बिहे गर्दै अभिनेत्री आशिष्मा : ‘भाइले जुराइदियो जोडी’

शुक्रबार, २५ फागुन २०७४, ०५ : ३३ अनिल यादव
बिहे गर्दै अभिनेत्री आशिष्मा : ‘भाइले जुराइदियो जोडी’

ग्ल्यामर दुनियाँमा कलाकारलाई आफ्नो प्रेमजीवन लुकाउन निकै गाह्रो पर्छ तर अभिनेत्री अशिष्मा नकर्मी यस विषयमा अपवाद भइन् । उनको प्रेमको चर्चा कहिल्यै भएन । कहिल्यै उनको अफेयरको खबर सुन्न नपाएका दर्शकलाई अहिले उनले अचानक ठूलो सरप्राइज दिएकी छन्– बिहेको निर्णय । 

काठमाडौं, अनामनगर बस्ने अशिष्मा र पुरानो बानेश्वरका नवीन प्रधानबीच लगनगाँठो कसिने पक्का भइसकेको छ । बिहेको मितिसमेत तय भइसक्यो– फागुन–२८ । 

अचानक बिहे गर्ने सरप्राइजबारे शुक्रबारले जोडीसँग जान्ने प्रयत्न गर्याे । मंगलबार साँझ सुन्धारास्थित सिटिसी मलको कफी सपमा अशिष्मा र नवीनसँग एकसाथ भेट जुर्याे । बिहेबारे अशिष्मा खुलेर कुरा गरिरहेकी थिइन् । हुनेवाला दुलाहा हल्का लजाइरहेका थिए ।

कसरी जुर्याे बिहे ?
यी दुवैको बिहेको कुरा ६ महिनादेखि चलेको रहेछ । दुवैले आफ्नो जोडी जुराइदिएको श्रेय प्रतिल श्रेष्ठलाई दिए । ब्याचलर पढ्दै गरेका प्रतिल अशिष्माका भाइ हुन् । उनले पहिला दिदीलाई प्रस्ताव राखे । उनी सकारात्मक देखिएपछि नवीनलाई भने । 

‘भाइलाई उहाँको नेचर मनपर्दो रहेछ,’ नवीनतिर हेर्दै अशिष्माले भनिन्, ‘उसलाई हामी दुवैको जोडी पर्फेक्ट हुन्छ भन्ने लागेको रहेछ । कुरा चल्न थालेको ६ महिनापछि मात्रै भेट्यौँ । भाइले दिदीका लागि पक्कै राम्रै केटा हेरेको होला भन्ने लाग्यो । म पहिल्यैदेखि मागी बिहे नै गर्ने सोचमा थिएँ । लगन अहिले जुुर्याे ।’

उनीहरु दुवैको पहिलो भेट फेब्रुअरी ११ मा भएको रहेछ । भेट भएको तीन दिनपछि भ्यालेन्टाइन्स डे परेको थियो । त्यही पनि दुवैले त्यो दिन भेट गरेनन् रे ! 

‘हाम्रो पहिलो भेट घरमा सहमति लिएरै भएको थियो,’ अशिष्माले हाँस्दै पहिलो डेटको अनुभव साटिन्, ‘भेट हुनुअघि दुवैले फोटोमा एकअर्कालाई हेरेको थियौँ । फोटो हेर्दा दुवैले एकअर्कालाई मन पराएका थिएनौँ । भेटपछि खोइ किन हो, कुरा मिल्यो ।’ 

उनले यसो भनिरहँदा छेउमै बसेका नवीनले मुन्टो हल्लाउँदै अशिष्माको कुरामा स्वीकारोक्ति जनाउँदै भने, ‘उसको बारेमा नराम्रो केही सुनेको थिइनँ । भाइले पनि राम्रो कुरा गथ्र्यो । दुवैको घरमा कुरा पनि मिल्यो । त्यसैले धेरै सोचिएन, बिहे गर्ने निर्णय गरियो ।

के–कुराले लोभ्यायो ?  
बिहे जिन्दगीको महत्वपूर्ण र गम्भीर निर्णय हो । लामो समय प्रेम सम्बन्धमा बसेका पनि हैनन् अनि त्यत्ति परिचित पनि हैनन् । आखिर यी दुवै कसरी विवाहको निर्णयसम्म पुगे त ?

