बलिउडका दुई प्रेमकथा

सोमबार, ०३ साउन २०७३, ०२ : ४५ शुक्रवार , Kathmandu
बलिउडका दुई प्रेमकथा

हेमा–धर्मेन्द्र
हेमा मालिनी र धर्मेन्द्रको भेट पहिलो पटक ख्वाजा अहमद अब्बासको फिल्म ‘आसमान महलको प्रिमियरका क्रममा सन् १९६५ मा भएको थियो । त्यतिबेलासम्म धर्मेन्द्र फिल्म इन्डस्ट्रीमा सुपरस्टारका रूपमा स्थापित भइसकेका थिए । हेमाले चाहिँ एउटा मात्र फिल्ममा अभिनय गरेकी थिइन् । तर, बिस्तारै उनीहरू एकअर्काप्रति आकर्षित भए । र, नजिकिन थाले । फिल्म ‘सोले’ को सुटिङका क्रममा उनीहरू प्रेममा डुबे र सन् १९८० मा बिहे–बन्धनमा बाँधिए ।
एक अन्तर्वार्तामा हेमाले भनेकी थिइन्– ‘नासिकमा फिल्म ‘प्रतिज्ञा’को सुटिङ चलिरहेको थियो । त्यतिखेर मैले धर्मेन्द्रको ‘मैं जट यमला पगला दीवाना गीतमा डान्स देखेँ । उनको डान्स देखेर उनीप्रति आकर्षित भएकी थिएँ ।’
हेमा दक्षिण भारतीय परिवारसँग सम्बन्धित थिइन् । उनको परिवार धर्मेन्द्रसँगको प्रेमबाट खुशी थिएन । धर्मेन्द्र पंजाबी थिए र उनी विवाहित पनि थिए । यी दुई कारणले गर्दा हेमाको परिवार उनीहरूको सम्बन्धबाट खशी र सहमत थिएन । त्यसैले हेमा लुकीछिपी धर्मेन्द्रलाई भेट्थिन् । कतिपय पटक त हेमाका परिवारको कुनै न कुनै सदस्य सुटिङस्थलमा आउँथ्यो नै । त्यसैले हेमा र धर्मेन्द्रलाई भेट्न अप्ठ्यारो हुन्थ्यो । सुटिङपछि पनि बाहिर उनीहरू भेट्न सक्दैनथे ।
उनीहरू हेमाको परिवारको कडा निगरानीमा सुटिङ गर्थे । धर्मेन्द्रले एउटा उपाय निकाले । जुनजुन फिल्ममा उनी हेमासँग काम गर्थे फिल्मका क्यामराम्यानलाई आफूतिर मिलाउँथे । रोमान्टिक सिन एक पटकमै ओके नहोस् भनेर उनी क्यामराम्यानलाई एक पटकमा ओके नगर्नू भन्थे । त्यसैले क्यामराम्यान कहिले लाइट कम भएको भन्थ्यो त कहिले कुनै अर्को कारण बताउँथ्यो । धर्मेन्द्रले यसको एक कोड बनाएका थिए । सिन रिटेक गर्नुपर्दा उनी बिस्तारै आफ्नो कान छुन्थे र सिन ओके गर्दा आफ्नो नाक छुन्थे । यसरी उनी हेमासँग लामो समय बिताउन पाउँथे ।

डिम्पल–राजेश खन्ना
एकताका बलिउडमा बोल्ड छविका कारण चर्चित डिम्पल कपाडियाले सन् १९७३ मा फिल्म ‘बबीबाट डेब्यू गरेकी हुन् । यस फिल्ममा उनले सर्ट ड्रेस लगाएकी थिइन् । फिल्ममा उनी बिकिनीमा पनि देखिइन् । यसपछि फिल्म ‘सागर, ‘जांबाजमा पनि उनी बोल्ड रूपमा देखिइन् । यिनै डिम्पलले १६ वर्षको उमेरमा सुपरस्टार राजेश खन्नासँग बिहे गरेकी थिइन् ।
राजेश खन्ना र डिम्पलको पहिलो भेट अहमदाबादको नवरंगापुरा स्पोट्र्स क्लबमा भएको थियो । नवरंगपुरा स्पोट्र्स क्लबको एउटा कार्यक्रममा राजेश मुख्य अतिथिका रूपमा आएका थिए । यहीँ उनको भेट डिम्पलसँग भयो । फगत एक नजरमा उनी डिम्पलप्रति आकर्षित भए । यहीँबाट उनीहरूको प्रेमकथा सुरु भएको थियो ।
डिम्पल र राजेशबीच तीन वर्षसम्म अफेयर चल्यो । सन् १९७३ मा उनीहरूले बिहे गरे । बिहेका बेला डिम्पल राजेशभन्दा धेरै कान्छी थिइन् । उनीहरूका दुई छोरी भए ट्वींकल र रिंकी । राजेश र डिम्पलको वैवाहिक जीवन लामो समयसम्म टिकेन ।

Leave A Comment