सडेन कार्डियाक अरेस्ट र सेक्स

शनिबार, २२ पुष २०७४, ०१ : २९ शुक्रवार
सडेन कार्डियाक अरेस्ट र सेक्स

हालै भएको एउटा शोध अध्ययनअनुसार सेक्स गर्दा सडेन कार्डियाक अरेस्ट महिलाको तुलनामा पुरुषलाई धेरै हुन्छ तर यो अनुसन्धानले कहिलेकाही  मात्र यस्तो हुने बताउँछ । अमेरिकाको सिडर सायनाय हर्ट इन्स्टिच्युटका डाक्टर सुमित चुघले ४ हजार ५ सय ५७ यस्ता समस्यालाई जाँच गरेका छन् । ३५ ओटा यस्ता समस्यामा सेक्स गर्दा वा त्यसको एक घण्टाभित्र कार्डियाक अरेस्टको समस्या देखिएको अनुसन्धानले देखाएको थियो । यसमा ३४ मध्ये ३२ पुरुषको संख्या थियो ।
सेक्स र सडेन कार्डियाक अरेस्ट बीचको सम्बन्धमाथि डाक्टर चुघले गरेको अध्ययन अहिलेसम्मकै पहिलो अध्ययन हो ।
सडेन कार्डियाक अरेस्ट र हृदयाघातबीच थोरै फरक हुन्छ । हृदयाघात हुँदा मुटुमा पुग्ने रगत केही कारणले बन्द हुन्छ । त्यस्तै सडेन कार्डियाक अरेस्टमा केही कारणले अचानक मुटुले काम गर्न छाड्छ ।
सडेन कार्डियाकमा केही समयभित्रै मानिस बेहोस हुन्छ, उसको सास बन्द हुन्छ  । समयमै उपचार भएन भने रोगीको ज्यान पनि जान सक्छ । अस्पतालबाहिर अचानक कार्डियाक अरेस्ट हुने ९० प्रतिशत रोगीको ज्यान बचाउन गाह्रो हुन्छ । सिपिआर (कार्डियो–पल्मोनरी रिसुसाइटेसन) नपाउँदा हरेक मिनेटमा बिरामीको बच्ने सम्भावना १० प्रतिशतले कम हुन्छ । केही मिनेटमै बिरामीले सिपिआर पाएको खण्डमा भने उसको बच्ने सम्भावना दुईदेखि तीन गुनासम्म बढ्छ ।
सिपिआर अवधिमा छातीमा एक मिनेटमा १०० सयदेखि १२० सम्म थिच्नुपर्छ । यसलाई बुझाउनका लागि अमेरिकाको म्युजिकल ब्यान्ड बिजिजको गीत ‘स्टे अलाइभ’ लाई सुन्ने सल्लाह दिइन्छ । यसको बिट्सलाई सिपिआरको रफ्तारको सही उदाहरणको रूपमा मान्न सकिन्छ ।
डाक्टर चुघ र उनका सहयोगीले पोर्टल्यान्डमा सन् २००२ देखि २०१५ सम्म सडेन कार्डियाक अरेस्टको जाँच गरेका थिए ।  तीमध्ये एक प्रतिशतभन्दा पनि कम समस्याको मूल कारण सेक्स हो भनी निष्कर्षमा पुगेका थिए । यसमध्ये धेरैजसो मध्यम उमेरका अफ्रिकी–अमेरिकी पुरुष थिए, जो पहिलेदेखि नै कार्डियो भास्कुलर समस्याबाट पीडित थिए ।
एक तिहाई यस्ता समस्यामा मात्रै बिरामीलाई सिपिआर दिइएको थियो । त्यस बेला बिरामी एक्लै थिएनन् । डाक्टर चुघका अनुसार यस किसिमको रोग भएको परिवारको कुनै न कुनै सदस्य सिपिआरमा दक्ष हुन आवश्यक छ ।
सिपिआर इमरजेन्सीको अवस्थामा दिइने प्राथमिक चिकित्सा पद्धति हो, जसमा छातीलाई छिटोछिटो थिचिन्छ र बिरामीलाई श्वास दिने प्रयास गरिन्छ । एक अर्को अध्ययनअनुसार ६ वर्षको बच्चालाई पनि सिपिआर दिन सिकाउन सकिन्छ ।
ब्रिटिस हार्ट फाउन्डेसनका अनुसार ‘हर्ट अट्याक’ वा कुनै पनि सर्जरीपछि ४ देखि ६ हप्तासम्म सेक्स गर्नु हुँदैन । त्यसैले सडेन कार्डियाक अरेस्ट र सेक्सको सम्बन्ध चिकित्सकहरुले त्यति नजिकको पाएका छैनन् ।

Leave A Comment