नवीन भन्छन्, ‘उसले बाहिर मिडिया फिल्डमा पनि राम्रैसँग काम गरिराको छ, सँगसँगै घर पनि आफैँ सम्हालेको छ । त्यो मलाई मनप¥यो । घर र बाहिर दुवै म्यानेज्ड गर्न सक्ने रहेछ ।’ 

लगत्तै शुक्रबारकर्मीले जिज्ञासा राखे । 

‘तपाईंको च्वाइस कस्तो हो त ? घर धान्ने कि तपाईंलाई धान्ने ?’ 

‘दुइटै हुनुपर्याे । मान्छेले अहिले जे पनि प्याकेजमा खोज्छ, मेरो पनि त्यही हो,’ नवीनले जवाफ दिए । त्यसपछि दुवै एकअर्कालाई हेर्दै हाँसे । 

यही प्रश्न अशिष्मालाई सोधियो । उनको जवाफ थियो, ‘उसको स्वभाव पनि सरल रहेछ । उसको फेमली ब्याकग्राउन्ड हेरेँ, सबै राम्रो लाग्यो । दुवैको घर पनि नजिक प¥यो । यस्तै–यस्तै कुराले लोभ्यायो ।’

बिहेपछि अशिष्माको करिअर ?
बिहे गरेपछि धेरै हिरोइनहरु फिल्म क्षेत्रबाट टाढिएका छन् । अशिष्माको हकमा के हुन्छ ? यसबारे अशिष्माका हुनेवाला श्रीमान् नवीनसँगै जिज्ञासा राखियो । ‘हाम्रो बिहेले उसको करिअरमा केही असर गर्दैन,’ उनले भने, ‘मैले ऊ र उसको कामलाई बुझेर नै बिहे गर्ने निर्णय गरेको हुँ । त्यसैले उसको काममा बरु सक्दो सपोर्ट रहला ।’ 

बिहेको कुरा चल्नुअघि उनले अशिष्माको फिल्म र भिडियोहरु हेरेका रहेनछन् । ‘अहिले त युट्युबमा खोजीखोजी हेर्न थालेको छु, जे होस् काम राम्रै गर्दी रैछिन,’ उनले यसो भनिरहँदा छेउमा रहेकी अशिष्मा मुस्कुराइरहेकी थिइन् । 

रहेन अब प्राइभेट लाइफ 
कुराकानीका क्रममा खुल्यो– नवीन आफ्नो निजी जीवन सार्वजनिक गर्न नरुचाउने स्वभावका रहेछन् । अशिष्माले बिहे गर्ने खबर बाहिरिएपछि धेरै मिडियाकर्मीले नवीनको फोटो खोजेछन् तर नवीनले आफ्नो तस्बिर सामाजिक संजालमा समेत नराखेका रहेछन् ।

‘मेरो अनुरोधमा उहाँले फोटो सार्वजनिक गर्न दिनुभयो,’ अशिष्माले सुनाइन् । 

बिहे पनि धेरै हल्लाखल्ला नगरीकन ‘कोर्ट म्यारिज’ गर्ने सोचमा रहेछन् नविन । तर परिवारले नमानेपछि परम्परागत शैलीमा बिहे हुने पक्का भएछ । 

‘मैले त यसरी इन्टरभ्यू दिनुपर्ला भन्ने कहिल्यै सोचेको थिइनँ,’ नवीनले गुनासो स्वरमा भने, ‘म सधैँ आफ्नो जीवन प्राइभेट राख्न चाहन्थे तर सेलिब्रेटीसँग बिहे गरेपछि अब प्राइभेट लाइफ नरहने भयो ।’

तेस्रो बिहे
नवीनसँग अशिष्माको तेस्रो बिहे हुँदैछ । नेवारी परम्पराअनुसार पहिलो बिहे बेलसँग हुन्छ । दोस्रो सूर्यसँग । यी दुवै विवाह धार्मिक परम्परा अनुसारका हुन् । फागुन २८ मा उनी तेस्रो पटक दुलही हुँदैछिन् ।
‘उहाँसँग मेरो तेस्रोपल्ट बिहे हो तर प्लिज अशिष्मा नकर्मीको तेस्रो बिहे भनेर हेडलाइन नलेख्नुहोला,’ उनको यो आग्रहसँगै कुराकानी टुंगियो । 
 

Leave A Comment