'बलात्कारी ग्याङ'

आइतबार, ०६ फागुन २०७४, ०२ : ४४ केपी ढुंगाना
'बलात्कारी ग्याङ'

१. नामः शैलेश कार्की
पेसाः  व्यापार
हुलियाः गहुँगोरो,
ठेगानाः रामेछाप दुरडाँडा, हाल– काठमाडौं ।
आरोपः बलात्कारको मुख्य आरोपी
अवस्थाः फरार

२. नामः विकास गौतम

पेसाः निर्माण व्यवसायी

ठेगानाः मकवानपुर

हुलियाः गोह्रो मुहार, ढाडमा विकास ट्याटु खोपेको

आरोपः बलात्कारमा संलग्न

अवस्थाः फरार

३. दीपक श्रेष्ठ

पेसाः ठेक्कापट्टा

ठेगानाः सिन्धुपाल्चोक

आरोपः बलात्कारमा संलग्न

अवस्थाः फरार

४. नामः रवि पौडेल

हुलियाः अज्ञात

पेसाः खुलेको छैन

ठेगानाः खुलेको छैन

आरोपः बलात्कारमा संलग्न

अवस्थाः फरार

५. नामः तिलक भारती

पेसाः डिएसपी

आरोपः सहयोगी

६. नामः लक्ष्मणसिंह ठकुरी

पेशाः प्रहरी निरीक्षक

आरोपः सहयोगी

७. चन्द्र भण्डारी

पेसाः सई

आरोपः सहयोगी

८. राम गिरी

पेसाः रात्रिकालीन व्यवसायी

आरोपः सहयोगी


यो त्यही ग्याङ हो, जुन ग्याङ होटल ल्यान्डमार्कमा भएको भनिएको क्रुर बलात्कार घटनाको आरोपी छ । त्यति मात्र होइन, यस घटनालाई मिलाउन सहयोग गर्ने, मिलाएबापत फाइदा लिने विचौलियासमेतको ग्याङ हो, यो । भेटघाटको बहानामा एक २० वर्षीया युवतीलाई कमलादीमा रहेको होटलमा लगेर रातभर बलत्कार गरेको संगीन आरोपमा चारै जना प्रहरीको मोस्ट वान्टेडको सूचीमा छन् । त्यस्तै मुद्दा मिलाउन सक्रिय रहेका राम गिरि फरार छन् भने अन्य तीन जना प्रहरी कारबाहीको दायरामा तानिएका छन् ।

बलात्कारका मुख्य चार आरोपीलाई फन्दामा पार्न महानगरीय प्रहरी परिसर काठमाडौंले ७७ जिल्लाका प्रहरीलाई हुलियासहित सर्कुलर जारी गरिसकेको छ । उनीहरुलाई खोज्न प्रहरीको टोली खटिइसकेका छन् तर कोही फेला परेका छैनन् । प्रहरीमा आएको सूचना अनुसार चार जना नेपालको सिमानाभित्र छैनन् । गिरी कहाँ छन्, पत्तो छैन । प्रहरी उनीहरुको खोजीका लागि भारतीय प्रहरीको सहयोग जुटाउने प्रयासमा छ ।
प्रारम्भिक अनुसन्धान अनुसार फरारमध्ये  रामेछाप दुरडाँडाका शैलेश यो घटनाका मुख्य आरोपी हुन् ।

ल्यान्डमार्क बलात्कार प्रकरणमा संलग्न ग्याङका मुख्य सदस्य रहेका उनी मध्ययम वर्गीय परिवारका भए पनि रात्रिकालीन दैनिकीका शौखिन थिए । उनीसँग परिचितहरूका अनुसार चल्तीका बार र क्लबमा गएर नयाँ युवतीसँग मित्रता गाँस्नु उनको सोख हो । 

ग्याङका दोस्रो सदस्य सिन्धुपाल्चोकका दीपक फाट्टफुट्ट दादागिरीमा नाम सुनिएका व्यक्ति हुन् । ठमेलतिर होटल व्यवसायमा रहेको बताउने उनको नाम सुन तस्करीमा समेत जोडिने गरेको थियो । उनको सोख पनि शैलेशझैँ महँगा क्लब र बारमा रल्लिने नै थियो ।

