फिल्मको नामै– नाका । दर्शकलाई लाग्न सक्छ– यो फिल्मले नेपाल–चीन सीमामा हुने अपराधको जालोलाई उदाङ्गो पारेको होला तर हेरिसकेपछि प्रस्ट भइन्छ– यो फिल्म विषयवस्तुमा कम र क्यारेक्टरमा बढी केन्द्रित छ । फिल्मभरि विपिन कार्की हावी भएको देख्दा यस्तो लाग्छ– फिल्मको नाम ‘नाका’ हैन ‘गोल्डी डन’ उत्तम हुन्थ्यो ।
तिब्बतलाई चीनले कब्जा गरेपछि पलायन भएर भारत पुगेका दलाई लामाको धर्मशाला पुग्न तिब्बती नागरिकको एक मात्र सहारा नेपाल नै हो । चीनबाट उन्मुक्ति पाएर भारतमा रहेका दलाई लामा बस्ने गरेको धर्मशाला पुग्न तिब्बती नागरिकहरु जस्तोसुकै जोखिम मोल्न तयार छन् तर त्यसैलाई आपराधिक समूहले मानव तस्करीको माध्यम बनाएका छन् । फिल्मको मुख्य विषयवस्तु यही गम्भीर विषय हो ।
फिल्मले नेपाल–चीनको पूर्वी सीमा नाका तातोपानीलाई पृष्ठभूमि बनाएर त्यहाँ हुने यही मानव तस्करीको गम्भीर पाटो उठाउन खोजेको छ । नेपाल–भारत नाकामा हुने अपराधलाई विषय बनाएर दर्जनौं फिल्म बनेका छन् तर नेपाल–तिब्बत नाकाका विकृति उधिन्ने सायद यो पहिलो फिल्म हुनसक्छ ।
विडम्बना, प्रशस्त सम्भावना हुँदाहुँदै पनि गम्भीर विषयवस्तुलाई यो फिल्मले सामान्य प्रस्तुतिमै खुम्चाइदिएको छ । बढी नै पात्र केन्द्रित हुँदा मानव तस्करी जस्तो गम्भीर विषयमा प्रवेश गरेको यो फिल्म फिक्का लाग्छ ।
फिल्मका पात्रहरुको अभिनय र कथाको मर्मअनुसारको छायांकनले दर्शकलाई बाँध्न केही हदसम्म फिल्म सफल छ तर विषयवस्तु माथिको कमजोर प्रवेशले फिल्मको राम्रो पाटो छाँयामा परेको छ ।
अब यसको कथासारमा प्रवेश गरौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा ‘आइपरे जे पनि गर्दिने’ स्वभावका गुन्डा छन्– गोल्डी (विपिन कार्की) । अर्को लाटा बाउ (रविन तामाङ) छन् जो गोल्डीलाई पनि चलाउन सक्ने सामथ्र्य राख्छन् ।
भारतको धर्मशाला पुग्न तिब्बतबाट भागेका दुईजना तिब्बती नागरिक नेपाल–चीनको तातोपानी नाकादेखि १ किलोमिटर पर बोकचेनको जंगलमा अप्ठेरोमा परेका छन् ।
उनीहरुलाई नाका कटाएर तातोपानी ल्याउने कामको जिम्मा पाउँछन् गोल्डीले । पाँच लाख रुपैयाँ पाउने सर्तमा काम लिएका उनी तीन सय रुपैयाँ खाजा खाने पैसा लिएर लाटा बाउको अड्डाबाट निस्कन्छन् ।
गोल्डी जिम्मा लिएको काम फत्ते गर्न सफल हुन्छन् ? नाकाका प्रहरीसँग मानव तस्करले कसरी सामना गर्छन् ? यही द्वन्द्व वरिपरि यो फिल्म घुमेको छ ।
