डा.कमल शर्मा लम्साल
फिजिसियन तथा मुटुरोग विशेषज्ञ,
सिभिल अस्पताल
हृदयाघातको जोखिम महिलामा भन्दा पुरुषमा धेरै हुन्छ । करिब ८० प्रतिशत हृदयाघात पुरुषमा हुने गरेको पाइएको छ । ‘मेल सेक्स ईज इट सेल्फ रिक्स फ्याक्टर’ मानिन्छ । तर हृदयाघात भइसकेपछि पुरुषको तुलनामा महिलालाई बढी जोखिम हुन्छ । मदिरा आफैंले हृदयाघात गराउँदैन । तर निरन्तर मदिरा पिउँदा मुुटुको मांसपेशीलाई कमजोर बनाउँछ र मुटुको चाल बढाउँछ । यसले हृदयाघात हुने खतरा बढाउँछ । मदिरा पिएको कारणले हृदयाघात नहुने भए पनि मदिरासँग खाने मासु र चुरोटले हृदयाघातको जोखिम बढाउँछ ।
मदिरासँग मासुलगायतका सितन खाँदा चिल्लो धेरै हुन्छ, क्यालोरी बढ्छ र शरीरको तौल बढ्छ । त्यसले हृदयाघातको जोखिम हुन्छ । प्रायः मदिरा पिउनेले चुरोटलाई साथी बनाउँछन् जसले स्वास्थ्यमा थप जोखिम बढाउँछ ।
अत्यधिक मदिरा सेवन गर्दा कलेजोको खराबी र मुटुको पम्प कमजोर हुनुका साथै रक्तचाप पनि बढ्छ । बियर, वाईन, ह्वीस्की, रमजस्ता मदिराजन्य पेय पदार्थमा ‘इथाइल’अल्कोहल नामको मुख्य तत्व पाइन्छ । जसले मदिरा सेवन गर्दा हुने प्रायः सबै नकारात्मक असर हुन्छ । बियरमा ३ देखि ५ प्रतिशत, वाइनमा १० प्रतिशत तथा ह्वीस्कीमा करिब ४० प्रतिशत इथाइल अल्कोहल हुन्छ । कम तौल भएका वयस्क पुरुष तथा महिलाले दिनमा १ युनिटभन्दा धेरै मदिरा सेवन गर्नु हुँदैन ।
अन्य वयस्क व्यक्तिले दैनिक २ युनिटभन्दा धेरै मदिरा पिउनु स्वास्थ्यका लागि जोखिम बढाउनु हो । एक युनिट रक्सी भनेको करिब १० ग्राम इथाइल अल्कोहलको मात्रा हो । ५ सय मिलि क्षमताको बियरको बोतलमा यदि ४ प्रतिशत अल्कोहल छ भने ५ सय मिलिको ४ प्रतिशत बराबर हुन आउने २० ग्राम वा दुई युनिट अल्कोहल त्यसमा हुन्छ । एक युनिटभन्दा कम रक्सी सेवन गर्दा हृदयाघातको सम्भावना कम हुन्छ । अनुसन्धानहरुले न्यून तथा सन्तुलित मात्रामा मध्यमतहमा गरिने मदिरा सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्ने र हृदयाघातको सम्भावना कम हुने देखाएको छ । अत्यधिक रक्सी पिउँदा मुटुको पम्प सुचारु गर्न मुटुको खुम्चने र फुक्ने पक्रिया अनियन्त्रित भएर हृदयाघातको खतरा हुन्छ ।
मुटुको चाल तथा धड्कन नियन्त्रणभन्दा बाहिर जाँदा मानिसको अन्तिम अवस्था हुन पनि हुन सक्छ । लामो समयसम्म रक्सी पिउँदा मुटुको मांसपेशी कमजोर भएर मुटुको पम्प हुन्छ । कोरोनरी धमनी नै बन्द भएर हृदयाघातको जोखिम हुन्छ । जाडोको समयमा सामान्यतया रक्तचाप र ब्लड प्रेसर बढ्छ । जाडोमा कम तापक्रम हुने भएकाले रक्तनली हल्का साँघुरिन्छन् र रक्तचाप बढ्छ । रक्तचाप बढ्नु भनेको मुटुलाई लोड बढ्नु हो । यस्तो बेलामा हृदयाघातको जोखिम पनि हुन्छ । जाडोमा रक्तनली नै साँघुरिन्छन् । रगत बाक्लो हुन्छ । साँघुरो रक्तनलीमा रगत अटाउन कठिन हुन्छ र रक्तसञ्चारमा अवरोध भई हृदयाघातको जोखिम हुन्छ ।