तेस्रा सदस्य यो घटनाका सहयोगी देखिएका छन् तर घटनापछि उत्पन्न भएको अवस्थाको मुख्य व्यक्ति यिनै हुन् । उनको नाम हो, विकास । मकवानपुरका कहलिएका ‘ए’ गे्रडको निर्माण कम्पनी मोतिदान कन्ट्रक्सनसँग आबद्ध उनकै आर्थिक हैसियतमा यो ग्याङका अन्य सदस्यको सोख जम्ने गरेको थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा बनेको छानबिन समितिको निष्कर्षअनुसार घटनालाई गुपचुप पार्ने मुख्य आर्थिक स्रोत विकासकै हो । उनकै आर्थिक हैसियतसामु महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारी विकासले तोकेको भाउमा प्रहरीको बर्दी लिलामी गर्न राजी भए । चौथो सदस्य रविबारे न पीडितले थप खुलाउन सकेकी छन् न त प्रहरीले नै । यिनको नाम आए पनि हुलिया र वतनसमेत खुल्न सकेको छैन ।

प्रहरीले सन्देश बिसी र आवेश लामालाई पक्राउ गरेको छ । यी दुवै फरार भएका मुख्य आरोपीलाई विमानस्थलमा छाड्न गएको आधारमा पक्राउ परेका हुन् । अनुसन्धान अधिकारीका अनुसार घटनामा यिनीहरुको संलग्नता बलात्कारमा देखिएको छैन ।

घटनापछि प्रहरीसँग सेटिङ मिलाउन सक्रिय देखिएका राम गिरी काठमाडौंका चल्तापुर्जा रेस्टुरेन्ट व्यवसायी हुन् । ठमेलको रात्रिकालीन व्यवसायमा परिचित उनी कुनै समय फेसेस् बार, भिक्ट्री र देजाभूसँग जोडिएका थिए । 

घटनामा प्रत्यक्ष संलग्न भनिएका चारै जना फरार रहेकाले अहिले पीडित युवतीले दाबी गरेको घटना विवरणबाहेक अर्को पाटो खुलेको छैन । घटना विवरणमा युवतीकै बयान हाबी छ । प्रहरीले उनकै बयानलाई मुख्य आधार बनाएर जबर्जस्ती करणीमा अनुसन्धान अगाडि बढाइरहेको छ ।

‘अनुसन्धानको क्रममा बलात्कार भएको देखिएपछि आएको जाहेरीका आधारमा अनुसन्धान अगाडि बढिसकेको छ,’ काठमाडौं परिसरका एसपी तथा प्रवक्ता रामदत्त जोशीले भने, ‘घटनामा संलग्नको खोजी गरिरहेका छौं, चाँडै पक्राउ पर्छन् ।’

भेट्न बोलाएर बलात्कार

युवतीले घटनाको दिन माघ ८ मा प्रहरीलाई दिएकोे प्रारम्भिक जानकारी, स्वास्थ्य परीक्षणका क्रममा प्रसूति गृहका चिकित्सकलाई बताएको घटनाको पृष्ठभूमि, शैलेशको परिवारसँग भएको सहमतिपत्रको विवरण र माघ २० मा प्रहरीमा दिएको जाहेरी नै यो घटनाको फेहरिस्त हो अहिले ।
यी तीनवटै सामग्रीका आधारमा घटनाक्रम यस्तो देखियो :

राम्रै विद्यालयमा अध्ययन गरे पनि पढाइ अगाडि बढाउन नसकेपछि टेक्सटायल कम्पनीमा काम गर्ने २० वर्षीया युवती यो घटनाको पीडित हुन् । बाबुको मृत्युपछि आमाले अपनाएको दोस्रो जीवनसाथीलाई बाबु मानेर सँगै बस्दै आएकी उनको परिवारको आर्थिक अवस्था सामान्य देखिन्छ ।  युवती नयाँ साथी बनाउन, रमाइलो गर्न र महँगा पोसाकको शौखिन देखिन्छिन् । 

 