योे बाह्रबिसेमै हुर्किएका अमित श्रेष्ठले निर्देशन गरेको पहिलो फिल्म हो । यसअघि ‘छड्के’ फिल्ममा उनले सहायक निर्देशनको जिम्मा पाएका थिए । ‘छड्के’मा पनि विपिनको अभिनय थियो । हुलिया र आवाजका हिसाबले विपिन ‘छड्के’मा भन्दा ‘नाका’मा पूरै नयाँ देखिएका छन् तर उनको सन्काहा र विन्दास पारा ‘छड्के’ हेरिसकेका दर्शकलाई नौलो नलाग्न सक्छ । नयाँ गेटअपमा उत्रिनु र फरक आवाज निकाल्नुलाई खतरा अभिनय मान्ने/नमान्ने बहसको विषय हुनसक्छ तापनि उनले आफ्नो चरित्रमार्फत् दर्शकलाई भरपूर हँसाएका छन् ।
लामो समय नुन बिनाको तरकारीसँग खाना खाइरहेको मान्छेलाई अचानक नुन हालेको तरकारीसँग खाना खुवाउँदा कस्तो हुन्छ ? नुन चर्को होस् या ठिक्क पक्कै उसले स्वाद मानेरै खान्छ । फितलो कथामाथि फितलो प्रस्तुति बोकेका फिल्महरु रिलिज भइरहेका बेला ‘नाका’ दर्शकका लागि त्यस्तै नुन बनेको छ तर त्यो नुन अलि ‘चर्को’ बन्न पुगेको छ ।
फिल्मको सबैभन्दा सुन्दर पक्ष यसले उठाउन खोजेको विषय नै हो भलै त्यो अपुरो देखिएको होस् । नेपाल–भारत सीमासँग जाडेर मात्र कथा भनिएका बेला यसले चीनको नाकासँग जोडेर कथा भन्न खोज्नु आफैँमा प्रशंसनीय प्रयत्न हो ।
पात्रहरुको कामका हिसाबले फिल्ममा खोट लाउने ठाउँ भेटिन्न । विपिनको भन्दा जीवन्त र भव्य अभिनय उनका सहयोगीको भूमिका निर्वाह गरेका हनुमान (प्रकाश गन्धर्व)ले गरेका छन् । फिल्मको अन्त्यमा पनि खास हिरो उनी नै देखिएका छन् ।
हनुमानले तिब्बती युवती सोनाम (थिन्ले ल्हामो)लाई कठोर स्वभावका आफ्ना मालिक गोल्डीबाट उन्मुक्ति दिलाउन गरेको संघर्षले साँच्चै मन छुन्छ । झन् हनुमान र सोनमका अव्यक्त प्रेमका दृश्यले दर्शकलाई भावुक बनाउँछ । पर्दामा एकदमै कम संवाद भए पनि सोनमले भावबाटै धेरै कुरा बोलिरहेको महसुस गराउँछिन् । बोल्न नसक्ने ‘लाटा बाउ’को क्यारेक्टरमा रविन तामाङ पनि फिटै देखिएका छन् । उत्तम न्यौपानेले फिल्मको क्यारेक्टर र कथाअनुसार सिर्जेको ध्वनिले दर्शकलाई ‘इरिटेट’ हुनबाट जोगाएको छ ।
भलै निर्देशकले ‘फिल्म लिबर्टी’ भनेर उम्कन खोज्लान् तर पर्दाभित्र देखाइएका केही दृश्यहरु अविश्वसनीय लाग्छन् । पर्दाभित्र गोल्डी त्यस्तो चरित्र देखाइएको छ जोसँग प्रहरी पनि डराउँछ तर फेरि पर्दाभित्र ऊ त्यस्तो ठूलो संजाल भएको गुन्डा देखिएको छैन । निर्देशकले दिएको उसको हैसियत अह्राएको खटाएको गर्ने नै हो ।
