करणको चमत्कार

बुधबार, १६ फागुन २०७४, ०७ : ३२ शुक्रवार
करणको चमत्कार

करण केसीको आक्रामक ब्याटिङप्रेरित नेपालले लिगको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित हात पार्दै डिभिजन १ मा उक्लिनुका साथै दुई  सातापछि जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा समेत छनोट भयो ।

विश्व क्रिकेट लिग डिभिजन –२ को उपविजेताको रूपमा डिभिजन –१ मा उक्लिँदा करणले अन्तिम विकेटका लागि सन्दिप लामिछानेसँग अविजित ५१ रनको साझेदारी गर्दै नेपालका लागि विश्वकप क्वालिफायरको ढोका खोलिदिएका थिए ।

नेपाल समूह विजेताको रूपमा फाइनल प्रवेश गर्दा अन्तिम खेलमा आयोजक नामिबियालाई पराजित गरेको युएई भाग्यमानी रहँदै रन रेटको आधारमा फाइनल प्रवेश गर्दै डिभिजन १ मा उक्लिन लिगको अन्तिम खेलअघिसम्म समूहको शीर्ष स्थानमा रहेको क्यानडा डिभिजन २ मै रोकियो । त्यस्तै नामिबिया पनि डिभिजन २ मा रोकियो । पाँचांै तथा छैटौं स्थानको ओमान र केन्या भने डिभिजन ३ मा झरे । तर नेपालले उपाधि भिडन्तमा युएईलाई ७ रनको नतिजा सुम्पिए पनि नेपाल उपविजेतामा सीमित भएको थियो ।

उपविजेतामा सीमित भए पनि नेपालका लागि यस प्रतियोगिताबाट राष्ट्रिय टोलीमा युवा तथा नयाँ खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्षम छांै भन्ने प्रमाणित गरे ।

स्पिनर सन्दिप लामिछाप्रेरित नेपालको बलिङ पक्ष अब्बल देखिए पनि ओपनिङमा उप–कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र नाथले उल्लेख्य प्रदर्शन गर्न नसक्दा प्रतियोगिता अबधिभर ब्याटिङमा कमजोर देखिएको थियो ।

जो चम्किए

१. सन्दिप लामिछाने 
भारतीय क्रिकेट लिग आइपीएल खेलने पहिलो खेलाडी बनेका १७ वर्षे  स्पिनर सन्दिप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनको बलिङसामु कुनै पनि टोलीका ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन् ।
सन्दिपले कुल ६ खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीसमेत बने ।
२. पारस खड्का
कप्तान पारस खड्का २ सय ४७ रन जोड्दै प्रतियोगिताको सर्वाधिक रन प्रहार गर्ने खेलाडी बने ।
फाइनल खेलमा युएईविरुद्ध शतक प्रहार गरेका पारसले समूह चरणमा युएईविरुद्ध ५१ रन र केन्याविरुद्धको खेलमा ४२ रन जोडे ।

३. रोहितकुमार पौडेल
 पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका रोहितले मध्यक्रममा परिपक्क प्रदर्शन गर्दै नेपालको इनिङ टिकाइरहे । केन्याविरुद्धको खेलमा रोहितले आरिफ शेखसँग छैटांै विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । उनले कुल ६ खेलमा १ सय ४० रन जोडे ।
४. करण केसी
सुरुआती ४ खेलमा चल्न नसकेका करण क्यानडाविरुद्धको खेलमा नायक सावित भए । उनले ३१ बलमा अविजित ४७ रन जोड्दै विश्वकप क्वालिफायरका लागि नेपाली टोलीको टिकट पक्का गरेका थिए ।
५.वसन्त रेग्मी
प्रतियोगिताको पहिलो खेलमा आयोजक नामिबियाविरुद्ध १ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा वसन्तले क्राइसिर म्यानको भूमिका खेल्दै नेपाललाई विजयी सुरुआत दिलाएका थिए ।

जो चलेनन्
१. ज्ञानेन्द्र मल्ल 
डिभिजन २ उप कप्तान ज्ञानेन्द्र मल्लका लागि बिर्सन लायक रह्यो । टोलीले धेरै आशा गरे पनि उनले स्तरभन्दा निकै कमजोर प्रदर्शन गरे ।
फाइलन खेलमा युएईविरुद्ध जोडेको २४ रन ज्ञानेन्द्रले जोडेको व्यक्तिगत सर्वाधिक रन रह्यो । उनले प्रतियोगिताको ६ खेलमा मात्र ६९ रन जोडे ।
२. दिलिप नाथ
जानेन्द्र मल्लसँग ओपनिङमा आएका विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन् । उनले क्यानडाविरुद्ध जोडेको ४१ रन प्रतियोगितामा उनको व्यक्तिगत सर्वाधिक स्कोर रह्यो । उनले प्रतियोगिता अवधिभर ७५ रन जोडे ।
३ शरद भेस्वाकर 
नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरदका लागि यो प्रतियोगिता औसत रह्यो । उनले फाइनलमा जोडेको ३० रन व्यक्तिगत सर्वाधिक स्कोर रह्यो ।
उनले प्रतिगोगिता अवधिभर १ सय ४ रन जोडे ।

४. दीपेन्द्र सिंह ऐरी 
नेपाली मध्यक्रममा निकै आशा गरिएका दीपेन्द्रसिंह ऐरीका लागि पनि यो प्रतियोगिता औसतभन्दा माथि रहेन ।
यता केन्याविरुद्धको खेलमा ज्ञानेन्द्र मल्लसँग ओपनिङमा आएका अनिल शाहले पनि आफ्नो प्रभाव देखाउन सकेनन् । उनी उक्त खेलमा गोल्डेन डक आउट भएका थिए ।
त्यस्तै अनुभवी स्पिनर शक्ति गौचन र ललित भण्डारीले कुनै पनि खेलमा मैदान उत्रने अवसर पाएनन् ।
यस्तै प्रतियोगिता अवधिभर सन्दिपको आइसिपएल टोली दिल्ली डेयरडेभिल्सले नेपालको प्रत्येक खेलमा सन्दिपको बलिङ प्रदर्शन बारे गरेको ट्विट पनि चर्चाको विषय बन्यो ।


 

Leave A Comment