सम्बन्धित समाचार

एक घटना, चार बयान

‘उनलाई पहिलो पटक हेर्दा उनको आर्थिक हैसियत ठम्याउन मुस्किल पर्छ, राणा परिवारको सदस्यझै देखिएकी थिइन्,’ पीडित युवतीबारे जानकार स्रोतले भन्यो, ‘तर घर पुग्दा पृष्ठभूमि सामान्य नै देखियो ।’
उनले विभिन्न निकायमा दिएको जानकारीअनुसार ती युवती र शैलेशबीच करिब ६ महिना अगाडि चिनजान भयो । चिनजान भेटघाटसम्म पुग्दा दुवै नजिकिए । दुवै बेलाबखत घुम्नसमेत जान्थे । 

माघ ७ गते बिहान उनी कार्यालय गइन् । बेलुका ६ बजेतिर कार्यालयबाट निस्किएर घरमा फोन गरेर साथीको कोठामा जान्छु भनिन् । ललितपुरबाट कोटेश्वर जाने यातायात खोज्दै गर्दा उनलाई शैलेशको फोन आयो । उनले आफु साथीकोमा जान लागेको बताएपछि शैलेशले ‘एक छिन काम छ’ भन्दै लाजिम्पाटमा रहेको भूमि रेस्टरेन्टमा बोलाए । एकैछिन भेटेर मोटरसाइकलमा साथीको कोठामा पु¥याइदिने शैलेशको वाचापछि उनी लाजिम्पाट पुगिन् ।

भूमि रेस्टुरेन्टमा पुग्दा शैलेशसँगै अन्य तीन जनासमेत थिए । उनीहरु मदिरा पिइरहेका थिए । शैलेशले ती युवतीलाई वाइनको अफर गरे, उनले नाइनास्ती गरिनन् । शैलेशले ह्विकी पिए, उनले २ गिलास वाइन र २ पिस मम खाइन् ।

वाइन पिएको केही समयमा उनलाई झुम्म बनायो । उनले शैलेशलाई वाचाअनुसार साथीको घरमा पू¥याउन आग्रह गरिन् । उनले बहाना बनाएर टारिरहे । भूमिमा बसेको २ घण्टा जतिपछि शैलेशले उनलाई लिएर हिँडे तर कोटेश्वर हैन कमलादीतिर ।

शैलेशले होटल ल्यान्डमार्क एन्ड अर्पाटमेन्टको चौथो तल्लाको कोठा नम्बर ४०५ मा पु¥याए । कोठामा शैलेशका अन्य साथीहरुसमेत आए । जबर्जस्ती उनको कपडा उतारे । बलत्कार भयो । उनी बेहोस् भइन् । बिहान उठ्दा कपडा असरल्ल थियो । उनी रुन थालिन् । शैलेशले फकाउँदै उनलाई ट्याक्सीमा चढाएर घर जान भने । 

उनी रुँदै घर हैन, महानगरीय प्रहरी वृत्त कमलपोखरी गइन् र आफूमाथि भएको घटना जानकारी गराइन् । घटनास्थल दरबारमार्ग वृत्तको कार्यक्षेत्रमा पर्ने भएकाले प्रहरीले त्यता खबर गरे । दरबारमार्गको प्रहरी होटलमा पुगेर मुचुल्का उठाए । प्रहरीले पीडित युवतीलाई कोठामा पु¥याए ।

यो विवरण लिखित रुपमा खुलेका विवरणमा आधारित हुन् । योसँग जोडिएका  अनुसन्धान अधिकारी, कोठा बाहिरको अवस्थाबारे जानकार स्रोतसँग बुझ्दा थप विवरणसमेत आए ।

युवती होटलमा आउनुअगाडि नै दीपक श्रेष्ठले १० जना बस्ने भन्दै १०५, १०६, ३०६, ४०५ र ४०६ नम्बरको कोठा बुक गराएका थिए । भूमि रेस्टुरेन्ट जानुअगाडि शैलेश बाहेकका अन्य चार  जना दिउँसै होटलमा युवतीसहित बसेका थिए । युवतीसँगै चारै जना होटलबाट बाहिरिएपछि बेलुका ९ः३० तिर अर्की युवतीसहित तीन युवा होटलका आएका थिए । नयाँ आएकी युवती यस घटनाको पीडित हुन् । 

जानकार स्रोतका अनुसार होटलमा आउँदा युवती आफैं हिँड्न सक्ने अवस्थामा थिइनन् । युवती होटल प्रवेश गर्दा अवस्थाको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) फुटेजसमेत फेला परेको छ । फुटेजमा उनलाई शैलेशले अँगालो मारेर होटलभित्र पु¥याएको देखिन्छ । उनीहरु होटल पुगेपछि  मदिरा मागेका थिए । उनीहरु मदिरा पिएर मध्यरातसम्म हल्ला गरेर बसेका थिए । 