फिल्म अवधिभर नाकामा तीन जना प्रहरी मात्र खटिएको देखाइएको छ । तीन प्रहरीमध्ये दुई जना फिल्म अवधिभर गोल्डीले खोसेको बेल्ट, वाकीटकी र पेस्तोल फिर्ता पाउनमै संघर्षरत् देखाइएको छ । फिल्ममा देखाइएको प्रहरी र गोल्डीको सम्बन्ध र व्यवहार साँच्चै हास्यस्पद छ ।
आफ्ना सामान फिर्ता पाउन गोल्डीको निर्देशनमा ज्युँदो व्यक्तिलाई खाल्डो खनेर पुर्न लगाएर प्रहरीलाई साह्रै निरीह पात्रको रुपमा प्रस्तुत गर्ने गल्ती गरेका छन् निर्देशकले । गोल्डीलाई हिरो बनाउने ध्याउन्नमा आफैं नाकामा हुर्किएका निर्देशक श्रेष्ठ नराम्ररी चिप्लिएको देखिन्छन् ।
तातोपानी नाकाको सिमानामा डिएसपीको कमान्डमा सशस्त्र प्रहरीको ५० जनाको डफ्फा नै खटिएको हुन्छ । त्यस्तै नेपाल प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा २० जनाको टोली राख्छ ।
नाकामा सशस्त्र र नेपाल प्रहरी दुवै खटिएको दृष्य निर्देशक श्रेष्ठका लागि नौलो हैन । तातोपानी नाका नजिकैको अर्को सहर बाह्रबिसेमा हुर्किएका उनी यस्तो सामान्य तथ्यमा पनि चिप्लदै तीन प्रहरीमा अड्किनु हास्यास्पद पाटो हो ।
फिल्ममार्फत् निर्देशकले कलाकारलाई मात्र निर्देश गरिरहेको हुँदैन, उसले दर्शकको आँखा पनि निर्देश गरिरहेको हुन्छ । त्यसैले कुनै गम्भीर विषयमाथि फिल्म बनाउँदा ऊ यस्ता तथ्यमा पक्कै सचेत हुनुपर्छ ।
लाटा बाउसँग ती दुई तिब्बती नागरिकको सम्बन्ध के थियो ? के सर्तमा उसले उनीहरुलाई नाका पार गराइरहेको थियो ? फिल्म सकिँदासम्म यी प्रश्नको जवाफ दर्शकले पाउँदैनन् । सायद यसकारण पनि दर्शकलाई खल्लो महसुस हुन्छ ।
मानव तस्करीसँगै फिल्मले तिब्बती नागरिकको बहुमुल्य गहना सि मालाको तस्करीलाई समेत हल्का छुने प्रयास गरेको छ । धर्मशाला पुग्ने टिकटको रुपमा देखाइएको सि मालासँगै त्यसको तस्करीको पाटोसमेत अलपत्र पारेका छन् निर्देशकले । तर सोनाम मारिनुको कारण गोल्डीको सि माला हत्याउने प्रयास थियो या अन्य नै ? सस्पेन्समै फिल्म सकिन्छ ।
नाका वरपरको जीवनशैली र त्यहाँ हुने अपराधको भित्री पाटोमा गहिरो प्रवेश गर्न फिल्म चुकेको भए पनि फिल्म अवधिभर केही–केही ‘लेन्दी’ दृश्यलाई बिर्सदा दर्शकले ‘इन्जोय’ भने गर्ने प्रशस्त ठाउँ छन् । पटकथामा मिहिनेत गरेको भए ‘नाका’ पक्कै अब्बल फिल्मको सूचीमा पर्ने थियो ।
कथित फरक धारको फिल्म रुचाउनेले त पक्कै यो फिल्म हेर्लान् । नेपाली फिल्ममा नयाँ ठाउँको कथासहित फरक स्वाद खोज्ने दर्शकहरुलाई यो फिल्म विकल्प हुनसक्छ ।
Leave A Comment