एक वर्षअघि भारतमा कमेडियनद्वय कपिल शर्मा र सुनिल ग्रोबरबीच विवाद चुलिएको बेला बलिउड सुपरस्टार सलमान खानले स्टारडममाथि निकै घतलाग्दो अभिव्यक्ति दिएका थिए । कपिललाई सुुझावस्वरुप आफ्नो अनुुभव सुनाउँदै भनेका थिए, ‘मान्छेले सधैँ आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । म अहिले करिअरको यस्तो घडीमा छु कि अक्सर मान्छे मेरो काममा ‘हो मा हो’ मिलाउँछन् । यस्तो अवस्थामा कहिलेकाहीँ आफू सही दिशामा छु या गलत, मलाई ठम्याउनै मुस्किल पर्छ । त्यसैले म आफ्नो परिवार र साथीहरुको सुुझावलाई निकै गम्भीरतापूर्वक लिन्छुु किनभने उनीहरु नै हुन्, जसले मलाई जमिनमै टिकाइरहन्छन्, हावामा उड्न दिँदैनन् ।’
नेपालमा अहिले जताततै अनमोल केसीको चर्चा छ । उनकै हाइहाइ छ । फिल्म इन्डस्ट्रीसँग जोडिएका बहुमत अहिले उनीसँग काम गर्न लालायित छन् । उनी नेपाली फिल्मका दर्शकलाई हलसम्म तान्ने चुम्बक बनेका छन् । उनलाई भेट्न, सँगै फोटो खिचाउन युवायुवतीको ठूलो समूह मरिहत्ते गर्छन् ।
वास्तविकता यही हो– अनमोल यतिखेर नेपाली फिल्मीनगरीका स्टार हुन्, उनको गजबको स्टारडम देखिएको छ । यस्तो स्टारडमले फिल्मको अर्थतन्त्र एक्लै धान्न सक्छ ।
अघिल्लो साताबाट हलमा रिलिज भएको फिल्म ‘कृ’को यथार्थ पनि यही नै त हो । ‘कृ’ हेरिसकेपछि यति भन्न सकिन्छ– यो फिल्म अनमोललाई ‘एंग्री लुक्स’मा स्थापित गर्न मात्र बनाइएको हो ।
‘कृ’ अनमोलको पाँचौँ फिल्म हो । पाँचाँै फिल्मसम्म आइपुग्दा उनमा देखिएको ग्रोथ ‘लुक्स’मा मात्र हो । अघिल्ला फिल्ममा लगातार ‘चकलेटी लुक्स’मा देखिएका उनी यसमा ‘एंग्री लुक्स’मा छन् । पाँचौँ फिल्मसम्म आइपुग्दा अनमोलको अभिनयमा कुनै उन्नति देखिँदैन ।
‘कृ’ मा आफूलाई एक्सन अवतारमा उतार्न ज्यान बनाउन र एक्सन सिक्न उनले गरेको मिहिनेत पर्दामा देखिन्छ तर कथा र प्रस्तुतिका हिसाबले यो उनका अघिल्ला चार फिल्मभन्दा पनि कमजोर फिल्म हो ।
अनमोलको प्रयासमा गम्भीरता देखिन्छ तर फिल्मभरि केही हेर्नलायक कुरा छ भने त्यो अनमोलका केही एक्सन दृश्य मात्रै हुन् । बाँकी सबै ‘बोरिङ’ ।
स्टारडम जोगाउने हो भने उनले आफ्नै सहयोगीसँग प्लेनमा झगडा गर्दै उकालो चढेको करिअर धरापमा पारेका कपिललाई सलमानले भनेको अभिव्यक्ति सम्झिन उत्तम हुन्छ । उनको रुचि प्रशंसा गर्नेको भिडमा हैन अब ‘जेन्युन’ सुझावकर्तामा सर्न जरुरी छ ।
विस्तृतमा जानुअघि ‘कृ’को कथामाथि छोटो टिप्पणी गरौं ।
लाहुरे बनेपछि अभय (अनमोल) बाल्यकालकी प्रेमिका केशर (अदिती बुढाथोकी) खोज्दै गाउँ छिर्छन्, भेट सजिलै जुर्छ तर अभय उनलाई चिनाउँदैनन्, केशरले चिन्दिनन् । जब अभय चिनाउन खोज्छन्, केशर सुन्न चाहन्नन् । केशरले उनकाबारे जब थाहा पाउँछिन्, अभय सहर फर्किसक्छन् । त्यसपछि केशर अभय भेट्न सहर जान्छिन् तर पुनः उनीहरुको भेट हुन्छ ? या कथाले अर्कै मोड लिन्छ । फिल्मको कथा यही प्रश्नको वरिपरि घुमेको छ ।