बिहान शैलेश र युवती होटलबाट बाहिर निस्किए । दुवै चुपचाप थिए । शैलेशले युवतीलाई ट्याक्सीमा चढाएर होटल फर्किए । केही समयमा होटलमा रहेका अन्य युवा होटलबाट शैलेशसँगै बाहिरिए । 
उनीहरु होटलबाट बाहिरिएको केही समयमा युवती होटल फर्किइन् । उनी प्रहरीसँगै आएका थिए । प्रहरीले होटलको अप्रेसन म्यानेजरलाई घटनाबारे बताउँदै घटना भएको भनिएको कोठा खोजे । म्यानेजरले युवतीसँग घटनाबारे सोध्दा उनले २ जना केटाले हात समातेको र अन्यले बलत्कार गरेको बताइन् ।

घटनामा ४०५ र ४०६ जोडिएको थियो । बलात्कार भएको भनिएको कोठा ४०५ रहेकाले प्रहरी त्यसको मुचुल्का उठाएर फर्किए । होटल पुगेको प्रहरी दरबारमार्गको थियो । मुचुल्काको काम सकिएपछि होटलका कर्मचारी दिलिप श्रेष्ठले दरबारमार्गको दुई प्रहरीसहित ट्याक्सीमा राखेर उनको डेरामा पु¥याएर युवतीलाई अभिभावकको जिम्मा लगाएर फर्कियो ।

यता दरबारमार्ग प्रहरीले युवतीको स्वास्थ्य परीक्षणका लागि प्रसूति गृह थापाथलीको नाममा पत्र बनायो अनि तालुकदार कार्यालय महानगरीय प्रहरी परिसर काठमाडौँको अपराध अनुसन्धान शाखालाई घटनाको विवरण खुलाएर पत्र पठायो ।

घटनामा जोडिएका चार जनामध्ये युवतीले शैलेशलाई मात्रै चिन्थिन् । उनीसँग नम्बरसमेत थियो । उनको परिवारले शैलेशलाई फोन गर्दा लाग्यो । जे भयो भयो विवाह गरिदिन्छौं भेटौं भनेपछि उनी भेट्न राजी भए । उनी महाराजगञ्ज क्षेत्रमा रहेकाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सहयोगमा माघ ९ मा पक्राउ गरेर दरबारमार्ग ल्याइयो । उनलाई प्रहरीले हिरासतमा राख्यो ।

यसरी आयो ट्विस्ट

यो घटनामा शैलेश मात्र जोडिने थिएनन् । उनीसहित अन्य ४ जनासमेत जोडिदै थिए । उनीहरु नेपालमा थिएनन् । घटनाकै दिन भारतको चेन्नेइमा आयोजित कार्यक्रममा भाग लिन हिँडिसकेका थिए । शैलेश पक्राउ परेको घटनामा जोडिएका विकासका परिवारले समेत चाल पाइसकेका थिए ।

कहलिएका निर्माण व्यवसायी परिवारका सदस्य रहेका उनको परिचितहरु घटना मिलाउन सक्रिय भए । यहीँ जोडिए रात्रिकालीन व्यवसायमा सक्रिय राम गिरी । गिरी डेजाभुसँग जोडिँदा उनको विकास लगायतकासँग परिचय भएको थियो । उनी डेकोरेसनको कामसमेत गर्छन् । मकवानपुरमा विकास जोडिएको एक प्रोजेक्टको डेकोरेसन गर्दा यी दुवैबीच चिनजान भएको थियो । 

१५ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा रल्लिका गिरीको दरबारमार्ग वृत्तका डिएसपी भारती लगायतकासँग राम्रै हिमचिम थियो । उनीहरुले सहयोगको आग्रह गरेपछि उनी सक्रिय भए ।

जानकार स्रोतका अनुसार गिरीले डिएसपी भारतीलाई घटना मिलाउन आग्रह गरेका थिए । जानकार स्रोतका अनुसार प्रारम्भमा भारती डराएर ‘यो घटना मिलाउँदा त खरानी भइन्छ’ भनेका थिए तर घटना मिलाए बापतको पाउने रकम ठुलै थियो । उनी लोभिए ।

