न्हू पुखु कि रानीपोखरी ?

शुक्रबार, १९ माघ २०७४, ०१ : ४५ प्रा. दिनेशराज पन्त
न्हू पुखु कि रानीपोखरी ?

वि.सं. १७२७ मा राजा प्रताप मल्लले बनाएको रानीपोखरी काठमाडौँ सभ्यताको उम्दा नमुना हो । पोखरीको भव्यता अहिले नै यस्तो देखिन्छ, झन् त्यो बेला कस्तो होला ! त्यस बेला दुई वर्ष कडा मिहिनेत गरी बनाइएको यो पोखरीको नाउँ पहिला नु पुखु थियो । यसको अर्थ नयाँ पोखरी हुन्छ । पछि मात्र रानीपोखरीका रूपमा प्रचलित भएको हो । अझै पनि बूढाबूढीहरूले यसलाई नु पुखु भनेर सम्बोधन गर्ने गरेका छन् ।

जसरी अहिले न्युरोडमा एउटा द्वार छ, भोटाहिटीमा पनि त्यस्तै एउटा द्वार थियो । भोटाहिटीभन्दा भित्र मुख्य सहर थियो । त्यसबेला सहरबाहिर रानीपोखरी बनाइएको थियो । न्युरोड गेट पुरानो किल्लाको अवशेष हो । ठमेलको ओरालो वा सोह्रखुट्टे जहाँ छ, त्यहाँ पनि एउटा गेट हुन्थ्यो पहिला । शोभा भगवतीबाट त्यो बेला पानी ल्याएर काठमाडौँका बज्राचार्यले सेतो मच्छिन्द्रनाथको पूजा गर्थे । गोरखाली सेनाले त्यो बेला के कसो गर्लान् भनेर बज्राचार्यहरू डराइरहेका बेला त्यस बेलाका राजा जयप्रकाश मल्लले उनीहरूलाई अंगरक्षकसमेत जुटाइदिएका थिए ।

कान्तिपुर अर्थात् काठमाडौँ त्यस बेला पनि निकै शक्तिशाली राज्य थियो । लामो प्रयास गर्दा पनि ठूलो किल्ला र धनी राज्य भएकाले पृथ्वीनारायण शाहले काठमाडौँ विजय गर्न सकेका थिएनन् । इन्द्रजात्राको पूजाका बेला सारा सेना र जनता उत्सवमा मग्न भएका कारण मात्र पृथ्वीनारायणले कान्तिपुर विजय गर्न सम्भव भएको थियो ।
के जनता, के राजा, के सेना सबै उत्सवमा थिए । यस्तो बेला रक्सीले मात्तिएका सेना र जनताले पनि यस किसिमको आक्रमणको कुनै भेउ पाउन सकेनन् । जुन बेला भेउ पाए, त्यतिञ्जेल ढिला भइसकेको थियो । त्यो बेला चाडपर्व र रक्सीले नमात्तिएका भए पृथ्वीनारायण शाहले काठमाडौँ विजय गर्न अझ बढी समय लाग्थ्यो ।

त्यो बेला रानीपोखरी छेउछाउ विदेशी राष्ट्राध्यक्षहरू भेट्ने थलो थियो । एकैचोटि भित्र दरबारमा तिनलाई ल्याइँदैनथ्यो । सहरभन्दा पर, एकान्तको ठाउँमा भेट्न उचित हुने ठानेर त्यतै भेटिन्थ्यो । रानीपोखरी अहिले खुम्चिएर यत्रो भएको हो । नत्र पहिला यसको आकार ठूलै थियो । अहिले विद्युत प्राधिकरणको कार्यालय छेउतिर स–साना बालबालिकाको मृत्यु भए, तिनीहरूलाई गाढिने वा जलाउने बालमसान थियो । अहिले रत्नपार्कबाट भोटाहिटीतर्फ जाने अन्डरग्राउन्ड जुन बाटो छ, त्यहाँ अंशुवर्मा कालको ठूलो धारो रहेको हाम्रा बाजेहरूले सुनाउनु हुन्थ्यो । अहिले जुन टुँडिखेल छ, त्यो अझ विस्तार गर्ने भनेर रणोद्दीपका पालामा वरपर भएका महत्वपूर्ण संरचना मासिए । त्यहाँ लिच्छविकालका महत्वपूर्ण संरचना मात्र थिएनन्, मल्लकालका पनि थिए । त्यसलाई जोगाएको भए अहिले कत्रो महत्व हुन्थ्यो होला ! राणाकालमा यस्ता चिज मासिन थालेपछि क्रमशः सबैथोक मास्न थाल्यौँ हामीले ।