फिल्म हेर्दा सहजै देखिन्छ यसको ठूलो कमजोरी पटकथा र प्रस्तुतिमा छ । यसको अपयश फिल्मका निर्देशक सुरेन्द्र पौडेललाई नै जान्छ । फिल्मको कथा र सम्पादन पनि उनकै हो ।
फिल्म सम्पादक हुँदै निर्देशनमा हाम्फालेका सुरेन्द्रको यो दोस्रो निर्देशकीय फिल्म हो । यसअघि ‘आभाष’ बनाएका थिए जुन फ्लप भयो । अनमोलजस्तो अहिलेका हटकेक र बिकाउ अभिनेतालाई लिएर पनि उनले जुन गुणस्तरको फिल्म बनाए, त्यसले उनको भविष्य निर्देशनभन्दा सम्पादकमै सुरक्षित देखायो ।
फिल्मको ‘ओपनिङ सिन’मै यो बदलाको कथामा बुनिएको हो भन्ने अड्कल काट्न त्यत्ति दिमाग चलाउनु पर्दैन । सानो छँदाकी प्रेमिकालाई भेट्न, लोभ्याउन र चिनाउन फिल्ममा जति दृश्य खर्च गरिएका छन्, त्यो अहिलेको अवस्थामा विश्वसनीय लाग्दैन ।
प्रविधिको बढ्दो विकाससँगै सम्पर्कका साधन यत्ति स्मार्ट भइसकेको छ कि लामो समयको ग्यापपछि कोही पनि आदर्शप्रेमी बाल्यकालकी प्रेमिका खोज्न गाउँ नै पस्नुपर्ने बाध्यता छैन । अनि आफ्नो प्रेम ब्युताउँन चिनोको सहारा लिने प्रेमी ‘क्लासिक’ भइसके अब । नयाँ स्टारलाई नयाँ सेटिङमा पस्कँदा अपनाएको यस्ता पुरानो फर्मुला फिल्म सुहाउँदो छैन ।
पर्दामा अचानक जन्मने भिलेन (अनुपविक्रम शाही) र अभय बीचको द्वन्द्वमा फिल्मको दोस्रो भाग केन्द्रित छ । निर्देशकले कथामा केवल नयाँ ‘ट्विस्ट’ ल्याउन मात्रै भिलेनको प्रवेश गराएको देखिन्छ ।
एक्सनका केही दृश्यमा अनमोल गजब देखिन्छन् । फिल्ममा प्रेम र बदलाको कथा छ तर विडम्बना यसले दर्शकको मनभित्रको संवेदनालाई छुन सक्दैन । पानीमाथिको तेलझैँ बगिरहन्छ ।
प्रेम र बदलाको कथा पस्कदा दर्शकको मन नहुँडल्नु, भित्री संवेदना छुन नसक्नु पक्कै लेखक, निर्देशक र कलाकारको ठूलो कमजोरी हो । फिल्मका केही दृश्यले दर्शकलाई फिल्म हेरिरहेको नभई झेलिरहेको महसुस गराउँछ । विडम्बना, पर्दामा फिल्मको अन्त्यसम्म दर्शकले कहानी खोजिरहन्छन्, अनमोलले भने प्रेमिका र अपहरण गर्ने अनुप ।
यो फिल्मको जति चर्चा र प्रतीक्षा भयो त्यसको एकल कारण अनमोल नै देखिए । फिल्मको कमजोरीको अपयश एकल निर्देशकको काँधमा चढाएर उनी यसबाट उम्कन सक्दैनन् ।
यो उनको पहिलो फिल्म हैन । जति मिहिनेत उनले आफूलाई नयाँ लुक्समा देखाउन गरेका छन्, त्यत्ति नै मिहिनेत उनले फिल्मको अन्य पक्षमा पनि गरेको भए पक्कै नतिजा फरक हुन्थ्यो ।
अब अनमोलले स्टारडम जोगाउने हो भने निर्देशक, छायांकार, स्क्रिप्ट पनि उत्कृष्ट छान्न सक्नुपर्छ । आफ्नो क्रेजलाई जोगाइरहने हो भने राम्रो अभिनेतामा हुनुपर्ने राम्रो अभिनयको कलासँगै यो गुण पनि अनिवार्य छ । आफूमा छनोटको गुण छैन भने सहयोगीमार्फत् यसको पूर्ति गर्न सकिन्छ । जुन मामिलामा अनमोल नराम्रोसँग चुकेका छन् ‘कृ’ मा ।