भारतीअगाडि नै मुद्दा शाखाका प्रहरी निरीक्षक ठकुरी मुद्दा सल्टाउन सक्रिय भइसकेका थिए । मुद्दा शाखाको सई भण्डारीसमेत सहमत भए तर घटनाबारे जानकार वृत्तका केही प्रहरी यसको विपक्षमा थिए । स्रोतका अनुसार महिला तथा बालबालिका सेलमा आएका गुनासो सुन्ने एक प्रहरी ‘यस्तो गम्भीर विषयमा पनि सहमति हुन्छ ?’ भन्दै विपक्षमा उभिएका थिए ।

‘महिला सेलकी प्रहरी असहमत भएपछि डिएसपी भारतीले आफ्नो कार्यकक्षमा बोलाएर ठकुरीसहित आधा घण्टासम्म थर्काएको देखियो,’ घटनाको अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘सानो दर्जाको भएर ठूलो कुरा गर्ने हैन भन्दै सातो खाएछन् ।’

आरोपीको परिवार पीडित परिवारको सम्पर्कमा समेत पुगिसकेका थिए । मौखिक मात्रै उजुरी भएकाले मुद्दा मिलाउन सजिलो हुने र प्रहरी पनि तयार रहेको भन्दै फकाउन थाले । ५० लाखको अफरपछि पीडित परिवार पनि मुद्दा मामिला नगर्ने मुडमा आएपछि माघ १० मा वृत्तमै आरोपी र पीडित परिवारका सदस्यको भेट भयो ।

त्यहीँ युवतीले आफू आवेशमा आएर जबर्जस्ती करणीको आरोप लगाएको र यसअगाडि पनि सहमतिमा यौन सम्पर्क भएको र घटनाको दिन पनि सहमतिमै यौन सम्पर्क भएको विवरणसहितको सहमतिको कागज बन्यो । शैलेश कार्कीकी आमा, पीडित युवतीका आमा–बाबु र अन्य दुई जना साक्षी बसेको कागज बन्यो । शैलेश हिरासतबाट रिहा भए ।

त्यही दिन पीडित परिवारको हातमा २७ लाख प¥यो । त्यही दिन पीडित युवतीको आमाको नाममा ललितपुरमा रहेको बैंक अफ काठमाडौंमा खाता खोलेर २७ लाख जम्मा गरे । युवती प्रहरीको सम्पर्कबाहिर रहिन् । शैलेश पनि भारत गए ।

घटना मिलेलगत्तै माघ १२ मा डिएसपी भारती बिदामा बसे । जानकार स्रोतका अनुसार बिदामा बसेकै दिन उनी मुद्दा मिलाउन सहजकर्ता बनेका राम गिरीसँग पोखरा गएका थिए । अनुसन्धानमा संलग्न स्रोतले गिरी र भारती माघ १२ मा पोखरा गएको सूचना आए पनि पुष्टि गर्न नसकिएको बतायो । 

१ करोडको डिल

प्रहरी अनुसन्धान प्रभावित पार्न खर्चिएको रकम २७ लाखभन्दा अगाडि बढ्न सकेको छैन । मिलापत्रको कागज गर्दा ३० लाख खर्च भएको खुले पनि प्रहरी अनुसन्धान बाँकी तीन लाखतिर पनि लागेको देखिएन । जति रकम पीडित युवतीको आमाको खातामा फेला परेको थियो प्रहरी त्यसैमा अड्कियो । 

तर, घटनाको अनुसन्धानमा संलग्न विश्वस्त स्रोत ल्यान्डमार्क बलात्कार घटना सामसुम पार्न विकासको परिवारले १ करोडभन्दा बढी रकम खर्चिएको दाबी गर्छ । स्रोतका अनुसार पीडितलाई वाचा गरिएअनुसार २७ लाख ह्यान्ड क्यास दिइएको हो । त्यत्ति नै रकम पुनः दिने मौखिक वाचा थियो ।

पीडित युवतीको परिवारले पाएको रकमबाहेक खुलेको रकम ३ लाख मात्र हो । प्रहरीकै अनुसन्धानमा मुद्दा मिलाउन डिएसपी, प्रहरी निरीक्षक र सईको प्रत्यक्ष संलग्नता देखाएको छ ।

