दयाहाङको दयालाग्दो ‘कान्छी’

बुधबार, ०९ फागुन २०७४, ०२ : १६ अनिल यादव
दयाहाङको दयालाग्दो ‘कान्छी’

फिल्म दृष्टि 

अन्तरवार्ताका क्रममा एक वर्षअघि अभिनेता दयाहाङ राईलाई सोधेको थिएँ, ‘व्यावसायिक हुने नाममा तपाईं अर्काे राजेश हमाल हुने खतरा छ भन्छन् समीक्षकहरू । फिल्मका संख्या त बढ्ने भए, गुणस्तर उस्तै ।’ 

उनले त्यतिबेला आफू मात्र दोषी नभएर फिल्म मेकर्सको पनि दोष रहेको बताउँदै भनेका थिए,  ‘खतरा त मलाई पनि महसुस भएको छ तर मेरो अनुभवले भन्छ धेरैजसो फिल्म मेकर्सहरू दर्शकलाई सोचेर सिनेमा बनाउँछन् । आफ्नो लागि बनाउँदैनन् । जुन दिनदेखि उनीहरुले आफ्ना लागि सिनेमा बनाउन थाल्छन्, त्यो दिनदेखि म सफल भएको महसुस गर्छु ।’ 

जतिबेला यो अन्तर्वार्ता लिइएको थियो त्यतिबेला उनीमाथि खतराको संकेत मात्र थियो । तर आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म ‘कान्छी’ हेरिसकेपछि दृश्य त्यस्तै देखियो- ‘दयाले आफ्नो लय गुमाएर अर्को राजेश हमाल भइसके ।’

त्यसो त फिल्म समीक्षक नवीन सुब्बाले केही समयअघि आफ्नो एक लेखमा भनेका थिए, ‘आदिवासी जनजातिका दयाहाङजस्ता केही अनुहारहरू नेपाली फिल्ममा स्थापित भए पनि उनीहरु राजेश हमाल परम्पराका पुनरावृत्ति मात्र हुन् । के उनीहरूले फिल्ममा आफ्नो सामुदायिक पृष्ठभूमिको भिन्न अभिनय चेतना र शैली बोकेर आएका छन् ? उनीहरूले अनुहारको विविधता मात्रै थपिरहेका छन् कि अभिनयको पनि । ’

‘कबड्डी’ र ‘लुट’जस्ता फिल्म खेलेर दयाहाङले जुन प्रशंसक कमाएका थिए, ‘कान्छी’ जस्तै फिल्म खेलिरहने हो भने उनले आफ्ना प्रशंसक घट्ने पक्का छ । ‘कान्छी’मा ‘आफूलाई हिरो होइन अभिनेता हुँ’ भन्ठान्ने दयाको अनुहार बिर्सने हो भने फिल्ममा देखिने उनको रोनाधोना, फाइट र नाचगानले नेपाली फिल्मका पुराना कलाकारलाई सम्झाउँछ । 

दुई कारणले यो फिल्म दर्शकसामु प्रतिक्षित थियो । एक–अभिनेता दयाहाङको फिल्म , दोस्रो– यो फिल्मबाट स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी अर्थात् अभिनेत्री श्वेता खड्काको ‘कमब्याक’ । ‘कोहिनुर’ रिलिजपछि उनलाई पुनः पर्दामा देख्न चाहनेहरुको चाह फिल्मले मेट्दै थियो । 

दर्शकको प्रतीक्षा जति प्रेमिल थियो, फिल्म त्यति प्रेमिल बन्न सकेको छैन । फिल्मले गम्भीर विषयलाई छुन त खोजेको छ तर त्यसको उचित सम्बोधन हुन सकेको छैन । फिल्ममा विषय वस्तुको चाङ छ तर एकैपल्ट धेरै विषयमा हात हाल्दा चिप्लिएको छ फिल्म, चिप्लिएका छन् यसका निर्देशक । 

फिल्ममा ‘कान्छी’ बनेकी श्वेता खड्का नर्स हुन्छिन्, जो गाउँमा अस्पताल खोल्ने अभियानमा लागेकी छन् तर दयासँगै फिल्मका तीन पात्र जसरी उनलाई पाउने अभियानमा लागेका छन् त्यसले फिल्मको मूल र गम्भीर विषयलाई नै ओझेलमा पारिदिएको छ । निर्देशकले यी विषयसँगै फिल्ममा दलितको प्रेम, तेस्रो लिङ्गीको प्रेम, मधेसी–पहाडीको प्रेम पनि उठाउन खोजेका छन् तर कमजोर पटकथा र हल्काफुल्का प्रस्तुतिका कारण दर्शकलाई त्यो बोझिलो लाग्छ । दर्शक अब चलाख भइसके ।  उनीहरु फिल्ममा विषयवस्तु मात्रै खोज्दैनन्, प्रस्तुति पनि खोज्छन् । जुन मामिलामा ‘कान्छी’ चुकेको छ । विषयवस्तुको गम्भीरतालाई नबुझी फिल्म लेख्नु र निर्देशन गर्नु यसका लेखक यम थापा र निर्देशक अधिकारीको ठूलो कमजोरी हो । 

