‘सुन्नासाथ नरमाइलो लाग्यो, मिलून्’

शुक्रबार, १९ माघ २०७४, ०५ : १३ प्रजु पन्त
‘सुन्नासाथ नरमाइलो लाग्यो, मिलून्’

हास्यकलाकार मनोज गजुरेल र मीना ढकालबीच भएको डिभोर्स व्यक्तिगत विषय भए पनि जनचासो कम छैन । यो घटना सार्वजनिक भएसँगै चित्त दुखाउने आम नागरिक धेरै भेटिए । मनोज–मीना ट्रयाजेडीबारेको जनमत यस्तो छ :

सुमन तामाङ, चालक
मैले त बल्ल थाहा पाएँ । उनीहरुको इच्छाको कुरा हो । यो नितान्त व्यक्तिगत विषय पनि हो । अरूको व्यक्तिगत जीवनमा त्यति धेरै चासो राख्नुपर्छ जस्तो लाग्दैन ।
 
सविना श्रेष्ठ, व्यापारी
मन परे सँगै बसे, मन परेन छुट्टिए । मन नपरी सँगै बस्नुपर्छ भन्ने छैन । त्यसमाथि झन् कलाकारको जीवनको भरै हुन्न ।

कविता बराल, व्यापारी
मलाई त पत्रिका पढ्नेबित्तिकै नरमाइलो लाग्यो । छोराछोरी हुर्किइसके । ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’ भने जस्तै हो त्यो उमेरमा श्रीमान्–श्रीमतीको सम्बन्ध । २२ वर्षसँगै बसेर सम्बन्ध तोडिएको ठीक लागेन । आ–आफ्ना कारण पनि होलान् । आवेशमा आएर निर्णय पो गरे कि ! कोही त छुटेपछि तड्पिने पनि हुन्छन् । त्यस्तै पो हुन्छ कि उनीहरुलाई जस्तो पनि लाग्छ ।

धु्रव सापकोटा, पुस्तक विक्रेता
२२ वर्षको अन्तरालपछि छुट्टिँदा दुवैलाई भयानक पीडा भयो होला । एक अर्काको सहारा लिनुपर्ने बेलामा सम्बन्धै तोडिनु ठीक होइन । थाम्दाथाम्दै नथामिएको होला जस्तो लाग्यो ।  बाबुआमा त छुट्टिए छोरा–छोरीको भविष्य के होला ? छोरा–छोरीको भविष्य हेरेर सम्बन्ध नतोडेको भए हुन्थ्यो । श्रीमान–श्रीमतीबीच शंका उपशंका भयो भने हटाउन गाह्रो हुन्छ । एकअर्काको कमीकमजोरी केलाएर रियलाइजेसन गरून् । जसरी छुटिए त्यसरी नै फेरि मिलून् ।

अर्जुन गुरुङ
यो व्यक्तिगत विषय हो । कुरा नमिलेपछि सँगै मिलेर बस्नुपर्छ भन्ने छैन । मन मिलेन छुट्टिए । यसमा अरूको टाउको दुख्नुपर्छ जस्तो लाग्दैन । अरूको व्यक्तिगत जीवनमा किन चासो लिनु ।

नवीना थापा, गृहिणी
मलाई त साह्रै नराम्रो लाग्यो । सकेसम्म मिलेर बसेको भए हुन्थ्यो । लोग्नेस्वास्नीबीच झगडा पर्नु स्वाभाविक हो । सकेसम्म दुवैले एडजस्ट गर्नुपर्छ । उनीहरुले पनि एडजस्ट गरेको भए हुन्थ्यो ।

सरिता शर्मा
नछुटेको भए हुन्थ्यो । छुटेको सुन्दा नराम्रो लाग्यो । केटाकेटीका लागि पनि सँगै बसेको भए राम्रो हुन्थ्यो ।

कृष्ण तामाङ
सम्बन्ध जोडिएको पो राम्रो हो । जो कोहीको पनि सम्बन्ध तोडिएको राम्रो होइन । हाम्रो देशमा अहिले धेरै सम्बन्धविच्छेद भएको खबर सुनिन्छ । यसले समाजलाई कता लैजाँदैछ भन्ने देखाउँछ । समाजमा विग्रह आउनु राम्रो होइन । मनोज गजुरेलको सम्बन्ध तोडिएको सुन्दा राम्रो लागेन ।

तीर्थराज खनाल
दुवै पक्षको कमजोरीको कारण छुटिएको होलान् । गल्ती नै नभई सम्बन्ध त बिग्रँदैन । २२ वर्षमा सम्बन्ध टुटे पनि जतिसुकै वर्षमा टुटे पनि यसलाई अस्वाभाविक रूपमा लिनुहुँदैन । यो ठूलो कुरा पनि हैन ।

एनवी जनकपुरी
मलाई त ठीक लागेन । यसरी त समाज बिग्रिहाल्छ नि ! आज एउटाको बिग्रेला भोलि अर्काको । यसरी त हाम्रो सामाजिक संरचना नै बिग्रन्छ । यदि श्रीमान्–श्रीमती दुईमध्ये एक क्रुर छ भने त छुट्टिएकै राम्रो तर सामान्य झगडालाई ठूलो बनाएर सम्बन्ध विच्छेदको स्थितिमा पुग्नु ठीक लागेन ।

देशभक्त चित्रकार
थाहा पाउनेबित्तिकै नराम्रो लाग्यो । २२ वर्षसम्म सँगै बसेको छुटिए रे ! पत्रिकामा आएअनुसार खासै ठूलो कारण पनि छैन । नछुटेको भए हुन्थ्यो ।

Leave A Comment