काठमाडौंको मुख्य स्थानमा भएको घटना जसमा मालदार व्यवसायीको छोरा जोडिएका छन् र छोराको जेलयात्रा रोक्न जति रकम पनि खर्चिन तयार छन्, त्यस्तो अवस्थामा तीन जना प्रहरीले ३ लाखमा चित्त बुझाए होलान् त ? घटनाको अवस्था, प्रहरीको भूमिका र मुद्दा प्रभावित पार्न सक्रिय पक्षको आर्थिक अवस्थाले यो प्रकरणमा केवल ३० लाख मात्रै डिल नभएको आफैं पुष्टि गर्छ । 

‘अनुसन्धानमा पीडित युवतीको आमाको खातामा अस्वाभाविक रुपमा एकै दिन २७ लाख जम्मा भएको देखिएको छ जसको स्रोत खुल्न सकेको छैन,’ एसपी जोशीले भने, ‘यो घटनासँग जोडिएको अन्य पैसा नदेखिएकाले प्रतिवेदनमा खुलेको रकम मात्रै उल्लेख छ ।’

द्वन्द्वले चुहियो सूचना

कमलपोखरी र महाराजगञ्जका प्रहरीसमेत यस घटनाबारे जानकार थिए । कमलपोखरीको प्रहरीले घटनाबारे चासो राख्दा मिलापत्र भइसकेको खुल्यो । महाराजगञ्जको प्रहरीले बुझ्दा बलात्कार घटनामा पक्राउ परेका आरोपी मुक्त भइसकेको देखियो । घटनामा जोडिएकाहरु पैसा खर्च सक्ने हैसियतमा रहेको र काठमाडौंको मुख्य स्थानमा भएको घटना मिलापत्रमा टुंगिएको सूचनाले पैसाको चलखेल भएको संकेत दियो । मिलापत्रको तेस्रो दिन सूचना चुहियो । 

सामूहिक बलात्कारको घटना प्रहरीले मिलाएको सूचना भुसमा आगो सरी फैलियो । घटनाको जाहेरी पाए पनि गम्भीरतापूर्वक फलोअप नगरेको महानगरीय प्रहरी परिसर नै प्रारम्भमा तात्यो । माघ १५ मा परिसरका तत्कालीन प्रमुख छविलाल जोशी आफैं दरबारमार्ग वृत्तमा गए । घटनाक्रम छिटोछिटो विकसित भयो । त्यही दिन दिउँसो ठकुरीको सरुवा हेडक्वार्टरमा भयो । त्यसै दिन उनलाई प्रहरीले आन्तरिक नियन्त्रणमा लिँदै हेडक्वार्टरको उत्तरमा रहेको १ नम्बर गणमा प्रहरीकै आन्तरिक हिरासत राख्यो । 

प्रहरीले अनुसन्धानका लागि एसपी जोशीको संयोजकत्वमा समिति बनायो । अनुसन्धानमा मुद्दाको मिलापत्र वृत्तभित्रै भएको खुल्यो । शैलेश पक्राउ परेर हिरासतमा राखेको खुले पनि हिरासतको विवरण पुस्तिकामा उनी पक्राउको विवरण खुलेन । पन्ना नै च्यातिएको थियो । घटनामा मुद्दा शाखाका सई भण्डारी र डिएसपीको समेत सहयोगी भूमिका रहेको देखिएपछि सई निलम्बनमा परे, डिएसपीको सरुवा मात्र गरियो ।

‘प्रारम्भमा आनाकानी गरे पनि पछि मिलापत्र गराउन डिएसपी भारती आफैं सक्रिय भएको देखिएको छ,’ अनुसन्धान अधिकारीले भने, ‘अन्य दुई प्रहरीसँगै उनी पनि यसका मुख्य आरोपी भए पनि प्रभावको आधारमा निलम्बन गरिएन ।’

फरक–फरक बयान

युवती बसेको होटलको कोठामा फेला परेको प्रयोग भएको कण्डम, पीडित युवतीको प्रारम्भिक बयान र मुद्दा मिलाउन भएको चलखेलले घटना गम्भीर रहेको देखाउँछ नै । पैसाको प्रलोभनमा मुद्दा मिलापत्रमा पुगेको पीडित युवतीको आमाको नाममा देखिएको २७ लाखले खुलाउँछ ।

