‘महिलाले राम्रो लेख्दैनन् भन्नु वाहियात हो’

शुक्रबार, १८ फागुन २०७४, ०३ : १५ प्रजु पन्त
‘महिलाले राम्रो लेख्दैनन् भन्नु वाहियात हो’

धार्मिक मिथकमाथि टेकेर कलम चलाउन सक्रिय छिन् उपन्यासकार निलम कार्की निहारिका । उनका आधा दर्जन उपन्यास प्रकाशित छन् । ‘चीरहरण’ महाभारतका महिलापात्रले भरिएका छन् । हालै सार्वजनिक भएको ‘योगमाया’ ऐतिहासिक पात्र योगमायाकालको महिलाको क्रान्तिकारीपनले भरिएको छ । प्रायः उनको लेखनमा महिला पात्र बढी नै हावी देखिन्छन् । उनको लेखन हेर्दा पुरुष प्रधान धार्मिक मिथक र इतिहासको पुनर्लेखन गरी महिला पात्र हावी गराउने लक्ष्य देखिन्छ । उनको लक्ष्य यही नै हो त ? उनी शुक्रबारकर्मी प्रजु पन्तसँग यसरी खुलिन् :

धार्मिक र ऐतिहासिक मौन महिला पात्र चयन गर्दै केन्द्रमा राखेर उपन्यास लेखिरहनुभएको छ । किन हो ?

धार्मिक मिथकमा टेकिएको ‘चीरहरण’ र ऐतिहासिक पात्र ‘योगमाया’ त्यो समयको मनस्थिति बुझेर लेखेकी हुँ । महाभारतमा महिलाको समेत सक्रिय भूमिका भए पनि पुरुष पात्र हावी गराइए । मैले त्यसका महिला पात्रमाथि न्याय गर्ने प्रयास गरेको हुँ । चीरहरण पढिसकेपछि दाहाल यज्ञ निधि सरले ‘तिमी योगमायाको विषयवस्तुमा लेख्न सक्छौ’ भनेपछि म हौसिएकी हुँ । सम्बन्धित विषय अध्ययन गरेपछि लेख्नुपर्छ भन्ने लाग्यो  र लेखेँ ।

चीरहरण र योगमाया दुवै पुस्तकमा महिला पात्रलाई बढी सक्रिय बनाएर लेख्नुभएको छ । पुरुष पात्रै नभेटेर हो कि त्यो बेला महिला नै बढी क्रान्तिकारी थिए ?

‘चीरहरण’ धार्मिक मिथकसँग जोडिएको छ । मिथकलाई वर्तमानसँग जोडेर लेखेकी छु । महाभारतमा सक्रिय भूमिका भएका महिला पात्र पनि थिए । ती ओझेलमा राखिएकालाई मैले सक्रिय भूमिका दिँदा त्यस्तो देखिएको हुनसक्छ । तर मेरो ध्येय त्यस्तो हैन । ‘योगमाया’ उपन्यास योगमायाकै समाजको ऐना हो । त्यो जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास गरेकी छु । 

तपाईंले चित्रण गरेको पात्र र त्यति बेलाको अवस्था मिल्छ र ? 
अड्कलका भरमा मात्र पात्र सिर्जना गरेकी छैन । उनीहरूको चरित्रचित्रण अड्कलको भरमा गरेकी पनि होइन । त्यति बेलाको अवस्थालाई आधार बनाएर उनीहरूको सोचाइ लेखेकी हुँ । त्यो समयका महिलाले के सोच्छन् भनेर बुझ्न के–के गरेका थिए ? उनीहरूको क्रियाकलाप के थियो भन्ने हेर्दा उनीहरु  बाँचेको समय बुझ्न सकिने रहेछ । 

त्यसरी लेख्दा इतिहास पुनर्लेखन गरे जस्तो भएन र ?
महिलाका अनुभव कस्ता हुन्छन् भन्ने बुझेर नै मैले त्यस्ता पात्रमाथि कलम चलाएकी हुँ । यसलाई पुनर्लेखन पनि भन्न सकिन्छ । 