अहिले रानीपोखरी मासियो भनेर जुन होहल्ला भइरहेको छ, त्यो क्रम आजको होइन, राणाकालदेखि नै हो । त्यस बेलाको विशाल रानीपोखरी अहिले चारैतिरबाट खुम्चिँदै जान थालेको छ । राजा प्रताप मल्ल, उनका दुई छोरा चक्रवर्तेन्द्र र महीपतेन्द्र हात्तीमाथि चढेको जुन मूर्ति छ, त्यो पहिला बाहिरै थियो । कुनै बेला मूर्ति नजिकैको ठाउँमा रेस्टुराँ हुने गथ्र्यो । रेस्टुराँलाई पछि हटाइयो तर मूर्ति रानीपोखरीभित्र सारियो । मूर्तिलाई त बाहिर नै राख्नुपथ्र्यो, पोखरी वरपरको क्षेत्रलाई अझ विस्तृत पार्नुपथ्र्यो, त्यो हुन सकेन ।

राजा प्रताप मल्लकी प्यारी रानीबाट जन्मिएका चक्रवर्तेन्द्रको वि.सं. १७२६ मा निधन भएपछि राजाले पोखरी खनाउने काम अझ द्रुत गतिमा बढाए । यसको एक वर्षपछि १७२७ मा मात्र पोखरी निर्माण कार्य पूरा भयो ।
रानीपोखरीको छेउमा भएको मूर्तिमा राजा आफ्ना दुई सन्तानका साथमा हात्तीमा सवार भएको देखिन्छ । आखिर राजाले किन महीपतेन्द्रलाई यति प्रेम गर्थे ? मूर्तिमा किन उनलाई सजाए । यसका पछाडि केही कारण हुन सक्छन्, जस्तो– ती रानी राजाकी सबैभन्दा प्रिय हुन सक्छिन्, उनको वचन सायद हार्न सकेनन् । नेपालको इतिहासमा सन्तानप्रेम अन्य बेला पनि देखिन्छ । जस्तो कि वि.सं. १८५१ मा जन्मिएका रणोद्दोत शाह, १८५२ मा जन्मिएका समरशेर शाहलाई छाडेर १८५४ मा जन्मिएका गीर्वाणयुद्ध विक्रम किन राजा भए त ? गीर्वाणयुद्ध विक्रम त अझ बाहुनी पट्टिबाट जन्मिएका थिए । उनले मौका पाउनुमा राजाको गीर्वाणयुद्ध विक्रमकी आमा कान्तवती रानीप्रति विशेष मोह देखिन्छ । त्यसैले पनि रानीपोखरी छेउमा भएको मूर्तिमा महीपतेन्द्र झुल्किएका हुन् कि !

रानीपोखरीको बार
रानीपोखरीको चारैतिर हामीले फलामे बार लगाएको देख्छौँ । खासमा त्यो बार जुद्धशमशेरको पालामा बारिएको हो । मानिसहरू संसारबाट दिक्क मानेर त्यही रानीपोखरीमा हाम्फालेर ज्यान दिन्थे । त्यस बेलाका साधारण मानिसका साथै ठूला विद्वान पनि हाम्फालेर ज्यान फालेको सुनिन्छ । यस्ता कुरालाई विचार गरेर होला जुद्धशमशेरले फलामे बार लगाए । जंगबहादुरका पालामा नै रानीपोखरीको वरिपरि पर्खाल देखिएको बयान पाइन्छ । रानीपोखरी वरपर विविध किसिमका निर्माण बढ्दै जाँदा पोखरी खुम्चँदै गएको हो । आज जुन अवस्था पोखरीको छ, विकासका नाममा, बाटोका नाममा र अन्य धेरै निर्माणका नाममा खुम्चन थालेको छ ।

कठै पानी र माछा !
अहिले रानीपोखरी निर्माण, पुनर्निर्माण वा स्तरोन्नति जे गरिँदैछ, त्यो काम गर्ने नियतले भएको होइन । त्यो कमिसनको नियतले भएको हो । नत्र भने रानीपोखरी निर्माण गर्नका लागि बजेट छ, त्यो बजेटअनुसार हामीले पोखरीलाई जुन स्वरूपमा ल्याउन सक्छौं, जस्तो बनाउन सक्छौँ, बनाए भइहाल्यो ! भएको बजेट कसरी सिध्याउने भन्ने ध्याउन्नका कारण हुनुपर्ने काम हुन सकेन ।

रानीपोखरी कस्तो बनाउने भन्ने विषयमा विज्ञहरुको एउटा टोली बनाएको सुनेँ । यी विज्ञलाई रानीपोखरीबारे अनुसन्धान गर्नका लागि जम्माजम्मी १५ दिन तोकिदिए । १५ दिनमा काम सम्पन्न हुन सकेन भनेपछि त्यसपछि पुनः केही समय थपियो क्यार ! सबैभन्दा बढी त अनुसन्धानमै समय लाग्छ । बाल गोपालेश्वर मन्दिर कस्तो बनाउने ? मल्लकालीन बनाउने कि, राणाकालीन बनाउने कि भएकैमा रेट्रोफिटिङ गर्ने कि भन्ने कुराको निक्र्योल नगरी एकैपटक त्यसलाई भत्काइयो । तीन वर्षसम्म रानीपोखरी बनाउन बितेन भने अब अझै केही महिना अध्ययन–अनुसन्धान गर्न छुट्याउँदा के बित्थ्यो ?

