हास्य अभिनेत्री दीपाश्री निरौला नेपाली फिल्म क्षेत्रमा सर्वाधिक कमाउने फिल्मकी निर्देशक हुन् । उनी निर्देशित दुवै फिल्म ‘६क्कापञ्जा’ र ‘६क्कापञ्जा–२’ले व्यापारिक रुपमा ठूलो सफलताको स्वाद चाख्यो । पछिल्लो समय सफलता सँगसँगै उनलाई चर्चा र विवादले पनि उत्तिकै पक्रन थालेको छ । अनिल यादवले नेपाली फिल्म क्षेत्रमा सुनिने कुराहरुका आधारमा उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाई उनले यसरी दिइन् :
१) तपाईंले महिला भएर पनि महिलाविरोधी फिल्म बनाउनुभयो, महिलाको मजाक उडाउनुभयो । ‘६क्कापञ्जा’ र ‘६क्कापञ्जा–२’ त्यसकै उदाहरण हुन् ।
तपाईंहरुलाई हेर्दा लाग्छ, मैले मजाक उडाएँ, महिलाविरोधी फिल्म बनाएँ भनेर फिडब्याक दिनुहोला । र, मैले महिलालाई उडाएको भए महिला दिदीबहिनीले मलाई स्याबासी दिएर ठाउँ–ठाउँमा सम्मान गर्दैनथिए होलान् । ‘६क्कापञ्जा’मा पुरुषले थप्पड हान्न खोज्दा महिलाले रोकेकी छे । पुरुषले गलत काम गर्दा उसलाई गलत स्थानमा पुर्याइदिएकी छे । म यस्तो समाजमा छु, जहाँ पुरुष र महिलालाई बराबर अधिकार छ । पुरुषलाई नराम्रो देखाउँदैमा, महिलालाई राम्रो देखाउँदैमा भन्ने हुँदैन, समाजमा जे हुन्छ त्यो फिल्ममा उठाउनुपर्छ भन्ने लाग्छ । फिल्म भनेको फिल्मीकरण नै हुनुपर्छ र दर्शकलाई पनि त्यही आँखाले हेरिदिन म अनुरोध गर्छु ।
२) तपाईंको करिअर कलाकारिताको बलमा होइन, दीपकराज गिरीको साथले बन्यो । तपाईं जहाँ–जहाँ सफल हुनुभयो त्यहाँ–त्यहाँ दीपकको ठूलो भूमिका छ ।
त्यही भएर त हामी सफल अनि सबल जोडी हौँ । खुसी पनि लाग्छ, ढुंगाको भर माटो, माटोको भर ढुंगा भनेजस्तै दीपकको साथ मलाई, मेरो साथ दीपकलाई । त्यही भएर हामी यहाँसम्म आइपुगेका हौं । वास्तवमा म एक्लै हिँडेको भए, यो यात्रा तय गर्न सक्दिन थिएँ । सायद दीपकजीले पनि ! अर्को कुरा, दीपकजी र म धेरै पहिला भिन्दाभिन्दै तरिकाले काम गथ्र्यौं । त्यतिबेला हामी दुवै खासै पपुलर थिएनौँ । जबदेखि हामी रामविलास र धनियाँ भएर सँगै उत्रियौँ त्यसपछि हामीले पछाडि फर्केर हेर्नुपरेको छैन ।
३) तपाईं फिल्म समीक्षकलाई फिटिक्कै रुचाउनुुहुन्न । आफ्ना कमजोरी, त्रुटि र गल्ती औंल्याइदिनेदेखि तपाईंको कन्सिरी तातिहाल्छ ।
मान्छे हो, कहिलेकाहीँ झनक्क रिस त उठ्छ तर म के भन्छु भने समीक्षा गर्ने समीक्षकहरु पनि कुन लेभलमा हुनुहुन्छ, त्यसको ख्याल हुनुपर्छ । चलचित्र क्षेत्रलाई पढेको र बुझेको मान्छेले समीक्षा गर्र्दा म कहिल्यै पनि रिसाएको छैन । यो पालि त यस्ता–यस्ता समीक्षक देखिए कि जसको समीक्षा पढ्दाखेरी हाँस पनि उठ्यो, रिस पनि । तैपनि म समीक्षकहरुलाई सम्मान गर्छु र के अनुरोध गर्न चाहन्छु भने उहाँहरुले राम्रो चलचित्रलाई प्रोत्साहन गर्नुभयो भने नेपाली फिल्मको बजार फराकिलो हुँदै गइरहेको अवस्थामा धेरै राम्रा चलचित्र भित्रिन्छन् ।
४) तपाईं आलोचना फिटिक्कै सुन्न रुचाउनुहुन्न । कसैले तपाईंको सिर्जनामाथि नकारात्मक टिप्पणी गर्यो भने तत्काल रिसाउनुहुन्छ, ‘रिएक्ट’ गरिहाल्नुहुन्छ ।
हो, अलिकति चाँडै ‘रिएक्ट’चाहिँ गर्छौं तर यो बानी अब सुधार्छौं । सही मान्छेले भनेको छ भने त त्यो आलोचनालाई हामी स्वीकार्छौं तर केही नबुझेको मान्छेले गरेको छ भनेचाहिँ अलिकति चिन्ता लाग्छ क्या ! बुझेर बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । त्यहीमाथि हामी सबै फिल्मकर्मी एक हौँ भनेर हिँडिरहेका बेला फिल्म लाइनकै मान्छेले बोल्दा त चित्त दुख्छ क्या ! तैपनि म अलि चाँडै ‘रिएक्ट’चाहिँ गर्छु, अब यो बानी सुधार्नु पर्छ भन्ने लागेको छ, सुधार्छु पनि ।
