सम्पादकीय : यौन उत्पीडनमा किन मौन !

शुक्रबार, ०५ माघ २०७४, ०८ : ३६ शुक्रवार
सम्पादकीय : यौन उत्पीडनमा किन मौन !

हलिउडमा सन् २०१७ मा मिटू ह्यासट्याग ठूलो हलचलका रुपमा चिनियो । खासमा ८४ जना फिल्म अभिनेत्री तथा महिलाहरुले फिल्म निर्माता हार्भे विन्स्टिनमाथि यौन उत्पीडन, बलात्कार तथा अन्य विविध यौन हिंसाको आरोप लगाएपछि त संसारभरि नै मिटू ह्यासट्याग अभियान सुरु भयो । हलिउड मात्र होइन, चीनमा पनि त्यहाँका सामाजिक सञ्जालमा यो अभियान चल्यो ।

मिटूको जगजगीका बीचमा भारतीय फिल्म उद्योगको मूलधार अचम्म गरी मौन रह्यो । त्यसो त कल्की कोचलिन, राधिका आप्टे, कंगना रनावत,  कोनकणा सेनजस्ता मूलधारबाहिरका अभिनेत्रीले मात्र मुख खोलेको देखियो ।
यस्तो अवस्थामा नेपाली फिल्म उद्योगका न त मूलधार न त मूलधारबाहिरका कुनै अभिनेत्रीले आफूमाथि भएको यौन उत्पीडन तथा यौन हिंसाका बारेमा मुख खोले ।

नेपाली फिल्म उद्योगभित्र कहिलेकाहीँ यस्ता उत्पीडनका कुरा छताछुल्ल नहुने होइनन् । श्रीषा कार्की, जेसिका खड्काजस्ता अभिनेत्रीले यौन उत्पीडन सार्वजनिक भएकै कारण आत्महत्या गर्नुपरेको थियो । श्रीषा काण्डमा पत्रकारविरुद्ध नाराबाजी भए तर जेसिकाको आत्महत्यामा पूरै उद्योग मौन देखियो ।

नेपालजस्तो बन्द तथा पछौटे समाजमा यौन उत्पीडन पर्दापछाडि हुने सबैभन्दा घिनलाग्दो सत्य हो । यस्तो घिनलाग्दो सत्य फिल्म निर्माणको घोषणाबाट नै सुरु हुन्छ । जहाँ एउटा वा दुइटा कोठा भाडामा लिएर शोषणको पसल थापिन्छ । त्यहाँ फिल्म खेलाएबापत पाइने प्रत्यक्ष र अप्रत्यक्ष फाइदाको ‘सौदा’ हुने गर्छ । त्यहाँ शरीर बन्धक राखेर फिल्म खेल्न रुचाउने युवतीदेखि ब्ल्याकमेल र अप्ठेरो पार्दै फँसाउने अनेक किसिमका प्रपञ्च हुने गर्छन् । र, यो कुनै नचाहिँदो–नहुँदो कुरा होइन– एउटा ओपन सेक्रेट नै हो ।

अनौपचारिक कुराकानीका क्रममा कैयौँ अभिनेत्रीहरुले कसरी अमूक अभिनेताबाट बच्न अभिनेत्रीहरुले ट्रिक लगाउँथे, कसरी आफू फिल्म उद्योगका ‘ब्वाँसा’हरुबाट बच्नका लागि फिल्मका चल्तीका हिरो तथा निर्मातासँग आफ्नो नाउँ जोड्थे, कसरी फिल्म उद्योगमा भर्खर उदाएका नायिकाहरुलाई फिल्मका निर्माताहरुले ‘फलानी मेरी र चिलानी तेरी’ भनी भागबण्डा गर्थे भन्ने कुरा कुनै नौलो कुरा होइन तर संसारभर आफू पीडित भएको यत्रो हल्लीखल्ली हुँदा सार्वजनिक रुपमा यसबारे कुनै पनि अभिनेत्रीहरुले चुइँक्क मुख खोलेका छैनन् ।

दुई वर्षअघि यही माघ महिनामा ‘बिर्खेलाई चिन्छस् ?’ फिल्मकी अभिनेत्री आयुषा राईले आफूलाई मुनाल शिशिर नामक एक जना म्युजिक भिडियो निर्देशकले उनको भिडियो खेलेबापतको पैसा नदिएको बरु उल्टै आफूसँग सुते रातारात हिट बनाइदिने आश्वासन दिएकोमा भण्डाफोर गरेकी थिइन् । यो नेपालजस्तो पछौटेपन बोकेको मुलुकमा हुने दुर्लभ घटनामध्येको हो तर यस घटनामा मुनाल शिशिरले कुनै गम्भीर किसिमको सजाय पाए न त अन्य फिल्म अभिनेत्रीहरुले नै आफूमाथि भएको अन्यायबारे खुलेर कुरा गरे ।

त्यसो त मुख खोलिहाले पनि यस्तो घटना पुरुषको पुरुषार्थ बयान गर्ने विषय बन्छ, उनीहरुको बेइज्जतीको मामिला बन्दैन । न त कसैले प्रमाणसहित अदालतसामु उभिए, त्यसैका आधारमा ‘प्रताडित’ गर्ने पुरुष सजायको हकदार हुन्छ । यस्तो अवस्थामा पीडितहरु तैँ चुप मै चुपको अवस्था सिर्जना हुनु स्वाभाविक हो ।

विकसित मुलुकका परिवर्तनकारी फिल्म उद्योगमा काम गर्ने निर्माता, निर्देशक तथा अभिनेताहरु नै यौनकाण्डमा फँसेका छन् भने यो मुद्दा कसैले नउठाएका कारण नेपाली फिल्ममा छँदैछैन भन्न सकिन्न । प्रकाश ओझा काण्डका कारण प्रताडित जेसिका खड्काको आत्महत्या लामो समयदेखि समाजले उनलाई लगाएको लाञ्छनाको परिणाम हो । यसको अर्थ हो, जसले आफूमाथि भएको अन्यायबारे मुख खोल्छ, ऊ सधैँका लागि समाजको ‘धब्बा’का रुपमा रहिरहन्छ । यस्तो अवस्थामा निमुखाका अगाडि आत्महत्या नै उचित मार्ग प्रतित हुन्छ ।

जहाँ फिल्मका लागि ‘जे पनि गर्न तयार छु’ भन्ने हुन्छन्, त्यहाँ उनीहरु शोषित हुने, प्रताडित र ब्लाकमेलिङमा पर्ने सम्भावना उत्तिकै हुन्छ । तसर्थ, शिक्षित समाज, अधिकारप्रति सचेत पुस्ता, महिला अनुकूलको उद्योग तथा शोषणमुक्त फिल्मउद्योगका लागि जिम्मेवार फिल्मकर्मी, फिल्म निर्माता तथा उद्योगका प्रतिष्ठित व्यक्तिहरुले प्रतिबद्धता व्यक्त गर्नु जरुरी छ । संसारभरि चलिरहेको अभियानमा अलग्गै टापुका रुपमा आफूलाई उभ्याउनु न्यायसंगत हुँदैन । मुख खोल्नुपर्छ, अन्यायविरुद्ध लड्नुपर्छ अनि मात्र आफ्नो अधिकार सुरक्षित हुन्छ ।

 

Leave A Comment