जिमले जोडाएको जोडी

बिहिबार, ०३ फागुन २०७४, ०५ : ०१ शुक्रवार
जिमले जोडाएको जोडी

पूर्व मिस नेपाल जेनिशा मोक्तानका लागि यो वर्षको भ्यालन्टाइन विशेष हुने पक्का छ । यसपालिको भ्यालेन्टाइनमा उनको अँगालो मात्रै हैन, काख समेत व्यस्त हुनेछ । यस वर्ष उनको अँगालोमा डिकेश हुनेछन्, काखमा डेढ महिनाकी दिया । 

आफन्तले सामान्य रुपमा गराइदिएको परिचयलाई यो अवस्थासम्म ल्याउन यी दुवैलाई सात वर्ष लाग्यो । 
अध्ययनका क्रममा अमेरिकामा रहेकी प्रियंका कार्की जेनिशाको मिल्ने साथी । डिकेश प्रियंकाको मामाको छोरा । प्रियंका नेपाल आएको बेला भेटघाट जुरेको थियो, डिकेश र जेनिशाको । 

सामान्य भेटघाट बिस्तारै निकट हुँदै घनिष्टतामा पुग्यो । दुवै फरक समुदायमा हुर्किएकाले प्रारम्भमा परिवारका सदस्यले ‘हुन्छ’ भनेनन् । ‘हुन्छ’ भनाउन सात वर्ष लाग्यो र २०७२ फागुन १४ मा उनीहरु प्रेमी–प्रेमिकाबाट श्रीमान्–श्रीमतीमा रुपान्तरित भए । 

नेपाल आउँदा जेनिशा लगायतकाले डिकेशलाई जिम जान हौस्याए । जेनिशा पनि नियमित रुपमा जिम जान्थिन् । डिकेश पनि उनीसँगै जिम जान थाले । दुवै विस्तारै निकट हुँदै थिए । डिकेशका अनुसार भेट भएको दुई सातामै दुवै एकअर्काप्रति हुरुक्क भइसकेका थिए ।

‘डिकेश एक महिनाको छुट्टीमा नेपाल आउँदा पारिवारिक माहौलमा परिचय भएको थियो । उनी हाम्रो लहलहैमा जिम धाउने थाले । बिस्तारै दुवै एक–अर्काको कुरामा रमाउन थाल्यौँ,’ जेनिशाले लभलाइफको खुलाउँदै भनिन्, ‘म जोक्स भन्न रुचाउने । उनलाई साथीभाइले जिस्काउन थालिसकेका थिए । हामीले प्रपोज गरेनौँ, उनी फर्किए । लङ डिस्ट्यान्स रिलेसनसिपमा भने थियौँ ।’

डिकेश अमेरिका फर्किए तर दुवैबीच स्काइपमा बाक्लै कुराकानी गर्थे । जेनिशालाई डिकेश अनलाइनमार्फत् गिफ्ट पठाइरहन्थे । बोलिरहनु पर्ने स्वभावकी जेनिशा स्काइपमा बोलेको बोल्यै हुन्थिन् । कहिलेकाहीँ कुरा गर्दागर्दै डिकेश निदाउँथे । डिजिटल भेटघाटले दुवैको मन नजिक ल्याउँदै गयो । एक–अर्काको मायाजालमा उनीहरू फँस्दै गए । 

जेनिशा र डिकेशको भेट हुँदा उनी ग्लामरको दुनियाँमा परिचित बनिसकेकी थिइन । उनी मिस तामाङ भइसकेकी थिइन् भने सन् २००९ मा आयोजित मिस नेपालको १४ औं संस्करणमा सहभागी भएर ताज पहिरिन सफल भइसकेकी थिइन् । 

जेनिशाको नजरमा डिकेश

राम्रा पक्ष : परिवारलाई माया गर्छ, मिहिनेती छ, सोझो र सहयोगी छ ।
नराम्रा पक्ष : कम बोल्छ । सोधेको कुरा मात्र भन्छ । उसले भनेपछि भन्यो भन्यो खालको हुन्छ । 

दिकेशको नजरमा जेनिशा 

राम्रो पक्ष : उनी न्याचुरल स्वभावकी छन् । स्पष्ट बोल्छिन् । 
नराम्रो पक्ष : अनावश्यक रिसाइरहन्छिन् । जिद्दी स्वभावकी छन् । भनेपछि गरिहाल्नुपर्छ । 