काम गर्नका लागि बजेट चाहिने आफ्नो ठाउँमा होला तर रानीपोखरीमा जुन पानी थियो, जति माछा थिए तिनलाई हतारहतार निकाल्नुपर्ने थिएन ! रानीपोखरी प्रतिष्ठापित गर्नका लागि नेपाल र भारतका प्रसिद्ध तीर्थस्थलहरू वाराणसीको गंगाजल, मनमती, विश्वनाथ, गण्डकी, शंखमूल, मातातीर्थ, गोकर्ण, मुक्तिक्षेत्र, सरयू गंगाको, गोसाइँकुण्ड, अनन्तलिङ्ग, बराहक्षेत्र, गंगासागर लगायत ५१ वटा सुप्रसिद्ध नदी र तीर्थस्थलबाट पानी ल्याइएको थियो । यति महत्वको जल अहिले रानीपोखरीमा थोपै छैन । अब यो पोखरीको प्राणप्रतिष्ठा गर्नुप¥यो भने सानो खर्चले त्यो पानी संकलन गर्न पुग्दैन । यसतर्फ कसैको पनि ध्यान जान सकेन ।

न्हू पुखु अर्थात् नयाँ पोखरी
प्रताप मल्लको मृत्यु भएपछि उनका छोरा नृपेन्द्र मल्ल राजा भए । ६ वर्ष राज्य गरेपछि १८ वर्षको उमेरमा नृपेन्द्र मल्लको मृत्यु भयो । नृपेन्द्र मल्लपछि उनका भाई पार्थिवेन्द्र मल्ल काठमाडौँका राजा भए । विष प्रयोगद्वारा पार्थिवेन्द्र मल्लको मृत्यु भएपछि उनका छोरा भूपालेन्द्र मल्ल काठमाडौँका राजा भए । भूपालेन्द्र मल्लकी रानी भुवन लक्ष्मीले नु पुखुको जीर्णोद्धार गरिदिएकी हुनाले यस पोखरीको नाम रानी पुखु अर्थात् रानीपोखरी रहन गयो र यही नाम बढी प्रसिद्ध हुन गयो । नेवारी भाषामा अहिले पनि रानीपोखरीलाई नु पुखु अर्थात् नयाँ पोखरी भन्ने चलन छँदैछ ।
प्रताप मल्लले पोखरीका बारेमा कुँदाएको शिलालेख तीन ठाउँमा पाइएको छ । त्यो तीन ठाउँ वीर अस्पताल क्याम्पभित्रको पूर्वतिरको पर्खालनिर, नाचघरको ढोकाको भित्तामा र सेतो दरबारभित्र पाइएको छ । सायद चारै दिशामा राख्ने विचारले चारै ठाउँमा प्रताप मल्लले राखेका होलान्, त्यो अहिलेसम्म पाइएको छैन । रानीपोखरीको विषयमा प्रताप मल्लले नेपाली भाषामा यो पोखरीको चार किल्लामा शिलालेख छ । अत्यन्त थोरै ठाउँमा मात्र त्यस शिलालेखमा संस्कृत भाषा र नेवारी भाषाको प्रयोग गरिएको छ । यताबाट प्रताप मल्ल रानीपोखरीको निर्माणको कुरालाई आफ्नो राज्यभित्र मात्र होइन, धेरै ठाउँमा प्रचार गर्न चाहन्थे भन्ने बुझिन्छ । र, जुन भाषा प्रयोग गर्दा आफ्नो कुरा बाहिर जान्छ भन्ने हाम्रो पुरानो पद्धतिको जगेर्ना पनि यताबाट भएको छ र मल्ल कालमा नेपाली भाषाले मल्ल राज्यमा महत्वपूर्ण स्थान लिइसकेको थियो भन्ने यताबाट बुझिन्छ ।

