एउटा निर्देशकः जो अझै जिउँदो छ

सोमबार, ०३ साउन २०७३, ०४ : २७ माधव ढुङ्गेल , Kathmandu
एउटा निर्देशकः जो अझै जिउँदो छ

इरानी चलचित्र हेर्नमा जति सुन्दर छन्, चलचित्रकर्मीका लागि त्यहाँको परिवेश त्यति नै कुरूप छ । असाध्यै ठूलठूला चुनौतीका बीच चलचित्रकर्मी काम गरिरहेका छन् । जाफर पनाही तिनीहरूमध्येका एक हुन् जसले आफ्ना चलचित्रहरूको पुनर्सम्पादन गर्न नमान्दा र नयाँ चलचित्र बनाउँछु भनेर घोषणा मात्रै गर्दा पनि जेलको जीवन बिताउनुप¥यो ।
पनाहीलाई सन् २०१० मा बन्दी बनाइएपछि प्रसिद्ध चलचित्रकर्मी अब्बास किरोस्तामीले क्यान फिल्म फेस्टिबलमा इरानको सेन्सर प्रणालीमाथि बोल्दै भनेका थिए, ‘एक चलचित्रकर्मीलाई यसरी जेलमा बन्दी बनाउने काम अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप हो । चलचित्रकर्मीले चलचित्र बनाउनुलाई अपराध भन्न कसरी मिल्छ ? अझ त्यस्तो चलचित्रकर्मीलाई जेलमा हाल्नु कसरी जायज हुन्छ, जसले बनाउन लागेको चलचित्र अहिले बनिसकेकै पनि छैन ?’
खासमा भएको के थियो भने, राष्ट्रपति पदका लागि भएको विवादास्पद चुनावमा मारिएका आन्दोलनकारीको शोकसभामा सामेल भएबापत सन् २००९ मा पनाहीलाई गिरफ्तार गरिएको थियो । देशविदेशका चलचित्रकर्मी र मानव अधिकारकर्मी लगायतको विरोधपछि केही समयमा उनी रिहा भए । शोकसभाका विषयमा चलचित्र बनाउने इच्छा राखेपछि सन् २०१० मा उनलाई फेरि थुनियो र छ वर्षको कैद सजाय सुनाइयो । कैद मात्रै होइन, २० वर्षसम्म चलचित्र निर्देशन गर्न नपाउने, पटकथा लेख्न नपाउने, विदेश यात्रा गर्न नपाउने र सञ्चार माध्यममा अन्तर्वार्ता दिन पनि नपाउने गरी प्रतिबन्ध लगाइयो । इरानी सरकार उनीप्रति डराउनुको मूल कारण चलचित्रकर्मीका रूपमा उनले निर्माण गरेको अन्तर्राष्ट्रिय व्यक्तित्व थियो ।
क्यान्स फिल्म फेस्टिबलमा पहिलो चलचित्र ‘द ह्वाइट बेलुन’ (सन् १९९५) पुरस्कृत भएपछि सुरु भएको उनको यात्रा फेरि ओरालो झरेन । ‘द मिरर’ (सन् १९९७) का लागि लोकार्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा गोल्डेन लियोपार्ड प्राप्त गरे । यद्यपि, यी दुवै चलचित्रमा उनको राजनीतिक दृष्टिकोण प्रष्टसँग आइसकेको थिएन ।
जेल पर्नुअघि उनले बनाएका ‘द सर्कल’ (सन् २००२) ‘क्रिम्सन गोल्ड’ (सन् २००३) र ‘अफसाइड’ (सन् २००६) जस्ता चलचित्रका लागि अन्तर्राष्ट्रिय स्तरमा पनाहीलाई राम्रो ख्याति मिलेको थियो । तर, दुर्भाग्य, यी तीनटै चलचित्र इरानमा प्रतिबन्धित भए । एक अन्तर्वार्तामा पनाहीले भने, ‘मैले चलचित्र मेरै देशका लागि बनाएको हुँ । देशवासीले नै हेर्न नपाएपछि कुनै पनि पुरस्कारको अर्थ खासै नहुँदो रहेछ ।’
इरानको नकारात्मक छविलाई चलचित्रमा उतारेको आरोप पनाहीमाथि सरकारले लगाएको छ । ‘द सर्कल’मा इस्लामी राष्ट्रभित्र महिलाहरूको दयनीय अवस्थालाई देखाइएको छ । ‘क्रिम्सन गोल्ड’मा घरघरमा पिज्जा पु¥याइदिने व्यक्तिका माध्यमबाट इरानी उच्चवर्गीय जीवनशैली र तिनका विशेषाधिकारलाई देखाइएको छ ।