५) तपाईं अभिनेता दीपकराज गिरीसँग आवश्यकताभन्दा बढी निकट हुनुहुन्छ ।
हुनैपर्छ । कामै ऊसँग गर्छु । हामी सबै दिनरात नभनी खटेकाले नै हाम्रो फिल्म यहाँसम्म आइपुगेको हो । हामी कामका लागि मात्र भेट्ने भन्ने त कुरै आउँदैन । स्क्रिप्ट राइटिङदेखि नै निर्देशकीय ‘पोइन्ट अफ भ्यू’का हिसाबले म पनि उहाँहरुसँगै हुन्छु । र, सबैभन्दा ठूलो कुरा के हो भने फिल्म भनेको टिमवर्क हो । त्यसकारण दीपकजीसँग मात्र होइन, माग्ने र जितुसँग पनि म उत्तिकै नजिक छु ।
६) तपाईं प्रतिस्पर्धी निर्देशक होइन । तपाईंको फिल्म निर्देशकीय कौशलताभन्दा पनि बहुसंख्यक कलाकारको उपस्थिति मात्र हो ।
यो कुन अर्थमा भन्नुभयो थाहा भएन तर सबैभन्दा ठूलो कुरा फिल्ममा स्क्रिप्ट राम्रो भएन भने कलाकार मात्र उभ्याएर हुँदैन । पछिल्ला केही फिल्मले यसलाई पुष्टि गरिसकेका छन । अस्ति भर्खर एकजना भारतीय स्क्रिप्ट राइटरले भनेर जानुभयो, ‘सबैभन्दा ठूलो कुरा हसाउनका पनि स्क्रिप्ट राम्रो चाहिन्छ ।’ उहाँले यो शब्द बोल्दा मलाई एकदमै खुसी लागेको थियो । खासमा फिल्ममा पात्रमात्र खडा गरेर केही पनि हुँदैन । रह्यो निर्देशकीय कुरा, म हन्ड्रेट पर्सेन्ट पर्फेक्ट निर्देशक होइन । म अझै सिकिरहेकी छु र मेरो सिक्दै गरेको अनुभवले के भन्छ भने निर्देशकको काम भनेको कथा र पात्रलाई जीवन्त बनाउने नै रहेछ ।
७) तपाईं फिल्म क्षेत्रमा प्रतिभाभन्दा गुटबन्दीलाई प्रश्रय दिनुहुन्छ । अभिनेत्री ऋचा शर्मामाथि ‘गेट वेल सुन’ लेख्दै गरिएको सामूहिक फेसबुक आक्रमण पनि गुटबन्दीकै एउटा उदाहरण हो ।
हा हा हा ! ऋचा बहिनीको कुरा निस्किहाल्यो । वास्तवमा यो कुरा त हाम्रो आफ्नै परिवारको कुरा हो । ऋचाजीले हाम्रो फिल्मबारे जहाँ जसरी बोल्नुभयो, त्यो फोरम गलत थियो भन्ने हाम्रो ठम्याई हो । अन्यायमा परेपछि मात्र न्याय पाइन्छ भन्ने कुरा पूरै फिल्म हेरेको भए थाहा हुन्थ्यो । महिलाले थप्पड खान तयार हुँदाखेरी ‘आइ फेल्ट फेरी फूल’ टाइपको कुरा त्यहाँ उठेछ तर सबैभन्दा ठूलो कुराचाहिँ उहाँले गलत फोरममा गएर त्यसरी फिल्मको ओलाचना गर्नुभयो । अनि हामीले त्यसरी ‘रिएक्ट’ गर्नुप¥यो । हामीले पनि ऋचा बहिनी भनेर छोडेको भए हुन्थ्यो, त्यसरी रिएक्ट नगरेको भए हुन्थ्यो । तर, गलत फोरममा बोल्नुभएको भएर हामी पनि बोल्न बाध्य भयौँ । उहाँलाई त्यो फोरममा किन उभ्याइएको भन्ने कुरा नै उहाँले बुझ्नुभएन । उहाँले त्यहाँ गएपछि हाम्रो फिल्म इन्डस्ट्रीको पक्षमा र महिला सशक्तीकरणका बारेमा बोल्नुपथ्र्यो ।
८) तपाईं हास्य अभिनेत्रीभन्दा पनि बढी ‘जोकर’ हो । कुनै खास वर्ग वा समुदाय वा क्षेत्रका मान्छेलाई उडाएर, होच्याएर दर्शक हँसाउनु खोज्नुहुन्छ । फिल्म क्षेत्रकै कलाकारले ‘जोकरभन्दा माथि उठ्न नसक्ने भए’ भन्दै तपाईंको आलोचना पनि गरे ।
उहाँ (जोकर भन्नेलाई) लाई मैले धन्यवाद भनिसकेको छु । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड । के गर्ने, अहिले बजारमा जोकर नै बिक्री भइरहेको छ त ! जोकर कस्तो ठाउँमा प्रस्तुत हुन्छन् ? त्यो त सबैलाई थाहा छँदैछ ।
Leave A Comment