‘कान्छी’ पाउन गरेको संघर्ष नै फिल्मको मूल कथा हो । गाउँमा डाक्टर ल्याउने, अस्पताल बनाउने लक्ष्यसहित ‘कान्छी’को समूह नाटक मञ्चन गरिरहन्छ । हिरा (दया)ले  कान्छीलाई असाध्यै प्रेम गर्छन् तर पर्दाबाहिर मात्रै होइन, पर्दाभित्रै नाटक खेलिरहँदा पनि ‘आई लभ यू’ भन्न सक्दैनन् । गाउँमा आएका डाक्टर सा’ब (प्रज्ज्वल गिरी)ले भने गाउँ पसेको दुई दिन नबित्दै ‘आई लभ यू’ भनेर प्रेमजालमा फसाइसक्छन् । गाउँकी जिम्मावाल (नीर शाह)की छोरी ‘कान्छी’लाई मन पराउने अर्को पात्र पनि छन्, जो विदेशबाट फर्किएका छन् । 

स्वेताकै क्यारेक्टरबाट फिल्मको नाम जुराइएको छ– ‘कान्छी’ । पहिलो हाफसम्म त्यही ‘कान्छी’लाई दयाहाङ ‘आई लभ यू’ भन्न सक्दैनन् तर पछि इन्ट्री भएका डाक्टरसँग उनी सहजै शारीरिक सम्बन्धका लागि तयार हुन्छिन् । यस्तो दृश्यले ‘कान्छी’कै चरित्र चित्रण पर्दामा परिपक्व लाग्दैन ।

फिल्मको लाउड ब्याकग्राउन्ड म्युजिकले दर्शकलाई ‘इरिटेट’ गराउँछ । फिल्ममा तेस्रोलिङ्गी भूमिका श्रेष्ठ पनि छन् जसलाई मधेसी मूलका कामेश्वर चौरसिया असाध्यै मन पराउँछन् । भूमिकालाई फकाउनका लागि कामेश्वर कुमारबाट कुमारी बन्छन् । यो दृश्यको ध्येय तेस्रोलिङ्गीको मजाक उडाएर दर्शक हँसाउन खोज्नु हो भन्ने प्रस्टै झल्किन्छ । यदि फिल्मलाई सिर्जनशील कला मान्ने हो भने यसमा के सिर्जनशीलता ? 

यस्ता दृश्य हेर्दा के लाग्छ भने निर्देशक अधिकारी अझै पनि ‘स्टेरियोटाइप्ड’ सोचबाट मुक्त छैनन् । उनले फिल्म निर्देशन थालेको वर्षौं भइसक्यो । तर समय बिताउनु मात्रै ठूलो कुरा होइन, समयसँगै आफूलाई परिष्कृत गर्नु जरुरी देखियो । यद्यपि आकाशका यसअघिका फिल्मभन्दा पटकथा, कास्टिङ आदि हिसाबले यो फिल्म माथि छ । 

यो फिल्मको सुन्दर पक्ष भनेकै निर्देशक अधिकारीले जनजाति अनुहारका दयाहाङसँग श्वेताको जोडी कसिदिनु हो । सिनेमाटोग्राफी पनि ठिकै छ । केही दृश्यहरु साँच्चै कलात्मक लाग्छन् । हीराले ‘कान्छी’का लागि बाटोका काँडाका झारहरु काटिदिने दृश्यले मन छुन्छ । कान्छी–डाक्टर बीचको एक दृश्यमा देखाइने पुतलीको प्रेम पनि विम्वात्मक लाग्छ । ‘चरी चट्ट परी’ गीत हेर्नलायक छ । 

पहिलोपल्ट दयाको फिल्म हेर्नेका लागि ‘कान्छी’मा उनको अभिनय नौलो लाग्न सक्छ । भिलेनको रोलमा देखिएका विनोद न्यौपानेले दर्शकलाई ‘इन्टरटेन’ गराउँछन् । कामेश्वर र आशान्त शर्माको अभिनयले प्रभाव छोड्छ तर ‘कान्छी’ बनेकी श्वेताले अभिनयमार्फत् दर्शकको मन जित्न मुस्किलै छ । फिल्ममा उनको अभिनय अस्वाभाविक लाग्छ । श्रीकृष्ण श्रेष्ठका नाममा फिल्म क्षेत्रलाई योगदान दिइरहने हो भने उनले पर्दाभित्रबाट भन्दा पनि बाहिरबाटै योगदान दिँदा उपयुक्त हुन्छ । 

समग्रमा यो फिल्म पनि ‘बजारमा चल्छ, चलाउनुपर्छ’ भन्ने मानसिकताकै उपज हो । दयाहाङले फिल्मको संख्यामात्रै बढाउने, स्तरमा ध्यान नदिने हो भने अब उनलाई बजारबाट होइन, निर्मातालाई उनीबाट खतरा हुने देखियो । 


Leave A Comment