गीत–विवादले टुटायो दोस्ती

आइतबार, ०६ फागुन २०७४, ०४ : ०० शुक्रवार
गीत–विवादले टुटायो दोस्ती

अनुमति नै नलिई आफूले गाएको गीत अर्को गायकलाई गाउन दिएको भन्दै बाबु बोगटीको उजुरीपछि यशकुमार र बाबु बोगटीको मनमुटाव बढेको छ । 

सिउँदो बोलको गीत अर्कैलाई गाउन दिएको विषयमा निकट मित्र गायक यशकुमार र बाबु बोगटीबीच मनमुटाव बढेको हो । यशकुमारले लेखेको गीत बाबुले १२ वर्षअघि गाएर ‘रिजल्ट’ नामक एल्बममा राखेका थिए । त्यही गीत यशले आफूसँग छलफल नै नगरी एकदेव लिम्बुलाई गाउन दिएपछि दुईबीच तिक्तता मात्रबढेन उनीहरूबीचको लामो दोस्ती नै टुटेको हो ।

आफ्नो एल्बममा रहेको गीत सोध्दै नसोधी अर्को गायकलाई गाउने अनुमति दिएको भन्दै गायक बाबु बोगटीले प्रस्तोता समाजमा आफ्नै लंगौटिया यशकुमारविरुद्ध निवेदन दिएपछि दुवै साथीबीचको १४ वर्षे मित्रता संकटोन्मुख भएको हो । 

एकदेव लिम्बुले फोनमार्फत् यशकुमारलाई बाबुले उजुरी दिएको जानकारी दिएका थिए । गीतको विवादबारे यशकुमारले आफूले बाबुलाई नसोधी अर्को गायकलाई दिएको स्वीकार गरे ।

‘कुन स्रष्टालाई आफ्नो गीत ओझेलमा परेको मनपर्छ र ? एकदेवले गाउँछु भनेपछि अनुमति दिएको हुँ,’ गायक तथा संगीतकार यशकुमारले भने, ‘बाबुले मैले गरेको निर्णयमा कुनै आपत्ति जनाउँदैन भन्ने विश्वास थियो तर यही गीतको कारण साथी गुमाएँ ।’

उनले ‘रिजल्ट’ नामक एल्बमका दुई वटा गीतको म्युजिक भिडियो बनाए पनि आफ्नो गीतलाई खासै महŒव नदिएको गुनासोसमेत गरे । यशकुमारका अनुसार करिब दुई महिनाअघि एकदेवले उनीसँग गीत मागेका थिए । उनले बाबुले गाएको पुरानो गीत दिए ।

‘उनलाई ट्रयाजिडी गीत चाहिने रहेछ । ‘सिउँदो’ गीत सुनाएँ । उनलाई मन परेपछि बाबुलाई म कुरा गर्छु भनेर गाउन दिएँ । व्यस्तताका कारण अमेरिकामा रहेका बाबुसँग कुरा हुन सकेन,’ उनले भने, ‘गीत सार्वजनिक भएपछि विवाद भयो ।’

फिल्मको सुटिङ सिध्याएर दुई महिनापछि मुस्ताङबाट काठमाडौं आउँदा गीत सार्वजनिक भएको खबर सुनेका रहेछन्, यशले । युट्युबमा गीत हिट हुँदै थियो । त्यही बेला बाबु नेपाल आए । उनले आफूले गाएको गीतमा अरु नै कोहीको स्वरमा सुनेपछि आपत्ति जनाए ।

आफूले गाएको गीत नयाँझैँ कुनै क्रेडिट नै नदिई गाएको भन्दै बाबुले आपत्ति जनाएपछि म्युजिक भिडियोमा विशेष धन्यवाद दिइयो तर त्यसलाई मात्र बाबुको चित्त बुझाएन । उनी कानुनी लडाइँमा गए । उनले प्रस्तोता समाजमा ‘यशकुमारले मेरो इतिहास मेटाउन खोजे’ भनेर निवेदन दिए । मुद्दा भोलिपल्ट नै सल्टाए पनि दुवैको सम्बन्ध सल्टिएन । निवेदनसँगै दुवैको मित्रता चिसियो ।

बाबुले ‘गीत गाउने स्रष्टाको अनुमतिबिना सम्बन्धित रचनाकारले अन्य कलाकारलाई फेरि गीत गाउन दिनु भनेको गायकको नैतिक अधिकारमाथि हस्तक्षेप गर्नुजस्तो हो’ भने । उनले यशले सोध्दै नसोधी आफूले गाएको गीत अर्को गायकलाई दिएर आफ्नो इतिहास मेट्ने प्रयास गरेकाले न्यायका लागि उजुरी दिएको बताए । 

१४ वर्ष अगाडि जोडिएको मित्रता

यशकुमार गायकका रुपमा चर्चामा आइसकेका थिए । बाबु बोगटी भने जेम्स प्रधानको स्टुडियोमा रेकर्डिस्टको काम गर्थे । करिब १४ वर्षअघि सुरुङ्गा बजारमा आयोजित कसन्र्टमा दुवैको चिनजान भयो । घनिष्टता पनि उत्तिकै बढ्यो । 

दुवै मिलेर सन् २००८ मा दरबारमार्गमा रिदम प्यालेस नामक गजल रेस्टुराँ दुवैले लगानी गरेर खोले । झण्डै २१ लाख लगानीमा खोलिएको रेस्टुराँमा यश र बाबुसँगै अन्य २ जना लगानीकर्ता पनि थिए । रेस्टुराँ १ वर्ष भन्दा बढी चलेर बन्द भयो । यशकुमार रिदम फिल्म्स प्रालि सञ्चालनमा सक्रिय भए । यशकुमारले बनाउने फिल्ममा बाबुले मुख्य भूमिका पनि पाए । यशकुमार फिल्म निर्माणमा सक्रिय भए बाबु अमेरिकातिर लागे ।

‘गीतमा पहिलो अधिकार रचनाकारको हुन्छ तर बाबुले बुझ्दै नबुझी उजुरी ग¥यो,’ यशले भने, ‘यसले मेरो मन बेस्कन दुखायो ।’

प्रस्तोता समाजका तुलसी पराजुलीका अनुसार पनि गीतमा पहिलो अधिकार रचनाकारको हुन्छ । रोयल्टी भने रचनाकार, संगीतकार, लगानीकर्ता र प्रस्तोताले समेत पाउँछन् । 

स्मृति ढुंगाना

Leave A Comment