लोकदोहोरी गायिका निरु कार्कीको अनुभव : ग्राहकले‘घुम्न जाउँ भनेर हैरान पार्छन्’

सोमबार, १५ माघ २०७४, १२ : ३६ भोला अधिकारी
लोकदोहोरी गायिका निरु कार्कीको अनुभव : ग्राहकले‘घुम्न जाउँ भनेर हैरान पार्छन्’

 

दोहोरी साँझ बेलुका कति बजेसम्म चल्छ ?
बेलुका ६ बजेदेखि सुरु भएर बेलुका१÷२ बजेसम्म चल्छ ।  

कति बजेसम्म सुत्नुहुन्छ त ?
त्यस्तै कामको प्रकृति हेरेर, कतै कार्यक्रम छ भने बिहान ७-८ बजेतिर उठिन्छ, कार्यक्रम केही छैन भने ११÷१२ बजेसम्म सुतिन्छ  ।

परिवारको सपोर्ट कत्तिको छ ?
पहिले त सपोर्ट थिएन । अहिले भने मलाई घरबाट सपोर्ट छ । लोकदोहोरी गाएर चर्चामा आएपछि अहिले सबैले माया गर्नुहुन्छ ।


दोहोरी साँझमा कस्ता गेस्ट आउँछन् ?
कोही कलाकारलाई सम्मान गर्ने खालका गेस्ट आउँछन्, कोही नराम्रो सोच्नेहरू पनि आउँछन् । उनीहरूले अनावश्यक रूपमा फोन नम्बर पनि माग्छन् । दोहोरी साँझभित्र आएपछि मान गर्नैपर्छ ।


तपाईंंले पनि गेस्टहरूलाई नम्बर दिनुहुन्छ ?
राम्रा खालका छन् भने दिन्छु, गेस्ट कस्ता खालका हुन् बुझेर मात्र दिन्छु । सबैलाई दिने भन्ने हुँदैन ।


गेस्टहरूले कस्ता गीत रुचाउँछन् ?
कोही छाडा खालका गीत रुचाउँछन् । कोही रोमान्टिक खालका गीत रुचाउँछन् । जस्तो माग आए पनि गेस्टका रोजाइका गीत गाउनुपर्ने हुन्छ ।


गायकलाई भन्दा गायिकालाई बढी टिप्स दिन्छन् रे नि ?
होइन । स्टेजमा आएको टिप्स सबैलाई बराबर बाँडिन्छ । यसलाई धेरै, उसलाई थोरै भन्ने हुँदैन ।


गेस्टहरूले घुम्न जाऊँ भनेर प्रस्ताव राख्छन् रे हो ?
रक्सी खाएपछि भन्छन् नि । तर राम्रा गेस्टले त्यस्तो भन्दैनन् । राम्रो गर, तिम्रो गायन राम्रो छ भनेर प्रशंसा गर्छन् । तर, फटाहा लफङ्गाले उनीहरू बसेको टेबुलमै बोलाउँछन् । नराम्रो नियत भएकाले नम्बर देऊ, भोलि घुम्न जाने भनेर हैरान पार्छन् ।

दोहोरी साँझमा गाउनेलाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ ?
नकारात्मक नै छ । दोहोरी साँझमा लाग्दैमा मान्छे बिग्रने भन्ने हुँदैन । बिग्रने दोहोरीमा नलागे पनि बिग्रन्छन् ।


दोहोरी साँझमा काम गर्नेहरू यौन पेसामा पनि संलग्न हुन्छन् भन्ने सुनिन्छ नि ?
हल्लाको पछि लागेर हुँदैन । म लाग्या छैन । थाहा पनि छैन । यो सहरमा होलान् कोही–कोही । २÷४ जनाले गर्दा दोहोरी साँझ बदनाम भएको छ ।


यहाँ कत्तिको झगडा पर्छ ?
कहिलेकाहीँ रक्सीले गर्दा गेस्टहरू आफू–आफूमै झगडा गर्छन् ।

झगडा पर्यो भने के गर्नुहुन्छ ?
सानो–तिनो झगडा त्यहीँ मिलाउने गर्छन् । ठूलै झगडा भयो भने पुलिस आउँछन् ।

केटीको निहुँमा कत्तिको झगडा हुन्छ ?
गेस्टलाई कति खुसी बनाउन सकिन्छ भन्नेमा मात्र हामीहरूको ध्यान जान्छ, अरूतिर खासै ध्यान जाँदैन ।


दोहोरीमा कस्ता–कस्ता ग्राहक आउँछन् ?
यस्तै भन्ने हुँदैन । बढी खाने, खाएपछि ल्याङल्याङ गर्ने अनिसँगै नाचिदिनुपर्ने पनि आउँछन् । नाच्दा–नाच्दै झुक्किएर खुट्टा कुल्चिदा निहुँ खोजेर झगडा गर्ने पनि आउँछन् । राम्रा पनि आउँछन् ।


दोहोरीमा गाउँदाको स्मरणीय क्षण ?
छ नि कति । सुरुमा नाम चलेका गायक गायिकाले यस्ताले पनि गाउँछे भनेर भन्थे । कतिले सपोर्ट पनि गर्थे र गर्छन् ।  अहिले दोहोरी साँझमा गाउँदा–गाउँदै ७ वटा एल्बम पनि निकालेँ । केही गीत चर्चामा पनि आए ।

Leave A Comment