पक्षीको प्रेम : चरी पनि ब्वाईफ्रेन्ड फेर्छन्

आइतबार, २८ माघ २०७४, ०४ : १७ उपेन्द्र खड्का
पक्षीको प्रेम : चरी पनि ब्वाईफ्रेन्ड फेर्छन्

प्रेम मानवीय स्वभाव मात्रै हैन । पशुपक्षी, कीराफट्याङ्ग्रा सबैमा यो भाव उस्तै हुन्छ । चरामा त प्रेमसम्बन्धी विशेष गुण नै देखिन्छ । मानिसझैं चरा पनि प्रेम गर्न खप्पिस हुन्छन् ।
चराले पनि प्रेम गर्छन्, उसको पनि परिवार हुन्छ र आजीवन जोडी पनि बनाउँछन् । सुन्दर गुँड बनाउँछन् । मानवीय स्वभावझैं खटपट परेमा जोडी फेर्छन् ।
चरा विशेषज्ञका अनुसार चरामा यौन जोडीप्रति विशेष अनुराग हुन्छ । यी बिछोड हुँदा रुन्छन् । जोडी भेट्दा बिछट्टै खुसी हुन्छन् ।
जाउलाखेल चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार चराको प्रेम अभिव्यक्त गर्ने शैली भिन्न–भिन्न हुन्छ । कुनैले नाचेर, कुनै कराएर त कुनै चराले गीत गाएर प्रेम साटासाट गर्छन् । सहमतिमा सहबास हुन्छ ।
मयुरको भाले नाच्दानाच्दै आँसु झर्छ र त्यही आँसु पोथीले पिएपछि प्रजनन हुन्छ भन्ने सुनिन्छ । कोइरालाका अनुसार यो सत्य हैन ।
‘भाले र पोथीबीच यौन सम्बन्ध नभई प्रजनन् हुन्न,’ उनले शुक्रबारसँग भने, ‘मयुरका जोडीबीच पनि यौन सम्पर्क नभई आँसु पिएर प्रजनन् हुँदैन ।’
उनको अनुभवमा भाले चराले पोथी चरालाई फकाउन नाच्ने, लाडे पल्टने, पोथीको जीउ कन्याउनेजस्ता गतिविधि गरेर फकाउँछन् ।
जोडी खोज्ने मामिलामा चराका बीच पनि प्रतिस्पर्धा हुन्छ । कुखुराको भालेकै गतिविधि हेर्दा पनि यो थाहा हुन्छ । जब भाले–भालेबीच लडाइँ हुन्छ तब जसले जित्छ त्यसैले पोथीसँग सहबासको मौका पाउँछ ।
नेपाल पक्षी संरक्षण संघ, गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्णप्रसाद भुसालका अनुसार  खोटाङको केटा र काभ्रेकी केटी काठमाडौंमा भेट भएर लभ परेजस्तै विदेशबाट नेपाल आउने चराको नेपालमा रहेका चरासँग प्रेम हुन्छ । सम्बन्ध अगाडि बढ्दा कतिपय विदेशी चरासँगै नेपालमा बस्ने वा नेपाली चरा विदेशी प्रेमी–प्रेमिकासँगै जाने गरेको समेत भेटिन्छ ।
स्वर्गद्वारी चरा नेपालमा बसाइसराई गरेर आउँछ र नेपालकै भाले वा पोथीसँग प्रेममा पर्छन् । उनीहरुले नेपालमै बच्चा कोरल्ने  गरेको समेत पाइएको भुसालले बताए ।
चराको बसाइ–सराई र प्रजनन् वसन्त ऋतुसँगै सुरु हुन्छ । चरा–चरीको लभ पर्ने समयमै भ्यालेन्टाइन डे समेत पर्छ ।
अधिकांश चराको प्रजनन्को समय वसन्त ऋतु भएकाले यो ऋतुलाई चराको प्रेम साटासाट गर्ने भ्यालेन्टाइन डेका रूपमा समेत लिन सकिने भुसाल बताउँछन् ।  

