जमाना इन्स्ट्यान्ट लभको

शुक्रबार, २६ माघ २०७४, ०५ : ४१ शुक्रवार
जमाना इन्स्ट्यान्ट लभको

हामी चाड, पर्व, उत्सव मनाउन माहिर छौं । हामी नयाँ वर्ष मनाउनुको साथै न्यू इयर, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार पनि उत्तिकै रमाइलोका साथ रमाउँछौं । छठमा नदी, पोखरी किनारामा हाम्रै भीडभाड हुन्छ । दसैं तिहारजस्ता पर्वमा उत्तिकै हौसिन्छौं । हामी युवा हौं त्यसैले जताततै छौं, जहाँसुकै हाम्रै उपस्थिति रहन्छ । कारण, जनसंख्यामा हाम्रो बाहुल्य छ । खाने, लगाउने मोजमस्ती गर्ने, रौसिने कलामा हामी निपुण छौं । २५ देखि ४० वर्ष उमेरका हामीहरूको जनसंख्या कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी छ । युवा भनिने हामीहरू हरेक पर्वमा रौसिन्छौं ।

हाम्रा कतिपय चाड पर्वहरू धर्म, संस्कृतिसँग जोडिन्छन् । त्यसैले उमेर समूहअनुसार त्यस्ता चाड पर्व मानिने गरेको हामीले देख्दै आएका छौं । सयभन्दा बढी जातजाति भएको,  विभिन्न भाषा बोलिने, भूगोलमा विविध नेपाली समाज अहिले पहिचानको राजनीतिमा अभ्यास गर्दैछौं । आफ्नो परिवेशका चाड, पर्व र संस्कृतिलाई समयअनुसार रूपान्तरण, परिवर्तन गर्नु समयको माग हो । यसको सकारात्मक पाटो के हो भने अहिलेको युवा पुस्ता मोजमस्तीकै रूपमा भए पनि चाडपर्व उत्सवहरूमा सक्रिय सहभागी भइरहेको छ ।

यो भयो नेपाली पन । नेपाली मन भने विश्वव्यापी बन्दै गएको छ । अहिलेको जमाना भनेको फास्टफुडको जमाना हो । सहरी जीवनमा तत्काल तयार हुने खानेकुराको राम्रो बजार फैलँदो छ । युवाका चाहनालाई केन्द्रमा राखेर तयार हुने फास्टफुडमा उनीहरू झुम्छन् । इन्टरनेटको बढ्दो प्रयोग र हातेफोन लगायतका डिजिटल डिभाइसको  प्रचलनसँगै भर्चुअल दुनियाँमा छन् आजका अधिकांश युवा । फास्टफुडको यो जमानामा खानपिन, लवाइखुवाई मात्र परिवर्तन आएको छैन, युवायुवतीबीच चाँडै नजिकिने र सामान्य मामलामा टुट्ने प्रवृत्तिहरू समाजमा देखिन थालेको छ । अहिले भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । अहिले विशेष गरेर किशोरहरूमा नयाँ सम्बन्ध गाँस्ने अवसर लिनेहरूको संख्या अधिक हुनसक्छ । प्रयण दिवस भनेर धेरै प्रचारमा आएको यो पर्व आजकल कतिपय मिडियाका लागि प्राथमिक विषय बन्न पुगेको छ । एक आपसमा नजिकबाट राम्रोसँग चिनजान नभइकन प्रेम सम्बन्धमा गाँसिने र सामान्य कारणमा अलग हुने प्रवृत्ति किशोरहरूमा देखिन्छ । फास्टफुडको अहिलेको दुनियाँमा यस्तो प्रवृत्तिलाई ‘इन्स्यान्ट लभ’ जमाना भन्न सकिन्छ । किशोर–किशोरीहरू विपरीत लिङ्गीप्रति आकर्षण हुने उमेरजन्य  स्वभाव हो । तर भावावेशमा गाँसिने वा भ्यालेन्टाइनको अवसर पारेर गरिने अफरहरूका जटिल पक्षहरू पनि हुन सक्छन् ।