नेपाली भाषालाई त्यति महत्व दिनुपर्दैन भन्ने अप्रामाणिक स्वरहरू पनि यदाकदा सुनिन्छ । पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण गरेपछि मात्र नेपाली भाषाको प्रयोग भएको हो भन्ने अप्रामाणिक कुरालाई पनि यस शिलालेखले चुनौती दिएको छ । पृथ्वीनारायण शाह वि.सं. १७७९ मा जन्मिएका हुन् । प्रताप मल्लको मृत्यु वि.सं. १७३१ मा भएको हो । यस अवस्थामा यो प्रचारमा पनि कुनै सत्यता छैन भन्ने कुरा रानीपोखरीले सम्पदाको दृष्टिले मात्र होइन नेपालको भाषिक इतिहासको दृष्टिले पनि महŒवपूर्ण स्थान लिएको प्रस्ट हुन्छ ।
मल्ल कालमै बालगोपालेश्वर मन्दिर र त्यहाँसम्म पुग्ने पुल थियो । त्यो बडो राम्रोसँग बनाइएको छ । त्यो बेलाको वास्तुशास्त्र हेर्न लायक थियो । त्यसको संरक्षण हुनुपथ्र्यो । बालगोपालेश्वर मन्दिरको सुरुको स्वरूप अर्कै थियो, शिखरशैलीको । पछि पुनर्निर्माण हुँदा अहिलेको स्वरूपमा आएको हो । अब त्यो स्वरूप पनि भत्काएर नयाँ बनाउने कुरा भइरहेको छ । पुरानै शैलीमा रानीपोखरीलाई राख्नुपर्छ र सम्पदालाई बिगार्ने काम गर्नु हुँदैन तर पहिले जे बनाइएको थियो, त्यो कम मिहिनेत वा झारा टार्ने वा भ्रष्टाचार गर्न बनाइएको थिएन । अब हामीले तात्कालीक कुराको राम्रो अध्ययन गरी घण्टा खर्च गरी प्रामाणिक कुरा बाहिर ल्याई सबैको सल्लाहले प्रामाणिक ढंगमा बनाउनेतिर जोड गर्नुपर्छ नकि एउटा पक्षले एउटा कुरा निकाल्ने, अर्को पक्षले जानी वा नजानी त्यसको खण्डन गर्ने र अर्को अप्रामाणिक कुरा गर्न जाने परिस्थिति ल्याउनु हुँदैन ।

काठमाडौँको योगदान
वि.सं. १७३५ मा गोरखाका राजा पृथ्वीपति शाह (नरभूपाल शाहका बाजे) काठमाडौँ भ्रमणमा आएका थिए । काठमाडौँमा विभिन्न राजाको मूर्ति बनाएर स्तम्भको माथि राखिएको देखेपछि आफ्नो मूर्ति पनि त्यस्तै बनाएर गोरखामा राखेका थिए । काठमाडौँ सभ्यता विस्तार गर्ने थलो हो । त्यसैले यसको सभ्यता, संस्कृति नमासौँ । सकेसम्म प्रताप मल्लकालकै अवस्थामा फर्काउने प्रयास गरौँ, नसक्दा पनि पछिल्लो जस्तो थियो त्यस्तै बनाउनेतर्फ लागौँ ।

हामीले हाम्रो सभ्यता, त्यो कलाकारिता, त्यो आर्किटेक्चर अझै पनि सम्पूर्ण रूपमा गुमाइसकेका छैनौं । वीरशमशेरले पाश्चात्य शैलीमा बनाएको घण्टाघर वि.सं. १९९० सालको भुइँचालोमा ढल्यो तर वि.सं. १६२० मा बनेको तलेजू भवानीको मन्दिर ढलेन । वि.सं. २०७२ सालको भूकम्पमा पनि अपेक्षाकृत कम नोक्सानी भयो । यताबाट हाम्रो देशमा पाश्चात्य वास्तुशास्त्र पौरस्त्य वास्तुशास्त्र बढी कामलाग्दो हुन्छ भन्ने प्रस्ट हुन्छ । यसैले हामीले सम्पदाको संरक्षण गर्दा पौरस्त्य वास्तुशास्त्रलाई बढी जोड दिने र आधुनिक निर्माण गर्दा पनि पाश्चात्य वास्तुशास्त्रका साथै हाम्रा पौरस्त्य वास्तुशास्त्रका राम्रा र अहिले प्रयोग गर्न सकिने कुरा लिने र हाम्रा इन्जिनियरिङ कलेजहरूले पनि पौरस्त्य वास्तुशास्त्रका कुरा पनि यथोचित ढंगले पाठ्यक्रममा राखी पढाउँदै जानेतिर रानीपोखरीको नाश भइरहेको वर्तमान अवस्थामा यतापट्टि पनि ध्यान जानु समिचिन हुनेछ । नेपालमा नास्टजस्ता संस्था र इन्जिनिरियङ अध्ययन संस्थानले यस विषयमा विशेष खोज गर्नुपर्छ ।

Leave A Comment