‘कृ’भर अनमोल हावी हुँदा यही फिल्मबाट डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकी छायामा परिन् । उनले पर्दामा त्यस्तो कुनै कमाल गर्न सकेकी छैनन् ।
फिल्ममा वाह भन्न लायक साउन्ड डिजाइनर उत्तम न्यौपानेले सिर्जेको ध्वनि मात्र हो । यसमा खोट भेटिन्न । पृष्ठभूमिमा बज्ने ‘जानी नजानी’ गीतको ध्वनिले दृश्यलाई जीवन्त बनाउन सघाएको छ तर फिल्ममा यही गीतको प्रयोग सान्दर्भिक लाग्दैन ।
पुुलिस इन्स्पेक्टरको भूमिकामा देखिएका कामेश्वर चौरसियालाई दर्शकले ‘नोटिस्ड’ गर्छन्, सुदाम सिके पनि फिट छन् । सिनेमाटोग्राफी फिल्मको अर्को प्रशंसनीय पक्ष हो । फिल्मको मेकिङमा निर्माताद्वय सुवास गिरी र भुवन केसीले आफ्नो ठाउँबाट बजेट निकासा गर्न कुनै कन्जुस्याइँ नगरेको पर्दामा प्रस्टै देखिन्छ तर लगानी सही ठाउँमा सही ढंगले हुन सकेन भने के हुन्छ ? त्यो पनि यही फिल्मले देखाउँछ ।
फिल्ममा पटक–पटक भिलेनले चार करोडको माल गायब भएको भनेर रिसाइरहन्छ तर त्यो माल कसरी र के भएर गायब भयो फिल्म सकिदासम्म रहस्य खुल्दैन ।
‘लाहुरे’ अनमोलसँग बिहे गर्न एक हुल युवती उनकै घरमा लाम लागेर आउँछन् र अनमोलकै हजुरआमाले छान्न लगाउँछिन् । यो समयमा ‘मलाई छान न, मलाई’ भन्दै युवतीहरुले गरेको त्यस्तो आग्रह कति स्वभाविक देखिएला ?
जब (अभय)अनमोल आफ्नो बाल्यकालको प्रेमी हो भनेर (केशर)ले थाहा पाउँछिन्, उनी जिन्स प्यान्ट र टप लगाएर घरबाट दगुरेर कुद्छिन् । अचम्म, जब उनी घरबाहिर पुग्छिन् ड्रेस गायब । एकै पटक कुर्ता सुरुवालमा देखिन्छिन् । यस्ता दृश्य फिल्ममा धेरै छन् ।
सरोज खनालको अभिनय फिल्ममा जीवन्त देखिन्छ । रक्सी नपिइकन रक्सी पिएको अभिनय गर्नु त्यति सजिलो काम होइन तर उनी यसमा जीवन्त देखिएका छन् तर यही भूमिकामा अनमोल अस्वाभाविक लाग्छन् ।
‘कृ’ न दर्शकसँग जोडिन सकेको छ न यसले दर्शकको दिमागलाई व्यस्त राख्न नै । यति भन्न सकिन्छ, यो फिल्म नबनेको भए पनि नेपाली फिल्म क्षेत्रलाई घाटा हुने थिएन ।
अनमोलका लागि अर्को दुःखको कुरा, उनका डाइहार्ड फ्यानलाई पनि यो फिल्मले रिझाउन मुस्किलै छ । कारण, उनका अघिल्ला चार फिल्मभन्दा पनि झुर छ ‘कृ’ । वास्तविकता यही हो ।
एउटा पर्फेक्ट अभिनेता हुनलाई आकर्षक लुक्स भएरै मात्रै पुग्दैन, ऊ ‘एक्सप्रेसिभ’ पनि हुन सक्नुपर्छ । निर्वाह गरिरहेको क्यारेक्टरलाई केले निर्देश गरिरहेको छ ? यसका आवश्यकता केके हुन् ? यिनीहरु किन यसरी अभिनय गर्छन् ? चरित्रको व्यवहार बारेमा ऊसँग राम्रो अध्ययन हुनुपर्छ ।
राम्रो एक्टर उत्तिकै कल्पनाशील पनि हुनुपर्छ । उसको काम ती मान्छेहरुको अनुकरण गर्नु हो, जो स्वयम् तिनीहरु होइनन् । त्यसैले नयाँनयाँ मान्छेहरुलाई हेर्नु, भेट्नु र उनीहरुको काम नियाल्नु, उनीहरु जे काम गर्छन् त्यो किन गर्छन् भनेर जान्न खोज्नु राम्रो अभिनेताको गुण हो । अनमोलका पाँचवटै फिल्मलाई नियालेर हेर्दा उनमा यसको ठूलो अभाव खड्किन्छ ।
Leave A Comment