इतिहासलाई बंगाउनुभयो भन्ने पनि छ नि ?
‘चीरहरण’मा महिला पात्रलाई प्रमुख बनाउनुको कारण छ । कतिपय पुरुष साथीहरूले त्यतिबेलाको समाजमा बहुविवाह गर्नु सामान्य हो भन्नुभयो । तर त्यस्तो हैन । म नारी हृदय बुझ्न सक्छु, कोही पनि नारीलाई सौता मन पर्दैन । ‘योगमाया’मा कुनै तथ्यलाई बंग्याइएको छैन । बरु अहिलेसम्म जति भ्रम थिए, त्यसलाई चिर्ने प्रयास गरेकी छु । 

निहारिकामा वेदव्यास बन्ने भूत चढेको छ भन्ने टिप्पणी सुनिन्छ । हो ?
मैले निहित स्वार्थका लागि लेखेको होइन । समाजको रूपान्तरण र सोचाइ परिवर्तन होस् भन्ने चाहन्छु । लिङ्गको आधारमा हेयको दृष्टिले हेर्ने संस्कारको अन्त्य गर्नु मेरो लेखनको लक्ष्य हो । यो मसँगभन्दा पनि समाजसँग जोडिएको विषय हो । म लेख्दा समाजलाई बुझेर लेख्छु । पछि के हुन्छ त्यो थाहा भएन । 

हरेक पुस्तकका पात्रमा नारी हावी छन् । नारी मात्रै प्रमुख पात्र चयन गर्नु,तपार्इंको हठ हो कि विषयवस्तुको माग ?
म आफू नारी भएर होला समाजमा छुने विषय रोज्दा पात्र नारी नै हावी भएको । समाजमा जे जति कठिनाइ छन् त्यो नारीको भागमा बढी भएर पनि होला । तर मैले नारीकै विषयवस्तु मात्र उठान गर्छु भनेर कलम समाएको होइन । हिँड्दै जाँदा त्यता पुगेको भने हो । 

नारी भएर नारीकै मात्र अनुभव लेख्नुपर्छ भन्ने हुन्छ र ?
नारी हुँदैमा नारीको मात्रै लेख्नुपर्छ भन्नेमा म सहमत छैन । लेख्दा पुरुषप्रति अन्याय पनि गरेँ हुँला । पुरुष नारीका दुष्मन होइनन् । मेरो श्रीमान्, बुबा अनि छोरा पनि पुरुष हुन् । उनीहरूका पनि कठिनाइ हुन्छन् । त्यो लेख्नुपर्ने हो तर लेख्न सकेका छैनौं ।

नारीमा यति धेरै विषयवस्तु छन् कि पुरुषतिर जान सकेका छैनौं । सायद  मेरो आँखाले नारीको विषयवस्तुलाई छिटो छोयो होला । नारीको दुःखले छोयो त्यसकारण तिनै विषयमा लेखियो । 

लेख्दा दुखै मात्र लेख्नुपर्छ भन्ने हुन्छ र ?
दुःख र आँसु मात्र साहित्य होइन । लेख्दा सामाजिक, राजनीतिक, आर्थिक जुनसुकै पाटो पनि हुन सक्छ । फरक पार्ने शैली र विषयवस्तु नै हो । मुख्य विषय नामका लागि लेख्नुभा’छ कि समाजका लागि लेख्नुभा’छ । लेख्दा तपार्इंको उद्देश्यसँग पाठक जोडिएको हुन्छ । 

