित्रभित्रै दबाइरहनु परेको थियो । पछि यो कुरा म्युजिक नेपालका सन्तोष शर्माले थाहा पाई नारायण गोपालको गीतिसंग्रह बिक्रीबाट आएको रोयल्टी जम्मा गरी उनैलाई छान्न लगाएर २७ हजार रुपैयाँ बराबरको भिसिआर किनिदिएका थिए ।
गाडीमालिक पुष्प नेपाली
‘बालाजुको बाइसै धारा’, ‘शितलु माथि नि शितलु’ जस्ता पुराना गीतका गायक तथा संगीतकार पुष्प नेपाली नेपालमा पहिलो पटक रात्रिबस सञ्चालन गर्ने व्यक्ति हुन् । उनले आफ्नो सञ्चालकत्वमा काठमाडौँ–काँकडभिट्टा रुटमा रात्रिबस चलाएका थिए । रात्रि बसको प्रवद्र्धनका निम्ति उनले ‘जाऊँ न हरर कन्काई बसैमा’ गीतसमेत सिर्जना गरेका थिए ।
सपनाश्रीको नाउँ
कुनै समयकी चर्चित गायिका सपना श्रीको नाममा श्री कसरी जोडियो भन्ने एउटा रमाइलो प्रसंग रहेको छ । २०५२ सालमा चलचित्र ‘छोरीबुहारी’को गीत रेकर्ड गर्न संगीतकार शम्भुजित बास्कोटा सपनासहित प्रकाश श्रेष्ठ, आनन्द कार्की र लोचन भट्टराईलाई लिएर भारतको मुम्बई पुगेका थिए । त्यतिबेला रेकर्डिङको क्रममा केही टेक दिइसकेपछि आराम गरिरहेकी सपनालाई संगीतकार बास्कोटाले फेरि गाउन बोलाउने क्रममा जिस्किदै ‘सपनाजी फेरि गाउन आउनु प¥यो’ भनेका थिए तर बास्कोटाको जिब्रो चिप्लिएर ‘जी’ भन्नुपर्ने ठाउँमा ‘श्री’ उच्चारण हुन पुग्यो । झुक्किएरै भनेको भए पनि बास्कोटा र सपना दुवैलाई ‘श्री’ मन प¥यो । त्यही समयदेखि सपना परियारका रुपमा परिचित गायिका सपनाले आफ्नो नाममा श्री झुण्ड्याउन थालिन् । कालान्तारमा उनी यही नामबाटै संगीत क्षेत्रमा स्थापित बनिन् ।
Leave A Comment