पढाइ सकेर डिकेश नेपाल आए । दुवैको सम्बन्ध आत्मिय बन्दै गएको थियो । एकलेअर्कालाई प्रेम प्रस्ताव राखिसकेका भने थिएनन् तर व्यवहार प्रेमी–प्रेमिकाजस्तै भइसकेको थियो । सम्बन्धलाई औपचारिकता दिने पहल डिकेशले नै गरेका थिए । 

प्रस्ताव ‘ओके’ भएको दुई वर्षपछि डिकेश र जेनिशा सँगै बेलायत पढ्न गए । काठमाडौंमा रोपिएको प्रेम बेलायतमा फक्रियो । बेलायतको पढाइ सकेर नेपाल आएपछि दुवै एउटै कम्पनीमा जोडिए । डिकेश आफ्नो बुबा दीपक मल्होत्राको व्यवसायलाई सघाउन थाले, जेनिशा पनि त्यही कम्पनीमा काम गर्न थालिन् । प्रेमको वातावरण रमाइलो बन्दै गयो ।  

जेनिशा बुढानीलकण्ठमा बस्थिन् । डिकेश धुम्बाराहीमा । उनी डिकेशको घरमा आउँथिन् र सँगै अफिस जान्थे । दुवै नजिकिदै गइरहेका थिए । दुवैको सम्बन्धबारे परिवार जानकार भयो नै तर आफन्त सकारात्मक भएनन् । 

डिकेश मारवाडी समुदायका, जेनिशा तामाङ समुदायकी भएकीले प्रारम्भमा समस्या ल्यायो । भिन्न समुदायमा हुर्किएकाले समेत दुवैको परिवारमा सम्बन्ध अगाडि बढाउने रुचि थिएन । अझ डिकेशकी आमा ‘सोझो छोरालाई जेनिशाले दुःख दिने पो हो कि’ भन्ने डरमा थिइन् ।  

‘बिहेका लागि दुवै तयार भइसकेका थियौँ तर भिन्न समुदायका भएकाले दुवैको परिवारलाई स्विकार्न गाह्रो भइरहेको थियो,’ डिकेशले भने ‘मेरो परिवार पनि मिक्स थियो । आमा र हजुरआमा दुबै नेवार समुदायको । मेरो जिद्दी स्वाभावका अगाडि उहाँहरूको केही लागेन ।’ 

परिवार मनाउन दुवैतिर उस्तै समस्या थियो । परिवारले स्वीकार नगरी विवाह नगर्ने मुडमा थिए, डिकेश । जेनिशा पनि आफ्ना कारणले डिकेशलाई समस्या नपरोस् भन्ने सोच्थिन् । चार महिनाको मिहिनेतले परिवर्तन ल्यायो । दुवै परिवार विवाहका लागि राजी भए र लगनगाँठो कस्सियो । 

विवाह त भयो तर बजारमा ‘जेनिशाले पैसाको लागि व्यापारीसँग बिहे गरिन्’ भन्ने सुनिछन् जेनिशाले । ‘यस्तो सुन्दा मलाई साह्रै चित्त दुख्यो,’ जेनिशा भन्छिन्, ‘यस्ता कुराले खिन्न बनाउने रहेछ । हामी एकअर्कालाई गहिरो प्रेम गथ्र्यौं । पछि त प्रेमका अगाडि यस्ता कुरा सामान्य लाग्दै जान थाले । मैले कुरा सुन्नै छाडिदिँए ।’ 

दुवैको जीवनमा २०७४ साल पुस १० मा नयाँ सदस्य दिया थपिइन् । अहिले डिकेश व्यापारमा व्यस्त छन् भने जेनिशा दियालाई हुर्काउन । 

दिनभर दिया जेनिशासँग हुन्छिन्, बेलुका दियाको हेरचाहको जिम्मा डिकेशको छ । डिकेशका अनुसार जेनिशा जिद्दी र रिसाहा स्वभावकी थिइन्, विवाहपछि पूरै फेरिएकी छन् । 

जेनिशा भने कहिलेकाहीँ झगडा भयो भने माया बढ्छ भन्ने सोच्छिन् तर डिकेश भने खासै झगडा गर्न रुचाउँदैनन् । 

Leave A Comment