‘अफसाइड’ चलचित्रमा इरान र बहराइनका बीचमा विश्वकप फुटबलका लागि भएको क्वालिफाइङ म्याचलाई पृष्ठभूमि बनाएर केही किशोरीको कथा भनिएको छ । कलेज पढ्दै गरेका किशोरीहरू भेष बदलेर लुकीलुकी रंगशालामा प्रवेश गर्न खोज्दा पक्राउ पर्छन् । भित्र म्याच चलिराखेको हुन्छ, यिनीहरू भित्रको हल्लाले रोमाञ्चित त हुन्छन् तर प्रहरीको निगरानीमा बाहिर बस्न बाध्य छन् । यो मर्मस्पर्शी कथा जाफरकी छोरी सोल्माज पनाहीले भोग्नुपरेको वास्तविक कथामा आधारित थियो ।
‘इरानमा सबैका लागि पूmलहरूको बिछ्यौना छैन’ भन्ने पनाही लेइरानी नयाँ लहर आन्दोलनका अन्य निर्देशकहरूले झैँ सामाजिक राजनीतिक जीवनलाई ज्यादा न्यायपूर्ण र मर्यादित बनाउनका लागि आफ्ना चलचित्रमार्फत बहस निर्माण गर्दै आएका छन् । इरानी चलचित्रका सन्दर्भमा उनले भनेका छन्, ‘विश्वमा हजार मिलियन डलर खर्च गरेर चलचित्र बनाइन्छन् तर हामी आफ्ना चलचित्रमा एउटी त्यस्ती सानी केटीको कथा भनिरहेका छौँ जो एक डलरभन्दा पनि कम मूल्यको माछा किन्न चाहन्छे ।’
सन् २०१० पछि पनाहीलाई चलचित्र बनाउन प्रतिबन्ध लाग्यो तर खाने मुखलाई जुँगाले छेकेन । बर्लिन चलचित्र महोत्सवमा यिनको ‘ट्याक्सी’ (सन् २०१५) को प्रिमियर भयो । त्यसमा भाग लिन जान नपाएका पनाहीको सम्मानमा त्यहाँ एउटा कुर्ची खाली राखिएको थियो । उनले त्यहाँ सन्देश पठाएका थिए, ‘त्यस्तो केही छैन जसले मलाई चलचित्र बनाउनबाट रोकोस् । प्रतिबन्धित भएपछि त झन् म भित्रैदेखि चलचित्रकर्मी भएको छु, आफ्ना लागि मात्रै पहँुच भएको मेरो निजी क्षेत्रमा सीमित भएरै पनि चलचित्र बनाउन सकिन्छ भन्ने बोध ममा प्रबल भएर आएको छ ।’
‘ट्याक्सी’ गुपचुप गुपचुपमा देशबाहिर पुगेर प्रदर्शनमा आएको तेस्रो अवैधानिक चलचित्र थियो । यसभन्दा अगाडि नै उनको सहनिर्देशनमा बनेका ‘दिस इज नट अ फिल्म’ (सन् २०११) र ‘क्लोज कर्टन’ (सन् २०१३) त्यसै गरी भूमिगत बाटोबाट बाहिर पुगिसकेका थिए । ‘दिस इज नट अ फिल्म’ नामको वृत्तचित्रलाई बर्लिन महोत्सवमा पठाउनका लागि उनले चलचित्र भएको पेनड्राइभलाई केकभित्र लुकाएर पास गर्नु परेको थियो ।
सन् २०१० पछिका चलचित्रमा दृश्य साधारण छन् तर आलोचनात्मक दृष्टिकोण तीक्ष्ण छ । ‘ट्याक्सी’ चलचित्रमा तेहरान शहर छ जहाँ उनी आफू ट्याक्सी ड्राइभरका रूपमा छन् र यात्रुहरूसँग इरानको अवस्थाबारे संवाद गर्छन् ।
सन् १९७९ को ‘इस्लामिक क्रान्ति’पछिको इरानका मूलतः दुइटा परिचय छन् । एउटा परिचय अमेरिकी साम्राज्यवाद विरोधी शक्ति मध्येको एउटा शक्ति हुनु हो । अर्को परिचय यहाँको धार्मिक कट्टरपन्थीको शासन प्रणाली हो । पहिलो परिचयका कारण इज्जत दिनेले पनि दोस्रो परिचयका कारण यसको आलोचना गर्छन् ।
करिब साढे सात करोड जनसंख्यामध्ये ४० देखि ५० लाख इरानी देशबाट विस्थापित छन् । नयाँ लहर आन्दोलनका निर्देशकहरू पनि स्वदेशमा टिक्न नसकेर विदेशी भूमिमा बसेर इरानी समाजमाथि काम गर्दै छन् । तर, पनाहीको अवस्था फरक छ । उनी एक त विदेश जानै नपाउने गरी कडा निगरानीमा छन्, दोस्रो उनी बसोबासका लागि विदेश जान चाहँदैनन् पनि ।
प्रहरी सोधपुछका क्रममा उनलाई ‘तँ इरानमा किन बस्छस्, किन बाहिर गएर काम गर्दैनस् ?’ भनी सोधिदा उत्तरमा पनाहीले भनेका थिए, ‘म इरानी हुँ । मेरै देशमा छु र यहीँ काम गर्न रुचाउँछु । देशलाई माया गर्छु । माया गरे बापत मैले लगानी पनि गर्नु परेको छ र आवश्यकता पर्दा यस्तो लगानी गर्ने चाहना अझै पनि छ ।’

 

Leave A Comment