कुखुराको समवेदना

बिहिबार, १८ माघ २०७४, ०४ : ०५ शुक्रवार
कुखुराको समवेदना

अमेरिकाको टेक्सस राज्यको एक अखबारमा कुखुराको समवेदना प्रकाशित भएसँगै तरंग ल्याइदिएको छ । गत बिहीबार टेक्ससस्थित बरयानको स्थानीय ‘द इगल’ पत्रिकाले रोडे आइल्यान्डको छ वर्षे पोथी कुखुराको समवेदना छापेको थियो ।
‘सबै कुखुराले समवेदनामा छाउने अवसर पाउँदैनन् तर यसले भने त्यो अवसर पाएको छ,’ बिग मामा नामक पोथी कुखुराको समवेदना प्रकाशित गराउँदै समवेदनामा लेखिएको छ ।

होउसटन अपार्टमेन्टमा पालिएको बिग मामालाई सम्मान गर्दै समवेदना छपाइएको बताइन्छ । सन् २०१३ मा पाल्तु रुपमा भित्र्याइएको उसलाई स्टेफिन र जर्जरी स्वर्ड नामका आमाबुबाले दुई छोरासहित बिग मामालाई हुर्काएका थिए । समवेदनामा बिग मामा बाँचेको समयमा चौबिसै घन्टा सातैदिन घर बगैंचामा खुसी छाउने गरेको लेखिएको छ । बिग मामा गत आइतबार परिवारका सबै सदस्यहरू सुतेको समयमा मरेको थियो । 

स्टेफिन स्वर्डले केबिटिएक्स टिभीलाई आफूहरुको कुखुरामाथि व्यक्त गरेको समवेदनापछि यस्तो किसिमको प्रतिक्रिया आउला भन्ने कल्पनै गरेका थिएनन् । हुन पनि कुखुरी मरी, उनीहरूले भावनामा बगेर समवेदना छापे तर छापिएपछि जुन किसिमको प्रतिक्रिया उनीहरूले पाइरहेका छन्, त्यसबाट उनीहरू स्वयं चकित परिरहेका छन् ।

स्टेफिनले भनेकी छन्, ‘बिग मामाको कथाले हामीलाई ऊ हाम्रो जीवनको अभिन्न अंग भएको स्मृति दिलाउला भन्ने सोचेर समवेदना प्रकाशित गराएका थियौं ।’ धेरै मानिसहरुले भने कुखुरा मासुका लागि पालिने चरा भएको लेखेका छन् भने केहीले सकारात्मक प्रतिक्रिया स्वरुप एउटा कुखुरा कसरी एक परिवारको अभिन्न अंग बन्न जाँदोरहेछ भनेर दुःखीसमेत भएको बताएका छन् । केही समयअघि भएका वैज्ञानिक अध्ययनले कुखुराले पनि मानिसलेझैं भावना व्यक्त गर्ने र छाटो समयका लागि भविष्यबारे सोच्नुका साथै केही गणितीय सूत्रहरुमा काम गर्न सक्ने बिबिसीले गत जनवरीमा एउटा रिपोर्ट लेखेको थियो ।

Leave A Comment