लेख्दा विषयको छनोट र सिर्जनशीलता महत्वपूर्ण हो कि पाठकको चाहना ?
तपाईं कुनै सामान उत्पादन गर्नुहुन्छ भने बच्चा या बुढा युवा एक समूहलाई फोकस त गर्नुहुन्छ । कुन उमेर समूह मेरा हुन् भन्ने ख्याल गर्नुहुन्छ । त्यस्तै एउटा लेखकले पनि मैले केका लागि लेखेको छु, कुन उमेर समूहका लागि लेखेको छु भन्ने ख्याल गर्नुपर्छ नै । मैले अहिलेसम्म लेखेको उपन्यासको पाठक एउटै छैनन् । सबैको चासो एउटै हुन्छ भन्ने पनि छैन । 

तपाईंलाई नारीवादी लेखिका भन्दा फरक नपर्ला जस्तो लाग्यो । हो ?
कसैले मलाई नारीवादी भन्छ भने स्विकार्छु । मेरो लेखनमा नारीवाद देखियो होला र त भने होलान् । यसमा भन्नु केही छैन समानता हुनुपर्छ भनेर लेख्दा कसैले त्यसो भन्छ भने ठिकै छ ‘ म नारीवादी हुँ’ ।

कत्तिको सहज छ ‘फेमेनिस्ट’ हुन ? 
‘फेमेनिस्ट’ हुन गाह्रो छ । म फेमेनिस्ट हो भनेर भन्दिन । नारीको विषय लेख्दा कसैले ‘फेमेनिस्ट’ भन्छ भने त्यसमा आपत्ति पनि जनाउँदिन । पुरुषलाई होच्याएर नारीमुक्ति हुन्छ भन्ने कुरामा म विश्वास गर्दिन ।

अब तपाईंको नयाँ उपन्यासतर्फ जाउँ, के कारणले योगमाया उपन्यास लेख्नुभयो ?
योगमाया लेख्छु भनेर सोच्या थिइनँ । लेख्न सक्छु कि सक्दिन र विषयवस्तुले छुन्छ कि छुँदैन भन्ने चुनौती थियो । पढ्दा बुझ्दा लेख्न मन लाग्यो । म पश्चिममा हुर्किएको । योगमायाको भाषा पूर्वी पहाडको । भाषामा समस्या थियो । तर त्यसैलाई स्विकारेर लेखेँ । 

योगमायाबारे तपाईंको धारणा ?
योगमायाको योगदानलाई कम बुझिएको छ । राज्यले योगमायालाई खासै महŒव दिएको पनि छैन । त्यो समयमा योगमायाले शिक्षा, बालविवाहको अन्त्य, पुनर्विवाह र छुवाछूतबारे  आवाज उठाउनु सामान्य विषय हैन । नारी जन्मँदा जुन थर बोकेर आएकी हुन् विवाहपछि पनि उनको त्यही थर कायम हुनुपर्छ भन्ने मुद्दा योगमायाले उठाएको विषय हो । यो  अहिले पनि बहसमै छ ।

महिलाको जात भन्नाले ?
योगमायाको मान्यतामा महिलाको जात बिहेको आधारमा होइन जन्मको आधारमा हुनुपर्छ भन्ने देखिन्छ । त्यो बेला ब्राह्मण केटाले क्षेत्री केटी विवाह गरेको छ भने उनीहरुबाट जन्मने बालबालिकाको जात जैसी हुन्थ्यो । योगमाया यसको विरोधमा थिइन् । योगमायाले कोइराला, कंडेल र डोटेल थरिसँग बिहे गर्नुभएको हो । उहाँ न्यौपानेको छोरी हो । अहिले सम्म हामी उहाँलाई ‘योगमाया न्यौपाने’ भनेर चिन्छौं ।

महिलाको लेखनस्तर राम्रो छैन भन्ने पनि सुनिन्छ । तपाईं यसमा सहमत हुनुहुन्छ ?
कसले भन्छ यस्तो नचाहिने कुरा ? 

सार्वजनिक कार्यक्रममै टिप्पणी सुनिन्छ । 
टिप्पणी सुनिन्छ । यसको उत्तर टिप्पणीबाट हैन कामबाट दिने हो । महिला लेखकले लेखनबाटै उत्तर दिइरहेका पनि छन् ।
 

Leave A Comment