कतिपय मन मिल्नेहरूले किशोरावस्थादेखिको प्रेम सम्बन्धलाई  पछि गएर विवाहमा परिणत गर्ने गर्छन् । तर, प्रेम सम्बन्धमा दरार आएर पारिवारिक तनावमा गुज्रनेहरूको संख्या सानो छैन । नेपाली समाज आधुनिक हुने क्रममा छ र सँगसँगै यस्ता अल्पकालीन सम्बन्धहरूले निम्त्याएका जटिलतामा फँस्नेहरूका कतिपय घटना सतहमा आएका छन् । अहिले चर्चामा रहेको दरबारमार्गलाई धेरै बलात्कार हुने ठाउँ भनेर लिन सकिन्छ । प्रेमको जालमा पारेर प्रेमिकासँग सुरुमा प्रेमी आफंैले यौन सम्पर्क राखेको र प्रेमीले आफ्ना केटा साथीहरूसँग समेत यौन सम्पर्क राख्न गरेको प्रयासलाई केटीले अस्वीकार गरेपछि सामूहिक बलात्कारको घटना भएको देखिन्छ । प्रेमका नाममा भएको यो जघन्य अपराध क्षम्य छैन । यो घटनामा सबैभन्दा बढी पीडा केटीलाई भएको छ । यो घटनालाई हेरेर प्रेमिल जोडीले मनन् गर्न आवश्यक छ र आफ्ना तर्फबाट यस्ता किसिमका गल्ती नहोस् भनेर सतर्क हुनुपर्दछ  । हाम्रो समयमा यस्ता कतिपय घटना सतहमा आउँछन्, कतिपय मामला भित्रभित्रै गुम्सिएर बसेका हुन्छन् ।

नेपाली समाजमा भ्यालेन्टाइनलाई किशोरहरूले मात्र होइन विवाहिता जोडीले पनि उत्तिकै महत्वका साथ लिएको देखिन्छ । यस्तो प्रवृत्तिलाई प्रेमिल सम्बन्धको सकारात्मक पक्ष मान्न सकिन्छ ।  वसन्तकालीन याममा मनाइने भ्यालेन्टाइनले प्रेमिल जीवन पल्लवित बनाउन सक्नुपर्छ । यसको सार्थकता यसैमा छ । यसका लागि प्रेमीहरूबीच आपसमा विश्वासको वातावरण बन्नुपर्दछ । एकअर्का प्रतिको इमानदार, समर्पण र विश्वासको जगमा मात्र सम्बन्ध प्रगाढ हुने गर्दछ तर अहिलेको पुस्ताका कतिपयमा प्रेमलाई प्रयोग गर्ने, प्रेमीहरू फेरिरहने प्रवृत्ति देखिन्छ । विशेष गरेर किशोरहरूमा भ्यालेन्टाइनको अवसरमा रोमाञ्चित बनेर जसरी भए पनि प्र्रेमिका बनाउने चाहना देखिन्छ । यस्ता चाहनाले  दुर्घटना निम्त्याउन सक्छ । प्रेमिल सम्बन्धका निम्ति कुनै साइत आवश्यक पर्दैन । त्यसैले किशोरहरू भ्यालेन्टाइनको नाममा बहकिने भन्दा सुझबुझपूर्ण कदम चाल्न आवश्यक छ । त्यस्तै भ्यालेन्टाइनको अहिलेको मौसममा आफ्ना किशोर नानीबाबु बिग्रने हुन् कि भन्ने चिन्तामा हुन्छन्, ठूलो संख्यामा अभिभावकहरू । भ्यालेन्टाइनले समाजमा जरा गाडिसकेको छ । यस्तो माहोलमा युवामा जोसका साथ होस आवश्यक छ । अभिभावकहरूले समयको पदचापलाई आत्मसात गर्दै मार्गदर्शकको भूमिका खेल्न सक्नुपर्छ ।

Leave A Comment