‘स्रोताको माया नै सबथोक’

सोमबार, ०३ साउन २०७३, ०४ : १६ गोपाल दाहाल , Kathmandu
‘स्रोताको माया नै सबथोक’

दर्शन शाही, गायक

अचेल के गर्दै हुनुहुन्छ ?
तेस्रो एल्बम ‘छुँदैन तिम्रो मायाले’ का गीत रेकर्डिङमा व्यस्त छु ।
संगीत क्षेत्रमा लाग्नु भएको कति भयो ?
लामो समय स्टेज कार्यक्रममा गाएँ । बीचमा यो क्षेत्र छाडेँ । अहिले तीन वर्षअघि पहिलो एल्बम ‘मुटुमा चोट’ ल्याएर फेरि संगीत क्षेत्रमा प्रवेश गरेको हुँ ।
बीचमा संगीत क्षेत्र किन छोड्नुभयो ?
राम्रो गीत गाएर मात्र पनि नहुने रहेछ । मिडियामा बजाउन मान्छे र पावर लगाउनुपर्ने रहेछ । सुरुमा दुईचार दिन बजेपछि गीत बज्नै छाड्छन् । पावर हुनेको मात्र मिडियामा छाउँदो रहेछ । त्यसैले दुःख लाग्यो अनि यो क्षेत्र छाडेँ ।
फेरि, किन फर्किनुभयो त यही क्षेत्रमा ?
सानैदेखि रुचि थियो संगीतमा । चाहेर पनि छोड्न सकिएन ।
संगीत क्षेत्रमा कसरी लाग्नुभयो ?
साथीहरू संगीत क्षेत्रकै थिए । उनीहरूसँग गाउने मान्छे थिएन, मलाई गाउने सोख थियो । कलेज, पिकनिकमा गाउथेँ पनि । त्यसो गर्दागर्दै यो क्षेत्रमा लागियो ।
संगीतको औपचारिक ज्ञान लिनु भएको छ कि छैन ?
पहिला डोरेमीमा क्लास लिएको थिएँ ।
एल्बम बिक्दैन तर तपार्इं लगातार एल्बम निकालिरहनुभएको छ ?
पहिलो एल्बम ‘मुटुमा चोट’ले केही हदसम्म परिचय दियो । त्यसपछि ‘तिमीसँग नाता’ नामको एल्बम निकालेँ गत वर्ष । अहिले तेस्रो एल्बममा पाँचवटा गीत छन् । एउटा एल्बम निकाल्न कम्तिमा डेढ लाख खर्च हुन्छ । भिडियो बनाउँदा दुईतीन लाखसम्म लाग्छ । तर, त्यो लगानी फिर्ता हुँदैन ।
कसरी टिकिरहनुभएको छ त ?
यो लगानी त स्रोता र दर्शकलाई चिनाउने माध्यम मात्र हो । खासै फाइदा छैन । स्टेज प्रोग्राम पाउँदा अलिअलि आम्दानी हुने हो । स्रोताको माया नै सबथोक हो ।
भविष्य कस्तो देख्नुहुन्छ यो क्षेत्रको ?
 आर्थिक हिसाबले त खासै राम्रो भविष्य देख्दिनँ । विदेशमा जस्तो छैन । यहाँ त सोख पूरा गर्ने मात्र हो । तर, सोखले भए पनि यही क्षेत्रमा लागिरहन्छु भन्ने लागेको छ ।

 

 

Leave A Comment