सामान्यतः सिस्टोलिक वा माथिको प्रेसर १२० मिमि र डायटोलिक वा तलको ८० मिमि सम्म हुनु सबैभन्दा राम्रो हो । माथिको प्रेसर १४० र तलको ९० भन्दा बढी भयो भने स्वास्थ्यमा जोखिम हुन्छ । नेपालमा सामान्यतः केही वर्षअघि सम्म ५० वर्षभन्दा माथिका व्यक्तिमा हृदयाघातको जोखिम हुने गरेको पाइन्थ्यो । तर अहिले २५ वर्षका व्यक्तिमा पनि हृदयाघात भएको प्रशस्तै ‘केस’ देखिन थालेका छन् । कम उमेरमै हृदयाघातको जोखिम देखिन थालेको छ । मोटर साइकल चढ्ने व्यक्तिलाई मोटर साइकलको ३÷३ महिनामा सर्भिसिङ गर्नुपर्छ भन्ने थाहा हुन्छ र गर्छ । तर आफ्नै शरीरको ब्लड चेक नगरेको र प्रेसर ननापेको वर्षाँै भए पनि वास्ता हुँदैन ।
प्रेसर, सुगर कन्ट्रोल नहुँदा पनि हृदयाघातको जोखिम बढिरहेको छ । कतिपय सुगर, पे्रसर भएका मानिस दैनिक बढी भात खान्छन् तर सुगर, पे्रसरको १/२ ट्याब्लेट औषधि खाँदैनन् । हृदयाघातको जोखिम महिलामा भन्दा पुरुषमा धेरै हुन्छ । करिब ८० प्रतिशत हृदयाघात पुरुषमा हुने गरेको पाइएको छ । ‘मेल सेक्स ईज इट सेल्फ रिक्स फ्याक्टर’ मानिन्छ । तर हृदयाघात भइसकेपछि पुरुषको तुलनामा महिलालाई बढी जोखिम हुन्छ । महिलालाई ‘इन्ड्रोजन’ नामको हर्मोनले मुटु रोगबाट बचाउँछ । तर महिनावारी सुकेपछि वा पाठेघर तथा डिम्बको शल्यक्रिया गरेको एवं गर्भरोक्ने चक्की खानेलाई पुरुषसरह नै हृदयाघातको जोखिम हुन सक्छ ।
महिलामा महिनावारी हुनुभन्दा अगाडिसम्म हृदयाघातको जोखिम कम हुन्छ । महिनावारी रोकिएपछि महिलामा हर्मोनको मात्रा रगतमा घट्छ र क्रमिक रूपले रक्तचाप बढ्न थाल्छ । रिक्स पनि बढ्न थाल्छ । ५० वर्षपछि महिलामा पनि हृदयाघातको जोखिम बढ्न थाल्छ । ५० वर्षदेखि महिला र पुरुष दुवैमा समान अनुपातमा रक्तचाप बढी देखिन्छ । हृदयाघातको जोखिम पनि ६० वर्षपछि महिला र पुरुष दुवैमा समान रूपमा हुन्छ । जथाभावी खानपिन र शारीरिक व्यायामको कमीले हृदयाघातको जोखिम बढाइरहेको हुन्छ । दैनिक ४५ मिनेट पसिना निस्किने गरी कुनै पनि काम वा शारीरिक व्यायाम गर्दा हृदयाघातको जोखिम कम हुन्छ ।
मदिरा पिउँदा थोरै मात्रामा पिउने, प्रशस्त मात्रामा सागसब्जी खाने, बोसोजन्य तथा चिल्लोपदार्थ कम खाने, व्यायाम गर्ने, धूमपान तथा मद्यपान नगर्नाले हृदयाघातको जोखिम कम हुन्छ । बेलाबेलामा रक्तचाप, कोलेस्ट्रोलको परीक्षण गराउने, शरीरको तौल नियन्त्रणमा राख्नेलगायतको सावधानी अपनायो भने हृदयाघातको जोखिमबाट जोगिन सकिन्छ ।
प्रस्तुतिः उपेन्द्र खड्का
Leave A Comment