तर घटनामा पीडित युवतीको गतिविधि र बयान एकनास नहुँदा घटना जुन रुपको देखिएको छ, त्यही हो त भन्ने आशंका भने बढाएको छ ।

प्रारम्भमा बलात्कार भएको दाबी गर्ने युवतीलाई खोजेर ल्याउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । मोबाइल नै बन्द गरेर उपत्यकाबाहिर गएकी युवतीलाई प्रहरीको सम्पर्कमा ल्याउन उनकी आमालाई नियन्त्रणमा लिनु परेको थियो । माघ २० मा उनकी आमालाई प्रहरीले कार्यालयमा ल्याइएपछि मात्रै उनी सम्पर्कमा आएकी थिइन् ।

प्रहरीको सम्पर्कमा आएपछि उनले बलात्कार भएको अस्वीकार गरिन् । प्रहरीले आमाको खातामा रहेको पैसा र घटनाक्रम बताउँदै ढाँट्दा आफैँलाई समस्या पर्ने भन्दै सम्झाएपछि मात्रै उनी जाहेरी दिन राजी भएकी थिइन् ।

माघ २० मा दर्ता भएको जाहेरीसँगै युवतीले घटनाबारे उल्लेख गरेको विवरण तीन वटा पुग्यो । तीनवटै विवरण उनले फरक–फरक विवरण बताएकी छन् । घटनाको पहिलो दिन दरबारमार्ग वृत्तमा दिएको बयानमा उनले ‘नशा लागेपछि होटलमा लगेर सुताएको’ बताउँदै घटनाबारे उल्लेख नगरी ‘आफूलाई बलत्कार गरेझैँ लागेको’ बताएकी छन् ।

प्रहरीले स्वास्थ्य परीक्षणका लागि पठाएको अस्पतालमा चिकित्सकलाई घटनाको पृष्ठभूमि बताउने क्रममा उनले ‘चार जनाले लुगा फुकालिदिएको, भागेर ट्वाइलेटमा लुक्न जाँदा शैलेशले तानेर ल्याएर बेडमा सेक्स गरेको’ बताएकी छन् । यस अगाडिको बयानमा उनले शैलेशसँग फेसबुकमा भेटेको बताएकी थिइन् । चिकित्सकले उल्लेख गरेको पृष्ठभूमिमा हेटौँडामा भेट भएको’ उल्लेख छ । 

माघ १० मा भएको सहमतिपत्रमा ‘दुवै जनाको सल्लाहमा शारीरिक सम्पर्क भएको र शैलेससँग नसाको सुरमा विवाद भएर होटलमा नै छोडेपछि रिसको आवेगमा प्रहरी कार्यालयमा गएर जबर्जस्ती करणी गरेको भनी मौखिक जानकारी गराएको’ उल्लेख छ । 

माघ २० को जाहेरीमा उनले बाथरुममा लुक्न गएको, हामफालेर आतमहत्या गर्न खोजेको, शैलेशले ट्याक्सीमा चढाएर घर जान भनेको केही उल्लेख गरेकी छैनन् । मिलापत्रको पृष्ठभुमिबारे मौन उनको जाहेरीमा उनले ‘कोठामा रहेको म्याट्रेसमा सुताएर विकास र  शैलेसले सेक्स गरेको र पछि रवि र दीपकले समेत सेक्स गरेको, आफैं कपडा लगाएर होटलबाट तल झरेर ट्याक्सी लिएर प्रहरीको गएको उल्लेख गरेकी छन् ।

स्वास्थ्य परीक्षणमा बलात्कार हो या हैन भन्ने निक्र्यौल गर्न गुप्ताङ सुन्निएको छ छैन, उनको कपडा र बेडमा आरोपीको कपाल छ छैन, पीडितको शरीरमा कुनै चोट, नङले कोतरेको घाउ या टोकेको संकेत र जबर्जस्ती हात समात्दा नीलडाम हेर्ने गरिन्छ । स्रोतका अनुसार युवतीको स्वास्थ्य परीक्षण रिर्पोटमा बलात्कार नै भएको ठोकुवा गर्ने आधार उल्लेख छैन ।
 

Leave A Comment