यौन समागमका लागि जब भाले तयार हुन्छ ऊ साह्रै सुन्दर देखिन्छ । उसको शरीर रंगीबिरंगी हुन्छ । आकर्षक र सुन्दर भाले देखेर पोथी समागमका लागि तयार हुन्छे । भुसालका अनुसार ‘छित्राङ्गत’ नामको  चरामा भने सेक्सको समयमा भालेभन्दा पोथी राम्रै देखिन्छे ।
भुसालका अनुसार राज धनेशका जोडीले सँगै मिलेर गँुड बनाउँछन् । पोथी ओथारो बसेपछि भोलेले ओथारो बसेको ठाउँलाई सुरक्षित गर्ने र पोथीलाई आहारा ल्याएर खुवाउने गर्छ ।
गिद्धको आजीवन एउटै जोडी हुन्छ । उसको मानिसको झैं  परिवार हुन्छ ।  यिनीहरु ओथारो बस्दा पनि आलो–पालो गर्छन् ।
पक्षीमा पनि जोडी गुमाउँदाको पीडा दुःखद हुन्छ । गिद्धको दुईमध्ये एउटा यौन जोडीको मृत्यु भयो भने अत्यन्तै भावुक हुन्छन् । जोडी गुमाएको गिद्धले लामो समयसम्म अर्को जोडी नपाउन पनि सक्छ । जाडोको समयमा सिनो बढी पाइने भएकाले उसले जाडोको समयमा गुँड बनाएर फागुनमा बच्चा कोरल्छ ।
‘चखेवाको जोडी पनि हत्तपत्त छुट्दैनन् । त्यसैले मानिसको जोडीको मिलापको उदाहरण दिँदा चखेवाको जस्तै जोडी भनिन्छ’ भुसालले भने ।
नेपाल पक्षी संरक्षण संघका वरिष्ठ संरक्षण अधिकृत ज्योतेन्द्रज्यू ठकुरीका अनुसार  मयुर, डाँफे, सारस, चखेवाजस्ता चरा नाचेर पोथीलाई आकर्षित गर्ने प्रयास गर्छन् । मयुरले नाच्दै आफ्नो यौनाङ्ग पोथीलाई देखाएर आकर्षित गर्ने र पोथीको वरिपरि सुन्दर प्वाँख फिँजाएर नाच्ने गर्छ । उनका अनुसार डाँफे, मुनाल, कालिजलगायतका चरामा भाले नाचेको पोथीले लुकेर हेर्छन् । जुन भाले राम्रो नाच्छ त्यही भालेलाई गोप्यरूपमा छानेर यौन सम्बन्ध राख्छन् ।
कोइली, खरमजुरलगायतका चराले गीत गाएर प्रेम अभिव्यक्त गर्छन् ।
तोप नामक चराको भाले चराले अत्यन्तै मेहनत गरेर लामो झुण्डिएको आकर्षक गुँड बनाउँछ ।
पोथी फकाउन गुँड राम्रो हुनुपर्ने भएकाले राम्रो गुँड बनाउन भालेहरुबीच होड नै चल्छ । पोथीले भालेले बनाएको सबै गुँडको निरीक्षण गर्छन् । पोथी गुँड हेर्न आएको बेलामा भाले लाडे पल्टिएर पखेटा हल्लाउँदै गुँडमा पोथीलाई डाक्छ । अन्य भाले गुँडनजिक आएर हल्ला गरेर पोथीलाई आफ्नो गुँडतिर ल्याउने प्रयास गर्छन् ।
जुन गुँड राम्रो लाग्छ पोथी त्यसैमा बस्छे र त्यही भालेसँग यौनसम्र्पक राखेर अण्डा पारेर बच्चा कोरल्छे ।
‘पोथी तोप चरो ‘प्ले गर्ल’ जस्तै हुन्छन्’ भुसालले भने ।
‘अमेरिकामा भएको एक अध्ययनमा चराका एक जोडीले भालेपोथीसँगै मिलेर गुँड लाए तर गुँड लाइसकेपछि यौन सम्पर्क राख्ने बेलामा पोथीले भालेलाई धोका दिएर अर्कै भालेसँग यौन सम्बन्ध राखेको देखियो,’ चराको यौन व्यवहार खुलाउँदै भुसालले भने, ‘चरामा पनि नयाँ यौन जोडी खोज्ने गरेको भेटिन्छ ।’

Leave A Comment